गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भोट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्रोशित

Read Time = 4 mins

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका बागी उम्मेदवारलाई भोट माग्नुभएको छ । सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गर्न लागेको चुनावी सभा सम्बोधन गर्न कैलाली पुग्नुभएको प्रचण्डले कैलारी गाउँपालिकामा उपप्रमुखमा बागी उम्मेदवारी दिनुभएकी लक्ष्मी सत्गौवा थारुलाई सोमबार भोट माग्नुभएको हो ।

सोमबार कैलारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कांग्रेसले भित्रभित्रै गठबन्धन विरोधी क्रियाकलाप गरेको रिपोर्ट आफूसमक्ष आएको भन्दै त्यसले तालमेलमा बाधा पुर्‍याउन सक्ने आशंकासमेत व्यक्त गर्नुभयो । उहाँले कांग्रेसको गतिविधिले गठबन्धनको भरोसा नभएको भन्दै आफ्नै बलबुत्तामा चुनाव लड्नसमेत आफ्ना उम्मेदवारलाई निर्देशन दिनुभयो । सोही क्रममा उहाँले कैलारी गाउँपालिकाकी उपप्रमुखलाई उहाँले भोट माग्नुभएको हो ।

पाँचदलीय गठबन्धनको सहमतिअनुसार कैलारी गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको छ । माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुले बागी उम्मेदवार दिनुभएको थियो । गठबन्धनको उम्मेदवारविरुद्ध बागी दिएको भन्दै उहाँलाई कारबाही गरिएको थियो । तर सोमबार भने उहाँले कारबाहीमा परेकी सत्गौवा थारुलाई अत्यधिक मतले जिताउन सार्वजनिक रूपमै अपिल गर्नुभयो ।

‘गठबन्धनमा कांग्रेसको भूमिका राम्रो नदेखिने संकेत देखिएको छ,’ उहाँले भन्नुभयो, ‘उसले ठाउँठाउँमा बागी उम्मेदवार खडा गरेर चुनाव जिताउने प्रयत्न पनि गरिरहेको छ, त्यसैले कैलारी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षलाई नै भोट दिएर जिताउन आग्रह गर्दछु,’ उहाँले भन्नुभयो, ‘कांग्रेसको एक स्थानीय नेतासँग पनि मेरो कुरा भयो । म र प्रधानमन्त्री देउवासँगै आएका छौँ, उहाँसँग कुरा गरेर कांग्रेसले जसरी उम्मेदवारी दिएको छ, खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्दछ, हाम्रा उम्मेदवारलाई विजय गराउन अपिल गर्दछु ।’

उहाँले अझै गठबन्धन क्लियर नभएको बताउँदै आफूहरूले गठबन्धनको मर्मअनुसार उम्मेदवारी दिएका उम्मेदवार र प्राविधिक कारण स्वतन्त्र उम्मेदवारी दिन पुगेका आफ्ना उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन अपिलसमेत गर्नुभयो । कैलारी गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पाउने सहमति भएको थियो । कांग्रेसले पनि अध्यक्षमा बागी उम्मेदवारी दिन लगाएको छ ।

प्रचण्डको यस्तो अभिव्यक्ति पछि सत्तारुढ गठबन्धनमा तिक्तता आउन सक्ने देखिएको छ। आजै धनगढीमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?