महिला टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एन्फाको शुक्रबार बसेको आपत्कालीन बैठकले मैत्रीपूर्ण खेलका लागि अखिल भारतीय फुटबल महासंघको प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको छ । मैत्रीपूर्ण खेल आगामी फेब्रुअरी १३ देखि २५ भित्र आयोजना हुने बताइएको छ । मैत्रीपूर्ण खेल भारतमा आयोजना हुनेछ । कति खेल हुने एन्फाले केही बताएको छैन ।

त्यसबाहेक एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको आपत्कालीन बैठकले फुटबलका महान् खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । त्यस्तै, शहीद स्मारक ‘ए’ डिभिजन लिग २०७९ फागुन १९ र शहीद स्मारक ‘बी’ डिभिजन लिग २०७९ चैत १५ बाट सुरु गर्ने निर्णय गरेको छ । बैठकले ‘ए’ डिभिजन लिग २०७९ आयोजना गर्न अध्यक्ष पंकजविक्रम नेम्बाङको संयोजकत्वमा सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरू र सदस्यहरू सदस्य रहने गरी लिग सञ्चालन समिति गठन गरेको छ । ‘ए’ डिभिजन लिग २०७९ को टिकटदर भिआइपी पारापिटतर्फ ३०० र साधारण पारापिटतर्फ १०० साथै ‘बी’ डिभिजन लिग २०७९ र ‘सी’ डिभिजन लिग २०७९ को टिकटदर १०० तय गर्ने निर्णय बैठकले गरेको छ ।

‘ए’ डिभिजन लिगको टिकेटिङ अधिकारका लागि न्यूनतम एक करोड पचास लाख र शीर्षक प्रायोजकबाहेकका कमर्सियल र मार्केटिङ अधिकारका लागि न्यूनतम एक करोड पचास लाख तोकेर टेण्डर आहृवान गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका ब्रोडकास्टिङ अधिकारका लागि न्यूनतम ६० लाख तोकेर टेण्डर आहृवान गर्ने, ‘ए’, ‘बी’ र ‘सी’ लिग आयोजनामा आवश्यक पर्ने सेवा तथा सामग्रीका लागि टेण्डर आहृवान गर्न एन्फा सचिवालयलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?