राजा वीरेन्द्रदेखि प्रधानमन्त्रीसम्मको कपाल काट्ने नारायण

Read Time = 7 mins
A A- A+

गोपिकृष्ण चापागाईं/हिटा
आजभन्दा ५० वर्षअघिको कुरा हो । हेयर स्टाइलिष्ट नारायण नापितले २०२८ सालमा डिल्लीबजारमा कपाल काट्ने पल खोल्नुभएको थियो । त्यो समयमा उहाँलाई लागेको थिएन कि आज यो स्थानमा पुग्छु । कपाल कटाउने साधारण पसल खोल्नुभएका नाराणले आज हजारौं साधारणदेखि उच्चपदस्थ व्यक्तिहरूको कपाल काटिसक्नुभएको छ ।

उहाँले कपाल काटेको ५० वर्ष पुग्दा स्वर्गीय राजा वीरेन्द्रले आफूबाट लिएको सेवाबारे यसरी सम्झिनुहुन्छ । ‘एक पटक शीतल निवासमा कार्यक्रम थियो । राजाका सचिवले कपाल काट्नका लागि बोलाउनुभयो । मैले सुरुमा दर्शन गरें । त्यसपछि कपाल काटें ।’ नारायणले आफूलाई भाग्यमानी सम्झिँदै भन्नुभयो, ‘वीरेन्द्र सरकार हाँसिबक्सियो । राम्रो छ भनिबक्स्यो ।’

स्वर्गीय राजा वीरेन्द्रदेखि मन्त्री, प्रधानमन्त्रीसम्मको कपाल काट्दा अझै पनि उहाँलाई यो काममा थकान महसुस भएको छैन । उहाँले अझै १० वर्ष कपाल काटेरै बस्न मन भएको बताउनुभयो । नारायणले यही वैशाख १० गते (०७९) कपाल काटेको पचास वर्ष पुगेको अवसरमा विशेष कार्यक्रमको आयोजना पनि गर्नुभयो । बौद्धस्थित राष्ट्रिय केश कर्तनालयमा एक भव्य कार्यक्रमको आयोजना गर्नुभएको थियो ।

काठमाडौंको चावहिलमा २०१४ सालमा जन्मिनु भएका नारायण नापितले १४ वर्षकै उमेरबाट कैँची समाउन थाल्नुभएको हो । उहाका पिता स्व.गणेशलाल र बाजेले कपाल काट्ने पेशा पहिले नै अंगालिसक्नुभएको थियो । बाबु, बाजेले तत्कालीन समयमा राणा, राजा, महाराजाहरूको कपाल काट्ने काम गर्नुहुन्थ्यो । त्यसैले पनि उहाँलाई यो काम गर्न सजिलो भयो ।

अहिलेसम्म नारायणले प्रधानमन्त्री शेरबहादुर देउवा, चर्चित गायक कुमार सानु, पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, राजनीतिज्ञ हिसिला यमी, पूर्वमन्त्री मीनेन्द्र रिजाल, मंगोलियाका वाणिज्य दूत छेटेन घिर्मेला श्रेष्ठ, बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामालगायत हजारौं व्यक्तिहरूको सेवा गरिसक्नुभएको छ । स्वदेशीमात्र होइन नारायणकै हातले कैयौं विदेशीहरूको पनि कपाल डिजाइन गरिसक्नुभएको छ । उहाँ मसाज ट्रिटमेन्ट विज्ञ पनि हुनुहुन्छ ।

कार्यक्रममा उपस्थित ब्युटि एसोसिएसन नेपालकी पूर्वअध्यक्ष तथा वरिष्ठ व्युटिसियन डाक्टर राज्य लक्ष्मी श्री श्रेष्ठले नारायणको कामको तारिफ गर्नुभयो । उहाँले भन्नुभयो, ‘नारायण अनुभवी र सीप भएको व्यक्ति हुनुहुुन्छ । बाल्यकालदेखि नै यही पेशामा समर्पित उहाँको हातमा जादु नै छ ।’ सूरुवाती दिनहरूमा ५० पैसाबाट कपाल काट्न थाल्नु भएका नारायणले दाह्री काटेको दश पैसामात्र लिनुहुन्थ्यो । यसले राम्रो कपाल काट्छ भन्ने प्रशंसा गर्दै पाँच पैसा टिप्स पनि पाएको सम्झिनुहुन्छ । अहिले भने उहाँले कपाल काटेको दुई सय र दारी काटेको एक सय रुपैयाँ लिनुहुन्छ । कतिले कपाल कटाउन सुरुमा नाम टिपाउँथे । पालो पाउन पनि निकै समय कुर्नुपथ्र्यो । जेन्ट्स र लेडिज पार्लर भएकाले दुइटैका लागि कपाल मसाज, फेसियल लगायत सेवासुविधा प्रदान गर्दै आउनुभएको छ ।

काठमाडौंमा नापितहरूले कपाल काट्ने पेशा अंगाल्दै आएका थिए । राजधानीमा कपाल काट्ने पेशामा नापितहरूको बाहुल्यता थियो । विस्तारै धेरैले यो पेशा छोडे । ‘अपवादमा नारायणले भने यो पेशालाई निरन्तरता दिए । बाबु बाजेले सुरु गरेको कामलाई मैले निरन्तरता दिएँ’, नारायणले भन्नुभयो, ‘अब मेरा सन्तानहरूले पनि यसलाई निरन्तरता दिनेछन् ।’

नारायण राष्ट्रिय युवा सेवा कोषद्वारा आयोजित अधिराज्यव्यापी खुला कपाल काट्ने प्रतियोगितामा प्रथम हुनुभएको थियो । यस्तै नेपाल नाई ट्रेड युनियन, महिला सशक्तीकरण विकास केन्द्र, स्वप्निल व्युटि क्लिनिक, नेपाल नापित समाज, निलडेविड्स सैलुन एण्ड एकेडिमी, चेज स्किन केयर इन्सिट्च्युटलगायत विभिन्न संघसंस्थाले सम्मान तथा अवार्ड प्रदान गरेका छन् । राष्ट्रिय सीप परीक्षण समिति सीटीईभीटीबाट कपाल काट्नेहरूको मूल्यांकनकर्ता पनि रहिसक्नुभएको छ । सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् दशक तथा आठौं सामाजिक सेवा दिवसको अवसरमा राष्ट्रिय सेवा कोषद्वारा आयोजित अधिराज्यव्यापी कपाल काट्ने खुला प्रतियोगिता २०४४ मा उनले प्रथम स्थान हात पारिसक्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?