भोजपुरमा संचालन भएन मतदाता शिक्षा, मतदाता अन्योलमा

हिमालय टाइम्स
Read Time = 5 mins

भोजपुर । आगामी बैशाख ३० गते हुन गई रहेको स्थानीय तह निर्वाचनका बिषयमा यस पटक जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा संचालन नगरे पछि मतदाताहरु अन्यौलमा परेका छन । निर्वाचनको मिति नजिकिँदै गर्दा दलका उम्मेदवार र नेताहरु गाउँ घरमा भोट माग्न र आफनो जित सुनिश्चितताका लागि प्रचार प्रसारमा ब्यस्त देखिएका छन । तर बिगतका निर्वाचनहरुमा जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षाको कार्यक्रम संचालन गर्ने गरेको भए पनि यो पटक नगर्दा मतदाताहरु अन्यौलमा परेका हुन ।

मतदाता शिक्षाका कार्यक्रम संचालन हुन नसक्दा जिल्लाका सवै मतदाता सक्षम छन भन्ने देखिएको छ । “सबैले भोट दिनु भन्ने, मतपत्रमा कति दल हुन्छन, कसरी र कति ठाउँमा छाप लगाउने ? कसरी लगाउँदा बदर हुन्छ ? कसरी लगाउँदा सदर हुन्छ भन्ने कसैले सिकाएको देखिदैन ।” मतदाता अशोक खतिवडा भन्नुहुन्छ- निर्वाचन आयोगले कुना काप्चाहरुमा पनि मतदाता छन, सवै जानेका छैनन, मतदाता शिक्षाका कार्यक्रम संचालन गर्नु जरुरी थियो ।

राजनीतिक दलहरु भोट माग्नमा ब्यस्त छन । उनीहरुले आफनो पार्टीकालाई मात्र भोट हाल्न सिकाई रहेको देखिन्छ । मतदान गर्न केही दिन मात्र बाँकी रहदाँ मतदाता भने आफुहरुलाई सिकाउन राज्यले केही नगरेको गुनासो गर्छन । मतपत्रमा निकै दलहरु हुन्छन, सही तरिका नबुझाउदाँ गरेको मतदान पनि बदर हुन सक्छ यस तर्फ खै त सरकारी पक्षले बिचार पुर्याएको, मतदाता रमेश बिकले भन्नुभयो ।
भोजपुरमा २ नगरपालिका र ७ वटा गाउँपालिका गरी ९ स्थानीय तह छन । जसका लागि स्थानीय तहको निर्वाचनबाट ४ सय २३ जना जनप्रतिनिधी निर्वाचित हुने छन । मतदाताहरुको धारणा छ, आफनो उम्मेदवारलाई भोट हाल्नका लागि भन्दै दैनिक उम्मेदवार र दलका नेताहरु घरघरमा त आउँछन, उनीहरुले आफनो पार्टीका सवै उम्मेदवारलाई मतदान गर्नु पर्छ भन्ने गरेका छन । मत माग्ने नेता तथा कार्यकर्ताले मतदातालाई मतदानको प्रक्रिया मतपत्र पट्याएर मतपेटिकामा राख्ने, स्वस्तिक छापको प्रयोग लगायतबारे कुनै जानकारी भने गराएका छैनन ।
मतदाता शिक्षाबारे निर्वाचन आयोगले समेत यस पटकको निर्वाचनमा चासो देखाएन । अघिल्ला निर्वाचनमा केही साता अघि देखि नै मतदाता शिक्षाका लागि शिक्षकलाई खटाउने गरिन्थ्यो । यस पटक भने मतदानस्थलमा खटिने कर्मचारीले नै दुई दिन अघि देखि मतदान शिक्षाबारे जानकारी गराउने गरी आयोगले निर्देशन दिएको छ ।
मतदाता शिक्षाबारे राजनीतिक दल तथा उम्मेदवारहरु पनि अन्यौल मै देखिएका छन । घरदैलो मै व्यस्त हुनुपर्ने भएकोले मतदाता शिक्षामा बढी समय दिन नसकिएको उम्मेदवारहरुको भनाई रहेको छ । विशेष गरी नयाँ मतदाता र वृद्धवृद्धालाई मतदाता शिक्षा आवश्यक पर्ने गर्दछ ।
जिल्ला निर्वाचन कार्यालय भोजपुरका अनुसार यसपटक मतदाता शिक्षा कार्यक्रम राखिएको छैन । मतदान गर्ने विषयमा विभिन्न माध्यमबाट जानकारी हुने भन्दै निर्वाचन आयोगबाट यो कार्यक्रम हटाइए पछि जिल्लाहरुमा पनि बन्द गरिएको हो । जिल्ला निर्वाचन कार्यालय भोजपुरका अनुसार भोजपुरको कुल मतदाता संख्या १ लाख २५ हजार ९ सय २६ जना, मतदात स्थल ८७ र १ सय ६० वटा मतदान केन्द्रहरु निर्धारण भएका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?