हलिउड चलचित्रले दुई करोड कमाउँदा षट्कोण दर्शक नपाएर उत्रियो

Read Time = 2 mins

काठमाडौं । नेपालमा नेपाली चलचित्रभन्दा विदेशी चलचित्र हेर्ने दर्शक बढी छन् भन्दा फरक नपर्ला । यसको उदाहरण पछिल्लो केही महिनायताको समयलाई दिन सकिन्छ । नेपाली चलचित्र पनि हलमा प्रदर्शन भइरहेका छन् र विदेशी चलचित्र पनि । तर दर्शक विदेशी चलचित्रमै ओइरिरहेका छन् ।

गत शुक्रबारदेखि दुई नेपाली र एक विदेशी चलचित्र प्रदर्शनमा आए । नेपाली चलचित्रतर्फ ‘लक्का जवान’, ‘षट्कोण’ र हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज–२’ । तीन चलचित्रमध्ये हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज : इन द मल्टिभर्स अफ म्याडनेस’ले बक्सअफिसमा राम्रो व्यापार गरेको छ । साम रेइमी निर्देशित यस चलचित्रले २ दिनमा २ करोड ११ लाख कलेक्सन गरेको हो ।

काल्पनिक संसारमा प्रवेश गरेपछि डक्टर स्ट्रेन्जले खेप्नुपर्ने चुनौती दोस्रो सिरिजको कथावस्तु हो । यस चलचित्रमा बेनेडिक्ट कम्बरब्याच, एलिजाबेथ ओल्सेनलगायत कलाकारको अभिनय छ ।

विदेशी चलचित्रले नेपाली बजारमा राम्रो व्यापार गरिरहेको बेला सँगै प्रदर्शनमा आएका दुई नेपाली चलचित्रको व्यापार भने दयनीय छ ।
नेपाली चलचित्रको कमजोर ओपनिङबीच चलचित्र ‘षट्कोण’लाई मल्टिप्लेक्स हलबाट हटाइएको छ । कर्मा अभिनित यस चलचित्रलाई नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सको सम्पूर्ण हलबाट तीन दिनमै हटाइएको छ । त्यसैगरी, एफक्युब सिनेमाज, क्युज सिनेमाज, वान सिनेमाज र बिग मुभिजबाट यो फिल्म हटेको छ ।

‘लक्का जवान’ले भने केही शो पाइरहेको छ । क्युएफएक्स चेनले दिनमा यो चलचित्रलाई ६ शो दिएको छ । यो चलचित्रमा पनि दर्शकको संख्या घट्दै गइरहेको देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?