मे ८ लाई रेडक्रस दिवसको रूपमा हेर्ने गरिएको छ । परोपकार भनौं सेवा नै धर्म हो, दिवसको सार्थकता यसैमा छ । पूर्वीय दर्शनमा जति परोपकारका आदर्शहरू सायदै अन्यत्र होलान्, त्यसैले त वेदका विभाजनकर्ता, महाभारतदेखि अठार पुराणका रचयिता वेद व्यासले भन्नु भएको छ । अष्टादश पुराणेषु व्यासस्य वचनं द्वय । परोपकार पुण्याय पापाय परपीडनम् । अर्थात् सबै पुराणको सार भन्नु परोपकार नै हो, त्यही पुण्य हो र अरूलाई पीडा दिनु नै पाप हो । ईश्वरको शब्दमा अहं सर्वेषु भूतेषु अर्थात् म सबै प्राणीको अन्तरहृदयमा बस्छु ।
मैले बनाएको मन्दिर हो यो, म आफ्नै मन्दिरमा बस्छु, हे मानव ‘तिम्रो शरीर मेरो मन्दिर हो, तिमीले बनाएको सुनका गजुरसहितको मन्दिरमा मलाई बस्न बाध्य छैन, कारण त्यही मन्दिर बाहिर बस्ने मेरै रूपका दीनदुःखी, असहाय, अपांग, पीडितलाई तिमी लत्याउँछौ, प्राणीको गला रेट्छौ’ । यही बुझेर होला महाकवि देवकोटाले भने, ‘हाडहरूका सुन्दर खम्बा मांसपिण्डका दिवार, नसा नदीका तरल तरंग मन्दिर आफैँ अपार’ ।
हिजो संसारलाई कोरोनाले डल्लो पारेको थियो, आज पनि चीन त्रसित छ । विज्ञानको चमत्कार हुँदा पनि एकै वर्षमा ३२ लाखसम्म मरे, मानिसको जीवन कति क्षणभंगुर छ । हाम्रा २ छिमेकीबाट निस्केको कोरोनाको मुस्लोले हजारौं हाम्रै नेपालीलाई निल्यो । उपकारको आदर्श भन्नु नै हर प्राणीप्रति दया हो । ईश्वरप्रतिको यादविना दयाको अर्थ रहँदैन । मुखमा राम बगलीमा छुरा भनेभैmँ, आदर्श बोक्नेहरूले नै पीडाको घाउमा मलम लगाउन नसक्दा नेपालीहरू स्वदेश विदेश दुवैतिर छट्पटिए ।
कहिले भूकम्प, कहिले चट्याङ, कहिले हुरी बतास, कहिले आगलागी र बाढी पीडित, कहिले सशस्त्र द्वन्द्व त कहिले झाडाबान्ता, कहिले कोरोना के के हो के के नेपालीमाथि परेको संकट भनौं पीडा ! जब जब संकट आउँछ, यसैमा दाउ हान्नेहरूको भीड पनि कमी छैन देशमा ! अभिभावको भूमिका समेत नदेखिएको अवस्थामा आदर्शका कुराले रोग, भोक, शोक त टर्दैन तथापि मनको बह कहँदा, सुन्दा, पढ्दा केही हलुकोसम्म हुन्छ ।
विश्व युद्धमा धेरै घाइते भए । कतै पक्ष, विपक्षको गन्ध नलिई घाइतेको उपचारमा संलग्न फ्लोरेन्स नाइटिँगलको नाम नसुन्ने सायदै कोही होलान् । मलम लगाउ आर्तहरूको चहर्याइरहेको घाउ, यही त हो मानवीयता भनौँ समाजको सेवा । दे उताको नाम देवता हो, जोे आफ्नो स्वार्थका लागि मात्र बाँच्छ ऊ जिउँदै मरेतुल्य हुन्छ ।
सद्गुण र सदाचार बजारमा किन्ने विषय होइनन्, मानव सर्वस्व हो यो, भनौं उसको सञ्चित धन ! त्यसैले त हाम्रा अग्रजहरूले भने दया हो पृथ्वीको भव जलधिको मुख्य तरणी । कोरोना उपचारमा कमिसन, ठेक्का पट्टा, आफू आफन्त मोटाउने अरूप्रति निर्दयी हुने अवस्था, उठेको करबाट राहतप्रतिको बेवास्ता, घरभित्रै थुनिएर, निसासिएर मर भनेको अवस्थाले हामीलाई अभिभावक नभएको महसुस भयोे, विगतका दिनहरू यस्तै चर्को अवस्थाबाट गुज्रेका हुन् हाम्रा !
