✍️ प्रा.डा.कुलप्रसाद कोइराला
नेपाली रानीतिमा अहिले गर्न थालिएको अभ्यासको नाम गठबन्धन हो रे । यो एक प्रकारको अस्वाभाविक तनलमेल हो भनेर नेपाली जनताले बुझ्ने गरेका पनि देखिएको छ । राजनीतिक सिद्धान्तका दृष्टिले भन्नु पर्दा यो एक प्रकारको निर्दलीय अभ्यास पनि हो । हिजो निर्दलीयताका विरुद्ध बाघ, स्याल र भ्यागुता, बिच्छीको समेत गठबन्धन गरेर बहुदलको स्थापना गर्न एकजुट भएका नेपाली राजनीतिक दलहरू राजालाई फालेपछि फालिएको राजाजत्तिकै मैमत्त बनेर गाईलाई गोरु र राँगालाई भैंसी सावित गर्न तत्पर पनि भएका देखिए । अदालतसँग सेटिङ मिलाउनु, आफूले भनेको नमानेपछि प्रधानन्यायधीशलाई महाअभियोग लाउने ।
लाएको महाअभियोग पार लाउन भ्याइन्छ कि भ्याइँदैन भन्नेसम्मको विचार नगरीकन संसद नै भंग गरेर बस्ने सत्ताधारी र प्रतिपक्षी दल चाहिँ ‘पहिले राँड मानिन पछि राँड जानिन, बाघलाग्यो घिच्याउन राँड लागि चिच्याउन’ भनेजस्तो गरी देशको प्रधानमन्त्री भइसकेको व्यक्ति पनि भन्न नमिल्ने गरी प्रतिद्वन्द्वीका विषयमा वाक्बाण छाड्न थाल्छन् भने यो राजनीतिक दलको मर्यादामा या अन्य कुनै मर्यादामा पर्छ कि पर्दैन दुनियाँको कुनै मर्यादा शास्त्रीले भन्न सक्ला जस्तो लाग्दैन । अर्काेतिर आफू भने छारामा खुट्टा भने भारामा भनेजस्तो गरी २३ सिट भएका पार्टी सभापति खान्न खान्न लोकाचार, भित्रभित्र पोका पार भनेजस्तो गरी कुर्सीमा टाँसिइरहन कसरी सकिन्छ त्यस उपायको खोजी गरी अहिले निर्दलीय लुटतन्त्रमा दादागिरी देखाउन थालेका छन् ।
यो दादागिरी पनि ओलीले कुनाकन्दरामा कताकति शिला खोज्नु पर्छ भनेका कुरालाई बिर्सेर गठजोड गरी ओलीसँग मिलेर बस्न नसकी अदालतले दुई चिरा पारेर पुरानै अवस्थामा पुर्याइदिएपछि भागवतको त्यो बिम्ब चरितार्थ बनेको छ जहाँ भीमसेनले जरासन्धको एउटा खुट्टालाई आफ्नो एक खुट्टाले थिचेर अर्को खुट्टालाई दुवै हातले समातेर बाँसको भाटो चिरे झैँ चिरेर दायाँलाई बायाँतिर र बायाँलाई दायाँतिर फालेपछि जोडिन नसकेर जरासन्धनामक आततायी राजाको अन्त्य भएको थियो । यहाँ यति भएपछि अर्काको उदय नै देख्न नसक्ने र स्थिर भएर एक आसनमा बस्नै नसक्ने दुई साँडभेडा दुईतिर भएका थिए ।
त्यस बेलाको चुनावलाई कांग्रेसले स्वीकार गरेर निर्वाचनमा नजानाले आज नेपाल राजनीतिक र प्रशासनिक दृष्टिले अत्यन्तै जटिल अवस्थामा परेको छ/पारिएको छ । नेपाली राजनीतिका दलदलमा नेपाललाई फसाएर आफ्नो स्वार्थ पूरा गर्न पल्केका वरिपरिका छरछिमेकलाई पनि चिड्याएर सत्ताको आनन्द लिन पल्केका नेपालका राजनीतिक दलले न आफ्ना देशको न त भविष्यको नै चिन्ता गरे । यस प्रकारका सोचलाई भनिन्छ भष्मासुरे सोच । नेपाली राजनीतिको भताभुंगेपन नेपाली जनतालाई पनि मन परेको जस्तो लाग्नथालेको देखिन्छ । किनभने सत्ताका शिखरमा बसेर पजनी गर्दा पनि धेरैजसोले सहेको जस्तो देखियो ।
