‘आवाजहरूको जुलुस’ भित्र पस्दा

स्रष्टा धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ को कवितासङ्ग्रह ‘आवाजहरूको जुलुस’ पाठकमाझ आएको छ । विश्व भूटानी साहित्यिक संगठन, अमेरिकाले प्रकाशन गरेको कृति पाठकमाझ आएको हो । यसअघि ‘जानु कहाँ हो’ गजल तथा रुबाइसङ्ग्रह, ‘त्रिकोण’ संयुक्त रुबाइसङ्ग्रह, ‘एक अञ्जुली सपना’ कवितासङ्ग्रह जस्ता कृति पाठकमाझ ल्याउनुभएको तिम्सिना गजल, कविता, गीत, रुबाइ विधामा कलम चलाउनुहुन्छ । भूटानको ललाईमा बुबा खडानन्द तिम्सिना र लीलामाया तिम्सिनाको कोखबाट यस धर्तीमा प्रार्ची उघार्नु भएका उहाँ पछिल्लो समय अमेरिकामा बस्दै आउनुभएको छ ।

६६ वटा कविता सङ्ग्रहित गरिएको यो सङ्ग्रह २२६ पृष्ठको रहेको छ । जन्म दिने आमाबुबाप्रति समर्पण गरिएको कृतिको मूल्य १५० रुपैयाँ र दश डलर कायम गरिएको छ । हार्ड कभरमा आकर्षक साजसज्जामा रहेको पुस्तको आवरण/सज्जा राजकुमार निरौलाले गर्नुभएको हो । विश्व भुटानी साहित्यिक संगठन अमेरिकाको प्रकाशकीय र होपका संस्थापक राज बरालको कवि र कृतिप्रति शुभकामना शीर्षकमा लेख समावेश गरिएको छ कृतिमा । यस्तै कर्ण गुरुङ, मेघनाथ अधिकारीको शुभकामनाका भनाइ समावेश गरिएको कृतिमा स्रष्टा तिम्सिनाले ‘मेरो कलम’ शीर्षकमा आफ्ना भनाइ व्यक्त गर्नुुभएको छ ।

कवि तिम्सिनाले यस यस कृतिमा उत्पीडनका व्यथाहरू, जागरुकताका विषयहरू र समाज परिवर्तनका कुराहरू समावेश गर्नुभएको छ । कृतिमा रहेका हरेक कविताले सन्देश प्रवाह गरेका छन् । यस सङ्ग्रमा सङ्गृहीत कवितामा प्रेम भावभन्दा पनि फरक सामाजिक चिन्तन रहेको पाइन्छ ।

कृतिमा ‘मृत्युको ताण्डव, हिँउ र मानिस, फादर्स डे, हेप्पी मदर्स डे, तिमी गलत कि म पागल, अब इतिहास कसले लेख्ने ?, म धर्मी कि अधर्मी, शरणर्थी, नयाँ साल लागिसकेको छ, चोरहरू, भजनहरू, मैले एउटा कथा लेख्नुछ, एउटा असक्षम मान्छे, एउटा नयाँ युगको सुरुवात, नयाँ वर्ष, अन्त्य, चिठी, म र कंगारु, बाँसका झ्याङहरू, मैले स्वतन्त्रता दिवस मनाउनु पर्दैन, फरक, आवेग, भीड, प्रकृति, विचरा ! सपना, आधुनिक युवा, प्रेम, इतिहास, मलाई बाँदर बन्नु छैन, फूल, तिमी सहर नआउनू, आदर्श, ऊ अनुभवहरू, विडम्बना, युग र टाढाका देवताहरू’ जस्ता शीर्षकमा स्रष्टा तिम्सिनाले कविता पस्किनुभएको छ ।

यस्तै, ‘सपनाको देश, सम्झना, फर्केर हेर्दा, धन्यवाद तिमीलाई, सम्झन चाहन्नँ म, स्वतन्त्रता, अलबिदा तिमीलाई, बिहान कहिल्यै हुँदैन, हिम्मत, हामी सबै भाइ भाइ, पहिचान, युगको आहृवान, नयाँ युग, गाउँ नगए हुन्छ, आजको समय, भ्यालेन्टाइन डे मा, रातो गुलाफ, कालो दिवस डिसेम्बर १७, म, पासोमा परेको मुुसो र मान्छे, प्यारी बहिनी र परदेशी दाजु, भकुण्डे जिन्दगी, दशैँ, बाबा ! दशैँ कहिले हो ? बिरालो बाघ भएपछि, तिमी गएपछि, नेपाल आमाका सन्तान र याद आउँछ’ जस्ता शीर्षकमा यस कृतिमा कविता समावेश गरिएको छ ।

