नेपाली भाषालाई किन पछाडि पारिँदै छ ?

Read Time = 14 mins

✍️ सागर खनाल
कुनै पनिदेशको राष्ट्रिय अस्मिता र अस्तित्वको संवाहक भाषा हो । भाषाकै कारण विश्वमा कैयौं युद्धहरू भएका उदाहरण हामीसँग छ्न् । बंगलादेश जस्ता देशहरू पनि छन्, जो भाषाकै कारण टुक्रिए । भाषाले युद्धमात्र होइन, देशहरूको सम्मिलन गराएको इतिहासहरू पनि प्रशस्त छन् । आज पनि राज्य र राष्ट्रका सीमा निर्धारणको बलियो आधारहरू मध्ये भाषालाई पनि एक मानिन्छ । यस्तो सामथ्र्य राख्ने भाषालाई हामीले चाहेर वा नचाहेर पनि राजनीतिदेखि टाढा राख्न सक्दैनौं । तर भाषालाई राजनीतिदेखि पर राख्न सकिँदैन भनिरहँदा भाषाविज्ञानका आधारभूत मान्यताहरूलाई राजनीतिले किच्नु नै पर्छ भन्ने चाहिँ होइन ।

उच्चारण, लवज र व्यवस्थामा फरकपन रहे तापनि आधाभन्दा बढी बोधगम्यता रहन्छ भने दुई भाषिक व्यवस्थाहरू फरक-फरक भाषा नभएर एउटै भाषाका दुई भाषिकाहरू हुन् । यो भाषाविज्ञानको आधारभूत मान्यता हो । तर, यस कुरालाई स्वीकार गर्न समकालीन नेतृत्व र केही नाम मात्रका भाषाविद्हरूलाई गाह्रो परिरहेको छ ।

भाषा परिवर्तनशील वस्तु हो तर त्यो परिवर्तन सबैतिर समान किसिमले चाहिँ भइरहेको हुँदैन । भाषिक परिवर्तनमा वक्ताहरूको आवत–जावत अथवा घुलमेल, भौगोलिक परिवेश, दोस्रो भाषाको प्रभाव आदिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नेपाल जस्तो कठिन भौगोलिक स्थिति भएको देशमा भाषा परिवर्तनको स्वरूपलाई नियाल्दा परिवर्तन सबैतिर समान किसिमले नभएर फरक–फरक किसिमले भएको देख्न सकिन्छ । तुलनात्मक रूपमा पश्चिमभन्दा पूर्वमा भौगोलिक सहजता बढी छ । पूर्वमा वक्ताहरूको घुलमेल पनि बढी रहने अवस्था छ ।
अतः पश्चिमको भाषिक परिवर्तनभन्दा पूर्वको परिवर्तन शीघ्ररूपमा समान किसिमले अगाडि बढेको देखिन्छ । वक्ताहरूको आधिक्यता र क्षेत्रविस्तारमा अधिक भएको कारण पूर्वेली नेपाली भाषिकाले मानक नेपालीको ट्याग पायो । तर, पछिल्लो समय शासक वर्गको अकर्मण्यता, केही भाषाविद्हरूको गद्दारी र विदेशीहरूको सुनियोजित षड्यन्त्रका कारण नेपाली भाषालाई च्यापमा पार्ने काम भइरहेको छ ।

अछामी, बैतडेली, बझाङ्गी, डडेल्धुराली, डोटेली आदि नेपाली भाषाकै भाषिकाहरू हुन् । यो सबैले स्वीकार गरेकै कुरा थियो तर एकाएक विगत केही वर्षमा यी भाषिकाहरूलाई नेपाली भाषादेखि अलग गराउने जुन प्रयास भयो, त्यो हेर्दैमा आश्चर्यलाग्दो छ । नेपाली भाषा र ती भाषिकाको बोधगम्यता आधाभन्दा बढी रहेको र ती नेपाली भाषाका भाषिका रहेको पुष्टि भएको अवस्थामा यो खेल अत्यन्त डर लाग्दो छ ।
तथ्यांकमा नेपाली भाषालाई कमजोर पार्ने अरू विदेशी भाषाहरूको प्रभाव बढाउने खेलमा कसैको पनि चिन्ता नहुनु अत्यन्त दुःखको विषय हो । डडेल्धुराली भाषिका बोल्ने वक्ताकै कुरा सुन्ने हो भने उसले अछामी भाषिका आधाभन्दा पनि बढी नै बुझ्दछ तर यो कुरा सुन्न ती कथित भाषाविद्हरू तयार छैनन् ।

