बागलुङमा भएन मतदाता शिक्षा, मत बदर हुने संभावना उच्च

Read Time = 7 mins

बागलुङ । विगतमा चुनाव आउनुभन्दा पहिलेनै निर्वाचन आयोगले कर्मचार खटाएर गाउँ–गाउँ, घर–घरमा गएर मतदान गर्न सिकाउँथ्यो । तर अहिले निर्वाचन आउन केही दिन बाँकी रहँदासम्म पनि मतदान गर्न सिकाइएको छैन । अहिले गाउँमा चुनावी माहोल छ । उम्मेदवारहरुले घरदैलो पुगेर आफुलाई मत माग्न अनेक तरिका अपनाइरहेका छन् । आफूलाई मतदानका लागि अपिल गरिरहेका उम्मेदवारहरुको ध्यान मतदाता शिक्षा तिर भने पुगेको छैन ।

यस पटक ठूलो मतपत्र, धेरै मत चिन्ह रहेको कारण शिक्षित व्यक्ति समेत झुक्किने अवस्थामा रहेको छ । स्थानीय निर्वाचनमा प्रमुख÷उपप्रमुख, अध्यक्ष उपाध्यक्ष दुई, वडा अध्यक्ष र पाँच वडा सदस्य गरी सात स्थानमा मतदान गर्नुपर्ने भएकाले यो प्रकृया निकै झन्झटिलो छ । झन्झटिलो मतदान प्रकृया र मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुन सक्ने देखिएको छ ।

जिल्लामा पाँच दलीय गठबन्ध र तालमेलका कारण सात स्थानमा मतदान गर्दा मत चिन्ह फरक–फकर समेत रहेकाले नागरिकले मतदाता शिक्षा बिनै मतदान गर्न सक्ने अवस्था छैन । बागलुङमा १९ राजनैतिक दल र स्वतन्त्रका ११ चुनाव चिन्ह रहेको बागलुङमा राजनैतिक दलले समेत मतदाता शिक्षामा जोड दिन नसकेको पाइएको छ । दलहरु कस्ले बढी आम भेला गर्ने र मानिस भेला गर्ने प्रतिस्पर्धामा उत्रेका छन् ।

अहिले बागलुङमा पाँच दलीय गठबन्धन र एमाले राप्रापको तालमेल छ । गठबन्धन गरेका पाँच दलले मुख्यपदमा आफ्नै चुनाव चिन्ह प्रयोग गरेका कारण मतदाताले मतचिन्ह तलमाथी प्रयोग गर्नुपर्ने अवस्था रहेको छ भने एमाले र राप्रपाको तालमेलका कारण पनि दुई फरक–फरक चिन्हमा मतदान गर्नुपर्ने अवस्था रहेको छ ।

निर्वाचन आयोगले दिएको नमूना मतपत्र अनुसार बागलुङमा राजनैतिक दलहरुले आफ्नो चुनाव चिन्हमा स्वस्तिक छाप लगाएर मतदाताहरुलाई दिँदै आएका छन् तर स्वतन्त्ररुपमा मतदान गर्ने नागरिकको अधिकार भएकाले निष्पक्ष रुपमा मतदाता शिक्षा हुन आवश्यक देखिन्छ । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि कुनै व्यवस्था नगरेको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिनु भयो ।

‘समय छोटो भएर होला, यस विषयमा निर्वाचन आयोगले केही भनेको छैन नत बजेटनै पठाएको छ” शर्माले भन्नुभयो “हामी मतपत्र, र अन्य मतदानका लागि आवश्यक सामाग्री मिलाएर कमतदान केन्द्रमा पठाउने तयारीमा छौं ।’

छोटो समयमै चुवान गराउनु पर्ने र मतदाता शिक्षा दिने मानिसलेनै मतदातालाई प्रभावित पार्न सक्ने भन्दै यसपटक निर्वाचन आयोगले मतदाता शिक्षा नदिएको बुझिन्छ । यस पटकको निर्वाचनमा आफै कार्यकर्तालाई मतदाता शिक्षाका लागि घर घरमा पठाउने तयारीका साथ गठबन्धनको तर्फबाट नमूना मतपत्र छपाइरहेको नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचनले जानकारी दिनुभयो ।

‘अहिले मतदाता शिक्षा दिन नसके धेरै मत बदर हुँने समस्या छ, त्यसलाई मध्यनजर गर्दै मतदाता शिक्षाका लागि कार्यकर्तालाई खटाइएको छ, निर्वाचनको समय सम्म सबै मतदाताको घरमा मतदाता शिक्षा पु¥याउने हाम्रो तयारी हो’ शेरचनले भन्नुभयो ‘गठबन्धका कारण धेरै चुनाव चिन्हमा मत मागनुपर्ने हाम्रो बाध्यता हो, जनतालाई बुझाउन आवश्यक छ, वडा सदस्यहरुको त जुन पार्टीको वडा अध्यक्ष हो त्यही चुनाव चिन्हको व्यवस्था छ, तर पालिका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको लागि फरक चिन्ह छ, मतदाताले निकै ध्यानपूर्वक मतदान गर्न आवश्यक छ ।’

यस्तै नेकपा एमालेले जिल्लाका ८५ वटै वडामा मतदाता शिक्षाका लागि कार्यकर्ता खटाएको छ । एमालेले बागलुङ नगरपालिका बाहेक अन्य ९ पालिकामा एमालेको एकल उम्मेदवारी दिएको छ । बागलुङ नगरपालिकामा एमाले राप्रपाको तालमेल छ ।

तर उपप्रमखु बाहेक अन्य पदमा एमालेको आफ्नै चिन्ह रहेको र अन्य नौ पालिकाका सबै उम्मेदवारहरुको एउटै चिन्ह रहेकाले त्यति समस्या नहुने तर मतदाता शिक्षाको टोलटोलमा कार्यकर्ता खटाइएको नेकपा एमाले बागलुङको प्रचार विभाग प्रमुख गणेश पौडेलले जानकारी दिनुभयो ।

‘अहिले ठूला–ठूला आमभेला भन्दा मतदाता जहाँछन् त्यही भेट्ने र मतदाता शिक्षा सहित भोट माग्ने गरिएको छ”पौडेलले भन्नुभयो ‘मतदाता शिक्षाका हामीले नमूना मत छापेर स्वस्तिक चिन्ह सहित गाउँमा कार्यकर्तालाई जिम्मा लगाएर पठाएका छौं, भोट माग्ने बेलामा नमूना मत पत्र यस्तो छ, यसरी तपाईले मन पराएको मतचिन्हमा मत हाल्न सक्नुहुनेछ भन्दै आएका छौं ।’

पौडेलले चुनाव चिन्ह एउटै भएको खण्डमा लस्करै भोट राख्न सकिने मत पत्र भएकाले मत पत्र बदर कम हुने बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय बागलुङले अहिले मतदान केन्द्रको मतदाता संख्याको आधारमा मतपत्र सहित अन्य सामग्री पठाउने तयारी गरिरहेको छ । मतादाताहरुले भने अहिलेसम्म कोही पनि मतदान गर्ने तरिका सिकाउने विषयमा जानकारी दिन नआएको बताउँछन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?