कवि तिम्सिनाले यस यस कृतिमा उत्पीडनका व्यथाहरू, जागरुकताका विषयहरू र समाज परिवर्तनका कुराहरू समावेश गर्नुभएको छ । कृतिमा रहेका हरेक कविताले सन्देश प्रवाह गरेका छन् । यस सङ्ग्रमा सङ्गृहीत कवितामा प्रेम भावभन्दा पनि फरक सामाजिक चिन्तनका रहेको पाइन्छ । हाम्रै समाजका, हाम्रै परिवेशका, हामीले देखिरहेका, भोगिरहेका, अनुभव गरिरहेका र समाजमा घटिरहेको घटनालाई कविले यस सङ्ग्रहमा कवितामार्फत व्यक्त गर्नुभएको छ ।
युद्धपोतहरू छैनन्
लडाकु विमानहरू उडेका देखिँदैनन्
रगतका छिटाहरू भेटिँदैनन्
तर पनि संसार त्रसित छ
हाहाकार छ जताततै
कोलाहल छ जताततै
मरिरहेछन् हजारौँ बेमौत
अनि बढिरहेछ मृत्युको ताण्डव
यसरी कोरोना भाइरस (कोभिड-१९) को महामरीलाई लिएर स्रष्टा तिम्सिनाले कवितामार्फत आफ्नो सुविचार व्यक्त गर्र्नुभएको छ कृतिमा । कृतिमार्फत उहाँले साच्चिकै आवजहरूको जुलुस निकाल्नु भएको छ, यस कृति पढ्दा त्यो आभास हुन्छ । यसमा समावेश भएका कविता पढ्दा मनमा कतै विद्रोहको ज्वाला दन्किछ भने कतै आनन्द महुसस हुन्छ । कविता पढिरहँदा कविताले पाठकलाई बाँधेर राख्दछ, आफ्नै भोगाइ महसुस हुन्छ, आफैँले देखेका घटना या परिघटना याद आउँछन् । आवाजहरूको जुलुुस सकारात्मक परिवर्तन ल्याउने वैचारिक आन्दोलन रहेको छ । यसले हाम्रो समाजमा चेतनाको बिकुल फुक्छ ।

होपका संस्थापक राज बराल आफ्नो शुभकामना भनाइमा लेख्नुहुन्छ, ‘अनुभूति र आशाहरूको केन्द्रबिन्दुमा उभिएर आफ्नो लेखनलाई कविले भौतिक विज्ञान, सामाजिक मेलमिलाप र सम्भावनाको संसालाई जिउने आधार मात्र मान्नुभएको छैन, आफ्ना कवितामा बिम्बहरूको कलात्मक प्रयोगसमेतको साधना गर्नुभएको छ ।’ यस्तै, कर्ण गुरुङ भन्नुहुन्छ, ‘उहाँका कविता, गजल, रुबाई र अन्य विधामा लेखिएका सिर्जना पढेको छु । हरेक लेखले एउटा व्यक्ति, परिवार, समाज र राष्ट्रलाई सकारात्मक परिवर्तन गर्न सक्ने क्षमता राख्दछ ।’

त्यसैगरी मेघनाथ अधिकारी लेख्नुहुन्छ, आगोले कलम जलेको बेला, हावाले कलम उडाएको बेला, रगतले कलम लतपतिएको बेला, पीडाले कलम रोएको बेला, बाडीले कलम बगाएको बेला, अभावै अभावले कलम सुस्ताएको बेला, कहिल्यै सिर्जना रोकिएन । न त कलमले थकाइ मार्छु भन्यो न त सिर्जना गर्ने हातहरू डग्मगाए । सधैँ सिर्जनाहरू सिर्जित भइरहे । कहिले प्लाष्टिकको तातोमा पिसोल्टिएर लेखिए सिर्जनाहरू, कहिले जाडोमा कठ्याङ्ग्रिँदै कोरिए सिर्जनाहरू । त्यसैको फलस्वरूप आज तिनै सिर्जनाहरू आवाजको जुलुस बनेर नेपाली साहित्यमा अर्को इँटा थप्न गएको छ ।’

स्रष्टा तिम्सिना भन्नुहुन्छ, ‘मैले यथार्थताको धरातलमा बसेर आफ्ना सिर्जनाहरू गर्ने गरेको छु । यस कृतिमा रहेका मेरा कवितामा आवेग, प्रगतिशीलता, वैज्ञानिकता, निर्माण, समाज, राष्ट्र अनि वर्तमान परिस्थितिलाई मैले उच्च प्राथमिकतामा राखेको छु ।’ माथिका विभिन्न व्यक्तित्व र स्रष्टा तिम्सिनाले भने जस्तै यस कृतिमा रहेका कविता माया प्रेमभन्दा पनि समाजिक परिवेशका रहेका छन् ।
कुर्सीमा बसेर हुकुम गर्न चाहनेहरू
नेपाल आमाका छोराछोरी हुन सक्दैनन्
महलमा बसेर झुपडीको रगत चुस्नेहरू
नेपाल आमाका सन्तान हुन सक्दैनन्
हजारौँको रगतको होली खेलेर
अबिर माला लगाउनेहरू
नेपाल आमाका सुपुत्र हुन सक्दैनन्
यो समाजमा रहेका तमामा व्यक्तिहरूको आवाजको जुलस हो, भोगाइ हो र हाम्रै परिवेश हो ‘आवाजहरूको जुलस’ । स्रष्टा तिम्सिनाका आगामी दिनमा यस्तै-यस्तै सिर्जनाहरूको रसस्वादन गर्न पाइराखौँ यही गीताकामना । तमसोमा ज्योर्तिगमय !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?