२०७८ सालको जनगणनामा पनि टुक्रे नीतिलाई अनुशरण गर्दै नेपाली भाषालाई टक्र्याएर जनगणना गरियो । यो गणना नेपाली भाषामाथि गरिएको सुनियोजित आक्रमणको एउटा रूपमात्र हो । यस्ता धेरै रूपहरू छ्न्, जहाँ नेपाली भाषालाई सिध्याउन अनेकौं प्रयासहरू भइरहेका छ्न् । नेपाली भाषादेखि भिन्न हुँदैमा ती भाषिकाहरूको उन्नति र प्रगति नै हुन्छ भने तिनीहरूको जय होस् । तर, भाषा विकास र विस्तार हुनलाई वक्ता, क्षेत्र, इतिहास, साहित्य आदिले प्रभाव पारिरहेको हुन्छ । यो कुरा ती टुक्रे मानसिकता भएका मानिसहरूलाई हेक्का रहनु जरुरी छ ।

आमाविना गर्भको बच्चाको कुनै अस्तित्व हुँदैन । गर्भको बच्चाको प्राण आमाकै प्राणमा निर्भर रहन्छ । आमालाई मारेर जीवित बच्चाको कल्पना गर्नु ठूलो मूर्खता हो । यो कुरा नबुझ्ने नेतृत्व र विज्ञहरूले नेपालमा पुनः बाइसे र चौबीसे राज्य बनाउने पक्का छ ।

भाषिक आक्रमण नेपाली शासक वर्गबाट मात्र नभएर नेपाली पुरेत प्राध्यापकबाट पनि भइरहेको छ । संस्कृत नेपाली भाषाको जननी हो यसमा कुनै शंका छैन । संस्कृतप्रति धेरै मानिसहरूको अगाध श्रद्धा छ र हुनु पनि पर्छ । तर श्रद्धा र भक्ति प्रदर्शन गर्ने क्रममा संस्कृतलाई नै मातृभाषा बताउदै हिँड्ने विश्वविद्यालयका पुरेतबाहरूले मातृभाषा शब्दकै अर्थ नबुझेको देख्दा अचम्म लाग्छ । एउटा बच्चाले आफ्नी आमाबाट जुन भाषा सिक्छ, त्यो नै उसको मातृभाषा हो । यतिसम्म कि कुनै बच्चा नेपालमा जन्मिएर केही वर्षसम्म आफ्नी आमाबाट नेपाली सिक्यो बोल्यो तर पछि अमेरिका गयो र त्यहाँको अंग्रेजी भाषाको प्रभावले नेपाली भाषा पूर्णरूपमा बिर्सियो भने पनि उसको मातृभाषा नेपाली नै हुन्छ ।

उसले जति नै अङ्ग्रेजी भाषा प्रयोग गरे पनि, ऊ अङ्ग्रेजीभाषी समुदायको सदस्य बन्न सक्छ तर अङ्ग्रेजी मातृभाषी समुदायको सदस्य बन्न सक्दैन । यहाँको सन्दर्भमा त स्वरूप नै फरक छ । यिनीहरूकी आमालाई संस्कृतको स पनि थाहा थिएन । न उनीहरूमा संस्कृत भाषाको पूर्णज्ञान छ न संस्कृतमा विचार विनिमय नै छ तर पनि यिनीहरू संस्कृतलाई मातृभाषा भन्दै आइरहेका छन् । यतिसम्म कि केही बाजेहरू त संस्कृतको स पनि नजानेको मोर्डन छोराहरूको नाममा पनि मातृभाषा संस्कृत लेखाइदिएँ भन्दै गफ चुट्दै गरेका भेटिन्छन् ।

आमा हजुरआमाबाट नै जन्मेकी हुन् तर आफैंले आमालाई मारेर हजुरआमालाई मेरी आमा हुन् भन्दै हिँड्नु सायद जायज नहोला । आफ्नी छोरीको प्रगति नै एउटी आमाको प्रगति भएझैँ नेपाली भाषाको श्रीवृद्धिमा संस्कृत भाषाको पनि श्रीवृद्धि हुने कुरा विश्वविद्यालयका संस्कृत पढाउने पुरेत बाजेहरूले बुझ्नु जरुरी छ । नत्र, नेपाली भाषालाई कमजोर बनाउने षड्यन्त्रकारको सूचीमा भविष्यले संस्कृतलाई मातृभाषा मान्नेहरूलाई पनि राख्नेछ ।