फेसबुके टिप्पणीको कुरोलाई मान्यता नदिने हो भने यो गठबन्धन नामको लुटखसोटतन्त्रलाई स्वीकारेका हुनाले यी झनै राजनीतिक मूल्यमान्यता बिगारेर धनदोहन र डनपालनमा परिसीमित हुन लाग्दछन् । विचार आदर्श र चरित्र नभएका अहिलेका नेपालका बोक्रे नेता पाएसम्म दलाली गरेर, चरित्र सुक्रीबिक्री गरेर, त्यसले पनि पुगेन भने श्रीमती पठाएर या पितापुर्खाको यशलाई च्याँखे थापेर भए पनि नेता बनेर जनता दुहुन र मारवाडीसँग व्यापार बिजनेस गरेर चुनाव लड्न चाहन्छन् । अहिलेका गठबन्धनले जनतासँग भनेका वाक्यको ध्वन्यार्थ हो-भाङ पेलधतुरो पेल, ले मेरो तेलको तेल ।
कलम समाएर होस् या रूखका फेदमा बसेर कञ्चटमा हात राखेर होस् कि घेराभित्र पारेको हँसिया र हतौडाले टाउको फुटाएर होस् हामीले ताकेका हामीले रोजेका मान्छेलाई नै तिमीहरू भोट हाल अन्यथा हाम्रो कसैको वृत्तिहरण हुन्छ, कसैको सत्ता जान्छ, कसैको दम्भ भासिन्छ भनेर भनिरहेका देखिन्छन् । मान्छेका घरक पुत जन्मँदा कुलको इज्जत आब्रुक जान्छ भन्थे गाउँघरमा तर दलमा कुनेता भयो भने के हुन्छ भन्ने कुरो लोकमा भेटिन मैले तर पनि कतै केही पाइन्छ कि भनेर नेपाली राजनीतिका इतिहासतिर यसो आँखालाई हेरेको त राजा राजेन्द्र र सुरेन्द्र महाका स्त्रैण रहेछन् ।
यस्तै थिए महाभारतका विचित्रवीर्य र चित्रवीर्य । यिनकै पालामा नियोग गर्नु परेको थियो । उता भने यता राणशासन सुरु भइको थियो । नियोगबाट धृतराष्ट्र अन्धा, पाण्डु श्वेतचर्मरोगी, अन्त्यमा दासीबाट महाविद्वान् विदुरको जन्मभएको थियो । धृतराष्ट्रको चरित्र बाहिर ठीकै देखिन्थ्यो तर आन्तरिक रूपमाउनी स्त्रैण र पुत्रप्रिय पनि रहेका थिए । अहिलेका नेपालीले पनि पाण्डुको वीरता खोजका थियो । त्यो पाउन पनि धृतराष्ट्रबाट सम्भव भएन । यसको उपचार महाभारत नामको अठार दिने महाशमरले मात्रै दिनसकेथ्यो । लासको थुप्रो र स्यालको रोदनले भरिएको राज्य लिएर युधिष्ठिर विश्वसम्राट बनेका थिए ।
महाभारतमा पुरुषार्थ पुरुषार्थ प्रदर्शन गरेका अर्जुन अब गोठालाबाट डराउने र वनमान्छेसँग पनि युद्ध गर्न नसक्ने भइसकेका थिए । सन्तनु र भीष्मका प्रतापमा सुरक्षित राज्य अब कसैका छहारीमा सुरक्षित रहनसक्ला जस्तो लाग्न छाडिसकेको थियो । नेपाल पनि हाल त्यस्तै दसामा फसेको देखिन्छ । धृतराष्ट्र नै धृतराष्टले घेरिएको छ नेपाल, नेपालमा पनि नेपाली कांग्रेसका मजबुत संकल्प शक्तिका आडमा नेपालका अरू सबै सानाठूला राजनीतिक दलहरू कोही नेपालको विकास निर्माणका निमित्त त कोही चाहिँ सत्ताको स्वाद र ऐसआराम एवं छिमेकीका अगाडि म तिमीले सोचेजस्तो कमजोर छुइँन । म त अरू सबैभन्दा भिन्न छु/हुँ भन्नका निमित्त जनताका लागि आएको हुँ तर मलाई काम गर्न दिएनन् भनेर पटक-पटक संसदका गर्दनमा खड्ग प्रहारक पनि राजनीतिक रंगमञ्चमा देखापरे ।
रिसाएका बिरालाले पटक-पटक भुइँकोत्रे झैँ यस प्रकारका दलका नेता दिनको दशौंपटक आफ्ना मुखले आफैं गुणनुवाद गर्द छन् र विरोधीका निमित्त त्यस्ता शब्द प्रयोग गर्न पछि पर्दैनन् जुन शब्द उच्चारण गरेपछि तुरुन्तै मुख कुल्ला गर्नु परोस् सामाजिक र मार्यादिक सम्मान रक्षाका निमित्त । तर उनी कुल्ला पनि गर्दैनन् र पश्चाताप बोध पनि छैन उनलाई । उनका लागि उनीमात्रै सभ्य हुन् ।
