गठबन्धनका उम्मेदवारलाई चुनौती भएका स्थानमा पुगेर भोट माग्दै देउवा

Read Time = 6 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन दलको चुनावी ‘कमान्डर’ बनेर देश दौडाहमा हुनुहुन्छ । चुनावी अभियानको क्रममा गठबन्धन दलका उम्मेदवारहरूलाई मत दिएर विजयी गराउन उहाँले आग्रह गर्दै आउनु भएको छ ।

यही २१ वैशाखयता देउवा गठबन्धनका उम्मेदवारहरूलाई मत माग्न प्रदेश १ को राजधानी विराटनगर पुग्नुभएको थियो । त्यस यता देउवा दिनहुँ चुनावी अभियानमा हुनुहुन्छ । देउवा पाँच दलीय गठबन्धनको चुनावी सभामा प्रमुख वक्ताको बन्दै आउनु भएको छ ।

२२ वैशाखमा उहाँले प्रमुख वक्ताको हैसियतबाट चितवनको भरतपुरमा गठबन्धन दलको संयुक्त चुनावी सभालाई सम्बोधन गर्नुभयो ।

गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार रेणु दाहाल र उपप्रमुख पदका उम्मेदवार चित्रसेन अधिकारीलाई मत दिएर विजयी बनाउन उहाँको आग्रह थियो ।

त्यहाँ देउवा दाहाल र अधिकारीलाई मत माग्न मात्र भने जानुभएको थिएन । दाहालविरुद्ध बागी उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेललाई फकाउन पनि जानुभएको थियो । तर, पौडेलले देउवासँग भेटसम्म गर्न चाहानुभएन ।

चितवनमा यसरी एकातिर गठबन्धनका उम्मेदवारहरूलाई मत माग्न र अर्कातिर पौडेलले फकाउन जानुभएको थियो ।

यसपछि भने उहाँले २३ वैशाखमा सङ्घीय राजधानी काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित गठबन्धन दलको चुनावी सभालाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकामा सिर्जना सिंह र रामेश्वर श्रेष्ठलाई मत माग्नुभयो ।

सिंह प्रमुख र श्रेष्ठ उपप्रमुख पदमा गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएको छ ।

यसपछि देउवा २४ वैशाखमा गण्डकी प्रदेशको तनहुँमा पुग्नुभयो । वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला त्यहाँ गठबन्धनका उम्मेदवारहरूलाई देउवाले मत माग्नुभयो ।

त्यहाँ पार्टीको केन्द्रीय अनुशासन समितिले कारबाही गरेका नेता गोविन्दराज जोशीले नेकपा एमालेसँग निर्वाचनमा तालमेल गर्नुभएको छ। जसका कारण निर्वाचनमा जित्न गठबन्धनका दलका उम्मेदवारलाई चुनौती थपिएपछि देउवा त्यहाँ मत माग्न पुग्नुभएको हो ।

सोही दिन देउवा मधेस प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिका पुग्नुभयो । त्यहाँ गठबन्धनको तर्फबाट उपमहानगरपालिका प्रमुख जनता समाजवादी पार्टीका लालकिशोर साह हुनुहुन्छ ।

कांग्रेसकै उपमहानगरपालिकाको सभापति मनोजकुमार साह पदबाट राजीनामा दिँदै प्रमुख पदका स्वतन्त्र उम्मेदवार हुनुभएको छ । साहका कारण त्यहाँ गठबन्धनका उम्मेदवार साहलाई निर्वाचन जित्न चुनौती थपिएको छ ।

त्यहाँ मत मागेपछि भने प्रधानमन्त्री देउवा आइतबार गण्डकी प्रदेशको राजधानी पोखरा जानुभयो । पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट धनराज आचार्य उम्मेदवार हुनुहुन्छ ।

जहाँ गठबन्धन दलहरूबीच भएको तालमेलप्रति असन्तुष्ट हुँदा नेता विमलबहादुर कार्की बागी उम्मेदवार हुनुहुन्छ ।

कांग्रेसबाट बागी बन्नुभएका उहाँलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरी हटाएको छ । तर, उहाँका कारण गठबन्धन दलका साझा उम्मेदवार आचार्यलाई निर्वाचन जित्न चुनौती थपिएको छ । चुनौती भएपछि देउवा मत माग्न त्यहाँ जानुभएको हो ।

आज भने प्रधानमन्त्री देउवा धनगढी पुग्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साथ धनगढी पुग्नुभएको उहाँले गठबन्धनको उम्मेदवार नृपबहादुर वडलाई भोट माग्ने हुनु भएको छ ।

वडसँग यसअघि चुनावी प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच भएको थियो । यस पटक पनि हमाल प्रतिस्पर्धी हुनु हुन्छ । चर्को प्रतिस्पर्धा हुने आँकलन भएको त्यहाँ गठबन्धनका साझा उम्मेदवार वडलाई मत माग्न देउवा पुग्नुभएको हो ।

आजै देउवा गृहजिल्ला डडेल्धुरा पनि पुग्ने कार्यक्रम छ । निवर्तमान कांग्रेस जिल्ला सभापति कर्ण मल्लले नेपाली कांग्रेस (विपी) ब्युँताएर नेकपा एमालेसँग तालमेल गरेपछि निर्वाचन जित्न कांग्रेस उम्मेदवारहरूमाथि चुनौती थपिएको छ ।

त्यहाँ गठबन्धन दलहरूबीच तालमेल पनि छैन । एक्ला एक्लै ‘मित्रवत् प्रतिस्पर्धा’ गर्ने भन्दै चुनावी मैदानमा छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार देउवा प्रधानमन्त्रीको रुपमा नभई कांग्रेस सभापतिको हैसियतमा चुनावी अभियानमा निस्किएका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?