कांग्रेसलाई ओलीको प्रश्न: किसुनजी र गणेशमानले हाँसेर पार्टी छाड्नु भएको थियो ?

Read Time = 4 mins

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले नेपाली कांग्रेस त्यसै नछाडेको बताउनु भएको छ । उहाँले कांग्रेस बिग्रिएका कारण नेताद्वयले जीवनको अन्तिमकालमा पार्टी छाडेको बताउनु भयो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा सोमबार आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै नेता नाच्दै हाँसेर पार्टीबाट ननिस्किएको बताउनु भयो ।

‘कृष्णप्रसाद भट्टराई (किसुनजी) ले यत्तिकै कांग्रेस पार्टी छाडेका होइनन् । जीवनको उत्तरार्द्धकालमा पार्टी छाड्नुभयो । नेता गणेशमान सिंहले पनि यत्तिकै पार्टी छाड्नु भएको होइन । २००३ सालमा भद्रगोल जेल तोडका नेताले यत्तिकै हाँस्दै हाँस्दै, नाच्दै नाच्दै पार्टी छाड्नुभयो होला ?’, ओलीले भन्नुभयो ।

उहाँले बिपी कोइराला अहिले भएको भए पनि पार्टी छाड्ने थिए भन्नुभयो। यस्तै उहाँले एमाले नै देश बनाउने पार्टी रहेको बताउनु भयो । एमाले नीति कार्यक्रम, योजना र देश विकासको संकल्प भएको पार्टी भन्दै ओलीले पोखरावासीसँग मत माग्नुभयो ।

यसैगरी एमाले अध्यक्ष ओलीले पाँचदलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आरोप लगाउनु भयो ।

‘पशुपतिमा फूलपाती लिएर गयौं भने फूलपातीको टोकरी बाँदरले खोजेर लान सक्छ,’ उहाँले भन्नुभयो, ‘त्यहाँ त एउटा बाँदर आउँछ । यहाँ (चुनावमा) पाँचवटा छन् । हामी सतर्क हुन जरुरी छ । धाँधलीबाट परिणामलाई तलमाथि हुन दिनुहुँदैन ।’

गठबन्धनले धाँधली गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन उहाँले कार्यकर्तालाई सुझाउनु भयो । ‘पाँचदलीय गबठन्धन भोटले जित्ने होइन । भोटले हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन् । के के गर्न सकिन्छ नचाहिँदो त्यही गर्छन्,’ उहाँ भन्नुहुन्छ ‘गठबन्धनमा आफ्ना मात्रै मान्छेलाई प्रवेश गर्न दिने नीति छ । एमालेलाई पार्टी मात्रै होइन लोकतन्त्र जित्ने कुरामा छौं । हामी जनताले दिएको मतबाट जित्ने पक्षमा छौं । कसैले शान्ति सुब्यवस्थामा खलल पार्न खोज्छ भने, धाँधली गर्न खोज्छ भने हामीले रोक्नुपर्छ । बाकस एकछिन पनि आँखाबाट ओझेलिन दिनु हुँदैन ।’

उहाँले निर्वाचन आयोग र प्रशासनलाई भयरहित वातावरणमा तटस्थ भएर चुनाव गर्न सुझाउनु भयो । उहाँले गठबन्धन झाडीमा जन्मिएको भन्दै कसैले साथ नदिने टिप्पणी गर्नुभयो। ‘परमादेशबाट आएको गठबन्धन हो । कसले फालेको हो थाहा छैन । यस्तो गठबन्धनलाई कसैले साथ दिन्छ भन्ने लाग्दैन,’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?