कहिलेसम्म गर्ने मतदाताले आश्वासनका लागि मतदान !

Read Time = 5 mins

-रामचन्द्र रायमाझी
पाल्पा । स्थानीय तह निर्वाचन आउन अब ४ दिन मात्रै बाँकी छ । दलहरुले विभिन्न नारा लिएर जनताको घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । उनीहरु भोट आफ्नो पोल्टामा पार्न गाउँ पसेका छन् । यतिबेला मुलुक चुनावमय भएको छ । तर, गएको निर्वाचनमा मत लिएर गएकाहरु नफर्केको भन्दै केही मतदाताहरु भने आक्रोशित भएका छन् ।

तिनाउ गाउँपालिका कचलकी मिना बगाले स्थानीय तहको निर्वाचन नजिकिएसँगै आँगनमा भोट माग्न आउनेहरूदेखि आजित हुनुहुन्छ । पाँच वर्ष पहिले नेताहरूले दिलाएको झुटा आश्वासन सम्झदै उहाँ भन्नुहुन्छ ‘दुई÷तीन दिन भयो, भोट माग्न आउनेहरुको ओइरो लाग्छ, आश्वासन सुन्नमै दिन बित्छ । जसलाई देखे पनि रिस मात्रै उठ्छ ।’ मिनाको मात्रै होइन उहाँका छिमेकी बलबहादुर बगालेको घरमा पनि निहुँ नेताहरु मत माग्न आउने गरेका छन् । ‘चुनावका बेला यसरी घर–घर धाउनेहरू जितेपछि कता हराउँछन् होला ?’ उहाँको मनमा प्रश्न खेल्छ ।

पाँच वर्ष अघिको आश्वासन पूरा नभएकाले यो पटक बगालेलाई भोट हाल्न मन छैन । ‘नेता, पार्टी सबैदेखि मन मरिसक्यो । यिनीहरू सबै झुटा लाग्छन् । भोट दिएर नी के गर्नु,’ बगालेले भन्नुभयो । अघिल्लो पटक भोट माग्न आउनेले सडक बनाउँछु,, रोजगारी दिन्छु, खानेपानी घरमै पु-याउन्छु भन्ने बाँचा गरे । सोही अनुसार टोलवासीले एकछापे भोट सूर्यमा हाले । भोट हालेकाले चुनाव पनि जिते । त्यसपछि टोलमा फर्किएर गएनन् । जनप्रतिनिधिले चुनावी बाँचा भुलेको तितो अनुभव उहाँसँग छ । त्यसैले उहाँ भोट दिएर केही नहुने ठान्नुहुन्छ । तानसेन जैसी चौपारीका बलबहादुर विकको पनि गुनासो उस्तै छ । लामो समयदेखि जैसीचौपारीमा बस्दै आउनुभएका उहाँले निर्वाचनका बेला लालपूर्जा पाउने आश्वास पाउने गरेको भए पनि अहिलेसम्म पाउन नसकेको बताउनुहुन्छ । तीन पुस्तादेखि बसोबास गर्दै आउनुभएका उहाँले अहिलेसम्म लालपुर्जा पाउन सक्नुभएको छैनन् । ‘हरेक निर्वाचनमा नेताहरु आएर लाजपुर्जा दिन्छौं भन्दै भोट माग्नु हुन्छ,तर जितेपछि भने न लालपुर्जा दिनुहुन्छ, नत टोलमा फर्केर आउनुहुन्छ’ विकले भन्नुभयो ।

गुल्मी इस्मा २ ढाँडाका टेकबहादुर कुमाललाई वैशाख ३० को निर्वाचनमा कसलाई मत दिनेभन्दा पनि खेतीपाती लगाउने र स्याहार्ने कामकै चिन्ता छ । उहाँ भन्नुहन्छ,‘जसले जिते पनि गाउँको विकास गर्ने होइनन् । कुर्सी हात पार्न होडबाजी गरेर अनेक नारा बोकेर चुनावका बेला गाउँ आउँछन् । हामी त किसानी मान्छे आफ्नो काम ग¥यो, बस्यो ।’ भाषाण भन्दा पनि विकास गर्ने, जनताका लागि सुविधा दिने जनप्रतिनिधिलाई मतदान गर्ने चाहना रहेको उहाँले बताउनुभयो । ‘गाउँमा खानेपानी, बाटो तथा स्वास्थ्यको अवस्था राम्रो छैन । पहिलेको जनप्रतिनिधिले राम्रो काम गरेनन् । उनीहरु जितेपछि गाउँसम्म फर्केर आएनन्’ ढाँडाकै विर सारुले भन्नुभयो ‘धेरै पटक भोट हालियो तर सबै आफैँ बन्ने मात्र काम गरे । टोलको, वडाको काम कसैले गरेनन् ।’ उहाँ अब भने पार्टीलाई भन्दा पनि मान्छे हेरेर भोट हाल्ने सोचमा हुनुहुन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?