उनलाई जति अरूलाई शब्द नै आउँदैनन् । विरोधी पक्षका प्रतिज्ञापत्रलाई पागलको प्रलापसम्म पनि भन्न भ्याउँछन् । उनका प्रतिद्वन्द्वी दलका नायक चाहिँ ठीक उल्टो स्वभावका रहेछन् । उनका चाहिँ दुईवटा जिब्रा रहेछन् तर खुट्टो चाहिँ एउटामात्रै रहेछ । अनि उनी सधैं चुनावका बेला डुँडी खुट्टी खेल्दारहेछन् । आफ्नो भएका एउटा खुट्टामा अर्काको एउटा खुट्टो न गाँसीकन एक पाइलो हिँड्नै नसक्ने । तर उनमा पनि एउटा गज्जबको बानी रहेछ । घरपरिवारका मूल परेर जन्मेका रहेछन् । डुँडीखुट्टी बाँद्धा छरछिमेकीसँग मात्रै बाँध्ने हलपिराहा गोरु जस्ता घरकासँग बैरभाव वनकासँग छाती जोडाइ । भैंसे, गोरु, गाईसँग डराउँछ ।
ऊ जहिले पनि भैंसीसँग मात्रै सहजाउँछ । हाम्रा साथी पिराहा नेता पनि समान विचार, समान आदर्श भएकासँग होइन असमान विचार, असमान आदर्श र असमान् व्यवहार प्रदर्शन गर्नेसँग मात्रै डुँडीखुट्टी खेल्छन् । जीवनभरि पोखरीमा पौडँदा पौडँदै पनि कोही त्यही पोखरीमा तीन माना पानी पिएर अधमरा बनेका पनि देखिन्छन् । समग्र जीवन रैती बनेकालाई सधैं रैती बनेर चाकरी नै गर्न मन लाग्दोरहेछ । यो राजनीति पनि अचम्मकै चिज रहेछ नि त । कोही कहिल्यै पनि जुवाका खालमा नबस्ने खाली च्याँखे थाप्ने ।
एक जना पूर्वतिरका खप्पिस च्याँखे दाउ खेलुवा थिए । गिर्जाउका पालामा हैसियत कमाए पनि पछिल्ला जमिन्दारले नपत्याएपछि थोत्रा कौडा बोकेर विभिन्न खालमा च्याँखे थापेर दाउ बल्झाउन खोजेका थिए केही चलेन । विचरा अब गठजोडको व्यख्या गरे पनि च्याँखेको विशेष गुणगान गरे पनि उनको राजनीतिमा होलाकिले बुलाकी लाएका विचराको बुलाकीले नाकै खाइदियो । हुन पनि संसारमा देश चलाउनका निमित्त सत्तासाझेदारी गरेको जताततै देखिन्छ, भेटिन्छ तर मतमा नै डकैती राजनीतिक दलले गरेको चाहिँ यही नेपालमा यिनकै पालामा देखियो । कत्रा कत्रा आन्दोलन भए र तिनले नेपालामा परिवर्तन ल्याएका थिए तर मतलाई त आस्थाको मत भन्थे ।
यस पालि त आफैं राँड देशैं भाँड भनेजस्तै गरे यिनले । रूखछापमा भोटहाल भन्नुपर्नेले घेराभित्रको हँसिया हतौडामा भोट नहाले कारबाही गर्ने भने । मान्दिन भन्नेलाई पार्टीबाटै निकाले । द्यौता दिने पितृ हर्ने भनेजस्तै विरोधी आइज आइज भन्ने समर्थक जा जा भनेर गलहत्याउने । यो कुन प्रकारको राजनीति हो भनेर मैले ठम्याउन खोज्दा यो दुनियाँका इतिहासमा नै नभएको गोता न कुलको शेबदे ओली शैलीको राजनीति पो नेपालामा प्रयोग भएको रहेछ ।
संसारमा नभएको कुरो अनुसन्धान गर्ने शेबदेओली जस्ता महानका कुरा र मूल्यको अनुगमन नगर्ने चितवनका जगन्नाथ पौडेल, कृष्णलाल सापकोटा आआफ्ना छाहारीबाटै निकालिए । शेबदे ओली प्रचण्ड माकुने जस्ता महान् अनुसन्धाताले पचासौं वर्ष सत्ता स्वार्थका परिश्रममा बलबुद्धि लाएर पत्ता लाएको यो गठबन्धने लुटतन्त्र नमान्ने ? को हुन् ती बीपी, पुष्पलाल, गणेशमान र कृष्णप्रसाद भट्टराई । तिनले न स्वार्थानुसन्धान प्रविधि पढेका थिए न त तिनका पालामा यो हाइब्रिड शेबदे ओली प्रचण्ड माकुने शैलीको निर्वाचन पद्धतिकै आविष्कार भएको थियो । युग परिवर्तनशील छ । आवश्यकता पनि परिवर्तन हुन्छन् त आवश्यकतानुसारका आविष्कार पनि त भइ नै रहन्छन् नि त । युग युगका पुस्ताले यी चार जनालाई कसरी सम्झिरहलान् ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच