म्याड्रिड डर्बीमा एट्लेटिको विजयी

Read Time = 3 mins

म्याड्रिड । स्पेनिस ला लिगा फुटबलको रोचक प्रतिस्पर्धामा एट्लेटिको म्याड्रिडले शहरी प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई १-० गोलअन्तरले पराजित गरेको छ । यसअघि नै लिगको च्याम्पियन बनिसकेको रियललाई हार चखाउन एट्लेटिको सफल भएको हो । एट्लेटिकोको जितमा यान्निक कारास्कोले पेनाल्टीमार्फत् निर्णायक गोल गर्नुभएको थियो । जेसस भालेजोले म्याथिअस कुन्हालाई फल गरेपछि पाएको पेनाल्टीमा उहाँले खेलको ४०औँ मिनेटमा निर्णायक गोल गर्नुभएको थियो ।

यो जितसँगै एट्लेटिको ३५ खेलबाट ६४ अंक जोडेर चौथो स्थानमा यथावत् रहेको छ । एट्लेटिको दोस्रो स्थानको बार्सिलोनासँग पाँच अंकले तथा तेस्रो स्थानको सेभियासँग एक अंकले पछि छ । शीर्षस्थानको रियलसँग १७ अंकले पछि छ । पराजित रियल ३५ खेलबाट ८१ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ला लिगामा रियलको यो चौथो हार हो ।

यस्तै भिल्लारियल र सेभियासँगै स्पान्योल र ओसासुनाले समान एक/एक गोल तथा गेटाफे र रायो भालेकानोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यता फ्रेन्च लिगा वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ट्रोएससँग दुई÷दुई गोलको बराबरी खेलेको छ । पिएसजीका लागि मार्किन्हस र नेमारले गोल गर्दा ट्रोएसका इके उग्वो र फ्लोरिएन टारडिउले बराबरी गोल फर्काउनुभएको थियो ।

खेलको छैटौँ मिनेटमा मार्किन्हसको गोलबाट पिएसजीले अग्रता लिएको थियो । २५औँ मिनेटमा नेमारले पेनाल्टीमार्फत् गोल गर्दै पिएसजीको अग्रता दोब्बर पार्नुभयो । ३०औँ मिनेटमा इके उग्वोल र ४९औँ मिनेटमा फ्लोरिएन टारडिउले पेनाल्टीमा गोल गर्दै खेललाई दुई÷दुई गोलको बराबरीमा ल्याउनुभयो ।

यो बराबरीसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३६ खेलबाट ८० अंक पुगेको छ । ट्रोएस ३७ अंक जोडेर १५औँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?