घरदैलोमा रहेका वडाध्यक्षका उम्मेदवारलाई विष दिइएको आरोप

Read Time = 4 mins

प्रकाश मैनाली/हिटा
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका-११ का वडाध्यक्ष पदका उम्मेदवार र दुई सदस्यहरू आइतबार मिठाई खाएपछि बिरामी परेका छन् । घरदैलो गर्नेक्रममा मिठाइ खाएपछि उहाँहरू बिरामी पर्नुभएको थियो । बिरामी भएपछि उहाँहरूलाई तत्काल अस्पतालमा लगिएको थियो । तर, सर्लाहीमा उपचार हुन नसकेपछि उहाँहरूलाई वीरगञ्ज रिफर गरिएको थियो । माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएका शेख इस्तिहारसहित दुई सदस्य उम्मेदवार बिरामी परेको सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीन पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘एक वडाध्यक्ष र दुई सदस्यका उम्मेदवार बिरामी भएका छन् । उहाँहरूलाई विष दिइएको चिकित्सकको अनुमान छ ।’
एसपी पोखरेलले यो विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको हिमालय टाइम्सलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरूले आइतबार घरदैलोको क्रममा कहाँ कहाँ के के खानुभयो ? कहाँ जानुभयो भन्ने विषय हाम्रो अनुसन्धान सुरु भएको छ ।’

यसैबीच, सो घटनालाई लिएर नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् । वडाध्यक्षका उम्मेदवारलाई सुनियोजित रूपमा बिष खुवाइएको उनीहरूको आरोप छ । उनीहरूले आइतबार दिउँसो हरिवनस्थित राजमार्ग क्षेत्रमा टायर बालेर नाराबाजीसहित प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण दुई घण्टा अवरुद्ध भएको राजमार्ग साँझ प्रहरीले खुलाएको थियो ।

यता, माओवादी केन्द्र हरिवनले भने विष सेवन गराउँदा वडाध्यक्ष पदका उम्मेदवार इस्तिहारसहित आठजना बिरामी परेको दाबी गरेको छ । माओवादी केन्द्र हरिवनका नगर कमिटी अध्यक्ष अर्जुन पन्तले विज्ञप्तिमार्फत यस्तो दाबी गर्नुभएको हो । गम्भीर अवस्था हुनुभएका वडाध्यक्ष पदका उम्मेदवार इस्तिहार र वडा सदस्य पदका उम्मेदवार ओमप्रकाश साहलाई हरिवनस्थित स्वाभिमान अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगंज रेफर गरिएको छ । वडाध्यक्षका उम्मेदवार इस्तिहार र वडा सदस्यका उम्मेदवार साहको आइसियुमा उपचार चलिरहेको पार्टी नगर कमिटीका अध्यक्ष पन्तले बताउनुभयो । अन्य ६ घाइतेको हरिवनमै उपचार चलिरहेको उहाँको भनाइ छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र अहिल्यै यकिन विवरण भन्न नसकिने जनाएको छ । हरिवन प्रहरीले शंकास्पद व्यक्तिहरूमाथि अनुसन्धान सुरु भइसकेको बताएको छ ।

प्रहरीले भन्यो- अपरिचितले दिएको नखानू
सर्लाहीको हरिवन नगरपालिकामा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार र दुईजना सदस्यका उम्मेदवारलाई विष दिइएको घटनापछि प्रहरीले अपरिचितले दिएको नखान उम्मेदवार तथा कार्यकर्ताहरूलाई आग्रह गरेको छ ।

नेपाल प्रहरीले आइतबार एक सूचना जारी गर्दै प्रचारप्रसारको क्रममा अपरिचितले दिएको सगुन खाँदा कोही बेहोस हुने र कोही बिरामी पर्ने गरेको भन्दै यस्ता घटनाबाट सुरक्षित रहन आग्रह गरेको छ । प्रहरी प्रवक्ता एसएसपी विष्णकुमार केसीले सूचना जारी गर्दै कुनै समस्या भए प्रहरीलाई सूचना दिनसमेत आग्रह गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?