हाम्रो देशमा संविधानले सामाजिक सुरक्षाको हकलाई मौलिक हकको रूपमा हेरेको हो तर बाँच्न पाउने हक भने व्यवहारतः सुरक्षित छैन । बेरोजगारी समस्या विकराल छ । समावेशी विकास, दिगो विकास सरकारी नारा कागजमा सीमित छ । कोही बलात्कृत भएर मर्छन् यहाँ, कोही मानव निर्मित साधनबाट दुर्घटना भएर, कोही एसिड छरिएर भने कोही अनायासै आएको संक्रमणबाट ! अशक्त, असहाय, दीनदुःखी, गरिब, विपन्न, वृद्धवृद्धाको हालत त झन् खराब छ । आर्थिक रूपले अशक्त, विपन्न, असहायको कथा र व्यथा आफ्नै छ । अपांग, एकल, बालबालिका, किशोर, किशोरीको दुर्दशा हरिविजोक छ ।
अन्तर्राष्ट्रिय संघसंस्था, समूह सरकारसँग देशले गरेको प्रतिबद्धता, सन्धि, महासन्धि कति छन् कागजमा, कति छन् पुस्तकालयहरूमा । सरकारी निकायमात्र होइन गैरसरकारी निकायहरूले नेपाली मुद्रामात्र होइन हरिया डलर खर्चेका छन्, धेरै यी र यस्तै विषयमा ! वर्षै पिच्छेका योजना र कार्यक्रममा पनि यी विषय परि नै रहन्छन् । लैगिंक, जातीय छुवाछुतको अन्त्यहुनु पर्ने हो अर्थात् सामाजिक विभेदको अन्त्य हुनुपर्ने हो । युवा परिचालनबाट मानवीय सेवा, विपद् व्यवस्थापन, वातावरण संरक्षण र वृक्षरोपण जस्ता व्यावहारिक कार्यक्रम सञ्चालन हुनुपर्ने हो । हिंसा पीडित महिलाहरूको उद्धार र राहत, मनोसामाजिक परामर्श र कानुनी सरसल्लाह, पुनःस्थापना केन्द्रहरूबाट उचित लाभ प्राप्ति हेतु लक्षित कार्यक्रम सञ्चालन गरिनु पर्ने हो ।
महिलाविरुद्ध हुने हिंसा अन्त्य हुनुपर्ने हो । बालविवाह, तिलक, दाइजो प्रथा, छाउपडी एवं बोक्सी जस्ता कुरीतिको अन्त्य हुनुपर्ने हो । सामूहिक उन्नयनमा सरकार पछि नहट्नुपर्ने हो । बालश्रमको अन्त्य हुनुपर्ने हो । सबैको, श्रमको महत्व र मूल्यांकन हुनुपर्ने हो । बचतको भावनाबाट लगानीको वातावरण तय गर्नुपर्ने हो । सडक बालबालिकाको उद्धार, विद्यालयमा छात्रवृत्ति, पोशाक, खाजा, यातायातको व्यवस्था गर्नुपर्ने हो । मानसिक रोगी, टुहुरा, असहाय, बालबालिका, वृद्ध, अपांग व्यक्तिहरूको हेरचाह र सुरक्षा अझ बढी जरुरी हुनुपर्ने हो, समग्रमा भन्नुपर्दा सबैको आत्मिक उन्नतिबाट मुलुक समृद्ध हुनु पर्ने हो । लोककल्याणकारी राज्यको यही परिकल्पना हो ।
पूर्वीय धर्म-दर्शनले जुन सभामा वृद्धहरूको उपस्थिति हुँदैन । त्यो असलमा सभा हुनै सक्तैन भनेको छ । त्यस्तोे परिवारलाई राज्यले, समाजले सम्मान दिनु पर्ने हुन्छ । परित्यक्त, हिंसा पीडित, शारीरिक र मानसिक रूपले अशक्तहरूको अझ विशेष ख्याल गरिनुपर्ने हुन्छ । विपद् जोखिम, भूकम्प, बाढी पहिरो, हावाहुरी, चिसो, तातोको ख्याल गरिनु पर्ने हुन्छ । समयमा औषधिमूलो, अस्पताल सेवा घरैमा चिकित्सकका सल्लाहको आवश्यकता पर्ने हुन्छ ।
यसका लागि ज्येष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक समूह गठन र सञ्चालन जस्ता कार्यक्रमले सार्थकता पाउन सक्छन् । सबै ज्येष्ठ नागरिकले सुरक्षित र सम्मान जनक अवस्थामा आफ्नो जीवनयापन गरेको महसुस हुने वातावरण तय गरिनुपर्छ, यो राज्यको दायित्व हो । हामीकहाँ अशक्तहरूको संख्या कम छैन । झण्डै दुई प्रतिशत जनता अपांग छन् । अपांगमध्ये शरीरको अपांगता बढी छ । झण्डै सत्तरी प्रतिशत शारीरिक अपांगका छन् । तीमध्ये संविधानले यस्ता व्यक्तिहरूको पनि संरक्षणको परिकल्पना त गरेको छ, तिनको सेवासुविधाको पहुँचको स्थापना गर्न खोजेको छ । अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई राज्यले स्वीकारेको छ । सरकारले समुदायमा आधारित समावेशीकरण गरेको भनेको छ ।
