सिरिजमा नेपालको बराबरी

Read Time = 2 mins

काठमाडौं । नेपालले पाहुना टोली जिम्बाबे ‘ए’ सँगको दोस्रो एकदिवसीय अभ्यास खेलमा नौ विकेटको जित हात पार्दै तीन एकदिवसीय अभ्यास खेलमा एक÷एकको बराबरी गरेको छ । यसअघि शुक्रबार भएको पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको थियो ।

जितका लागि ८८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ११.२ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । नेपालका ओपनर सुनिल धमलाले ३८ बलमा आठ चौकासहित ३८ बनाउनुभयो । यस्तै आसिफ शेख ३१ बलमा ६ चौकासहित ३४ रनमा अविजित रहनुभयो । त्यसबाहेक विनोद भण्डारी तीन बलमा एक चौकासहित चार रनमा अविजित रहनुभयो ।

पहिलो विकेटका लागि धमला र आसिफ शेखले १०.३ ओभरमा ७९ रनको साझेदारी गरेपछि नेपालले जित निश्चित गरेको थियो । जिम्बाबे ‘ए’ का ब्रेन्डन मभुताले एक विकेट लिनुभयो ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाबे ‘ए’ ले ३१.५ ओभरमा सबै विकेट गुमाएर ८७ रनमात्रै बनाउन सकेको थियो । जिम्बाबेका लागि जनथान क्याम्पबेलले ४२ बलमा तीन चौका र एक छक्कासहित २७, ब्राड इभान्सले ३५ बलमा एक चौका र एक छक्कासहित २० रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सक्नुभएन ।

नेपालका लागि करण केसीले आठ ओभरमा तीन मेडनसहित १७ रन खर्चेर तीन विकेट लिनुभयो । यस्तै सोमपाल कामीले सात ओभरमा १६ रन खर्चेर तीन विकेट लिनुभयो । सन्दीप लामिछानेले दुई र सागर ढकालले एक विकेट लिनुभएको थियो । अब तेस्रो तथा अन्तिम एकदिवसीय खेल सोमबार हुनेछ । पहिलो खेलमा जिम्बाबे ‘ए’ ले नेपाललाई तीन विकेटले हराएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?