आर्कोतर्फ संविधान र कानुनहरूमा गरिएको नेपाली भाषाप्रतिको व्यवस्थाप नि खासै सम्मानजनक देखिँदैन । सम्पूर्ण मातृभाषालाई राष्ट्रभाषा मानिरहँदा केही विदेशी भाषाहरूले पनि नेपालमा खेल्न पाउने प्रशस्त ठाउँ दिइएको छ । देशमा बोलिने सम्पूर्ण भाषालाई राष्ट्रभाषा बनाउने नीतिका परिकल्पनाकार लेनिन् हुन् । उनले तत्कालीन सोभियत संघमा बोलिने सम्पूर्ण भाषाहरूलाई राष्ट्रभाषाको मान्यता दिएका थिए । तरपछि गएर लेलिनको यो नीतिका कारण राष्ट्रियता नै कमजोर बनेको देखेर स्टालिनले रूसी भाषालाई प्राथमिकता दिए ।

अहिले त्यसैको प्रभावका कारण सोभियत संघबाट टुक्रिएका देशका जनताहरूले एकआपसमा सम्पर्क भाषाका रूपमा रुसी भाषालाई प्रयोग गर्दछ्न् । तर, हाम्रो देशमा मैथिली भाषी व्यक्ति र थारू भाषी व्यक्ति भेटे भने सम्पर्क भाषाका रूपमा हिन्दीलाई प्रयोग गर्दछ्न् । हामी कहाँनेर चुकिरहेका छौं ? हामीले त्यो सम्पर्क भाषाका रूपमा नेपाली भाषालाई स्थापित गर्न किन सकिरहेका छैनौं ? यी कुरामा समीक्षा हुन जरुरी छ ।

अर्कोतर्फ नेपालका विश्वविद्यालयहरूले पनि नेपाली भाषालाई सौतेनी व्यवहार गरिरहेका छ्न् । नेपाली भाषालाई माध्यम बनाएर अध्ययन गर्ने विद्यार्थीलाई प्रश्न चाहिँ अङ्ग्रेजी भाषामा आउनु, नेपाली पढ्ने विद्यार्थीहरूले पनि परीक्षा फारम अङ्ग्रेजी भाषामा भर्नपर्ने नियमबाट पनि विश्वविद्यालयका नीति निर्माताहरूको अङ्ग्र्रेजी मोह प्रष्ट देख्न सकिन्छ । नेपालीमा शिक्षाशास्त्री गर्ने विद्यार्थीलाई किन प्रश्नपत्र अङ्ग्रेजीमा दिइन्छ यस प्रश्नको चित्त बुझ्दो जवाफ विश्वविद्यालयका पदाधिकारीहरूसँग छैन ।

ने.सं.वि.को परीक्षा फारम पनि संस्कृत र अङ्ग्र्रेजीमा व्यवस्था गरिएको छ । विश्वविद्यालयका हरेक प्रशासनिक क्रियाकलाप नेपालीमा हुनु, नेपाली भाषाको पढाइ पनि हुनु तर परीक्षा फारम चाहिँ संस्कृत र अंग्र्रेजीमा मात्र हुनु अचम्मको विषय हो । यी र यस्ता विषयमा भाषाविद्, प्राध्यापक र विद्यार्थी संगठनहरू कसैलाई चासो छैन ।

कुनै बेला लोकसेवा आयोगले लिने परीक्षामा नेपाली भाषा विषयको सय पूर्णाङ्कको परीक्षा हुने गर्दथ्यो तर त्यो पूर्णाङ्क क्रमशः सयबाट पचास र पचासबाट अहिले शून्य अङ्कमा झारिएको छ । जसको प्रभाव अहिले सरकारी कार्यालयका बोर्ड, सूचना र विज्ञप्तिहरूमा प्रष्ट देख्न सकिन्छ । मन्त्रालयसम्मका सूचनाहरूमा शुद्धभन्दा अशुद्ध शब्दहरूको वर्चस्व देखिन्छ । सरकारी कर्मचारीहरूले नागरिकता आदि कागजातमा व्यक्तिको नाम शुद्धसँग नलेखिदिएका कारण धेरै जनताले सास्ती भोगेका घटनाहरू प्रशस्त छन् ।

समग्रमा समकालीन नेतृत्वको अकर्मण्यता, विदेशीहरूको स्वार्थ र विज्ञ भनिनेहरूको गैरजिम्मेवारीपनको कारण नेपाली भाषा अहिले इतिहासकै कठिन मोडबाट गुज्रिरहेको छ । सुनियोजित आक्रमणका कारण आउन लागेको जनगणनाको तथ्यांकमा नेपाली भाषीहरूको सङ्ख्याकम देखिने कुरा घामजस्तै छर्लंग छ र सो तथ्यांक मिथ्यांकहरूको पुलिन्दामात्र हो । यो कुरालाई मध्यनजर गर्दै सम्पूर्ण नेपालीभाषी वक्ताहरू समयमै सचेत र जागरूक हुन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment

रिलेटेड न्युज

छुटाउनुभयो कि ?