निजामती सेवामा आरक्षणको व्यवस्था गरेको छ । सामाजिक सुरक्षा भत्ता, व्यावसायिक तथा सीपमूलक तालीमका प्रावधानलाई प्रयोगमा ल्याएको भनेको छ । तथापि पेशागत भौतिक संरचनाहरूलाई अंपाग मैत्री बनाउन सकेको छैन (कोटेश्वर, कलंकी सडक हेर्दा हुन्छ) दुर्गम क्षेत्रमा यसको दायरा बढाउन सकेको छैन । अपांगप्रति समाजको सकारात्मक दृष्टिकोण स्थापित गराउन सकिरहेको छैन । हरेक प्रकारका अपांगता भएका व्यक्तिहरू सक्षम स्वावलम्बी र आत्मनिर्भर बनाउने राज्यको सपना अधुरो छ ।
उपकारमा नै अमृतको वास हुन्छ । उपनिषद्को सार पनि अमृतत्वेन गम्यात् नै हो । उपकारी व्यक्ति तपस्वी हुन्छ । कुभाषण, भोगको इच्छा, कामाशक्ति, गुणमा दोष दृष्टि, दोषमा गुण दृष्टि, तृष्णा, लोभ, चुक्ली, निन्दा, हिंसा, क्रोध, शोक, चिन्ता, कर्तव्यको विस्मृति, डाह, इष्र्या, संताप, ज्यादा बोल्नु सत्पुरुषको भनौं जितेन्द्रिय व्यक्तिको लक्षण होइन । मदका यी दोषलाई त्याग गर्नाले व्यक्ति समाज भित्रै तपस्वी बस्न सक्छ । जीवले जगत् बुभ्mनु पर्ने हुन्छ । जीव र जगत् दुवै परमात्माको असल अभिव्यक्ति हो । सुन्दर अभिव्यक्ति हो । चेष्टाबाट रहित हुँदा ईश्वरत्व प्राप्ति हुन्छ । कायेन, मनसा, वाचा अर्थात् मन, वचन र कर्मले परोपकारी हुनुपर्ने हुन्छ ।
नदी जसरी सलल वगेको हुन्छ । ज्ञान र वैराग्यरूपी बालुवामा भक्तिरूपी गंगाको प्रवाह भएझैँ जीवनलाई प्रवाह गर्न सकेमा ईश्वर खोज्न टाढा जानु पर्दैन । दश दिशा घुमेर ईश्वर भेटिन्न र हाम्रा महाकवि भन्छन्- ईश्वर वस्तछ गहिराइमा खोजी हिँड्छौं कुन पुर ? वेत्ता वा विद्धान् त्यही हो जसले भगवत् सेवा गर्छ । जीव र जगत् के हो, आफू को हुँ आफ्नो स्रोत के हो ? गन्तव्य कहाँ हो ? बाटो कुन हो ? आप्mनो बाटो आफैँले निर्माण गर्नु जरुरी छ । सत्सँग नै एउटा बाटो निर्माणको थालनी हो । निस्वार्थकार्य बाटो निर्माणको थालनी हो । कर्म गर फलको आश नगर भन्ने गीताको सन्देश हो ।
ज्ञानको उदात्तभावले दिव्यचक्षु खुल्छ । चर्म चक्षुले यथार्थ देख्दैन । चर्मचक्षु दिव्यचक्षु होइन । ‘असतो मा सत् गमय, तमसो मा ज्योर्तिगमय, मृत्यो मां अमृतम् गमय’ भनेको त्यही हो । अर्थात् असत्यलाई सत्यतिर, अन्धकारलाई उज्यालोतिर, मृत्युलाई अमरतातिर लग भनेको हो । आत्मज्ञानी पुरुषले ईश्वरसँग साक्षात्कार गर्न सक्छ । सच्चिदानन्द स्वरूप, पूर्ण ब्रहृम परमात्मा परमेश्वर आफैंभित्र हुनुहुन्छ । चित्स्वरूपबाट हामी चलायमान हुन सक्छौं । ईश्वरको अस्तित्व जीवबाट मेटिँदा ऊ मुढ बन्न पुग्छ ।
नश्वर शरीर तुरुन्तै ढल्छ । सत् चित् र आनन्द स्वरूपले ईश्वर मानव शरीरमा लुकेर बसेको हुन्छ । तपमा रहने व्यक्ति सत्पुरुष हो । त्यसलाई धार्मिक भनिन्छ । मानव देह नै धर्मको अभिव्यक्ति हो, पुण्यको अभिव्यक्ति हो । धर्म, पुण्य सञ्चितिविना मानव देह प्राप्त नै हुँदैन । सत् ज्ञानको फल तत्कालै प्राप्त हुन्छ । विज्ञानझैँ तुरुन्तै त्यसको असर पनि मिल्छ अर्थात् परिणाममुखी हुन्छ । रेडक्रस जस्ता दिवसहरूको सार्थकता यही हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच