हसलमार्कलाई ट्रायथलोनको उपाधि

Read Time = 4 mins

पोखरा । स्वीडेनका जोन हसलमार्कले पहिलो हिमालयन एक्सट्राइ ट्रायथलोनको उपाधि जित्नुभएको छ । ३.८ किमी पौडी, १८० किमी साइक्लिङ र ४० किमी दौड पूरा गर्नुपर्ने कठिन मानिने साहसिक हिमाली दौड हसलमार्कले समग्रमा १६ घण्टा आठ मिनेट १२ सेकेन्डमा पूरा गर्नुभयो । उहाँले फेवातालमा सम्पन्न ३.८ किमी पौडी सक्न ४८ मिनेट ६ सेकेन्ड लगाउनुभएको थियो । यस्तै १८० किमी साइक्लिङ सक्न ६ घन्टा एक मिनेट ३१ सेकेन्ड तथा ४० किमी दौड पूरा गर्न नौ घन्टा १२ मिनेट ४३ सेकेन्ड समय लगाउनुभएको थियो ।

त्यस्तै चेक गणतन्त्रका फिलिप सोल्क दोस्रो हुनुभयो । उहाँले १६ घण्टा २९ मिनेट २६ सेकेन्डमा दूरी पूरा गर्नुभयो । चेक गणतन्त्रकै पिटर भाब्रोसेकले १६ घण्टा ४० मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थानमा रहनुभयो ।

खेलाडीहरूले प्रतिस्पर्धामा लगाएको समयबाहेक उनीहरूले पौडीबाट साइक्लिङ र साइक्लिङबाट दौडिने स्थानमा पुग्ने समय पनि जोडिने गर्छ । बिहान ४ बजे पोखराको फेवातालबाट प्रतियोगिता सुरु भएको थियो । जहाँ खेलाडीहरूले ३.८ किमीको दूरी पौडेका थिए ।
त्यसपछि १८० किमीको साइकल दौड सुरु भएको थियो । साइकल रेस पोखरा भूपि शेरचन राजमार्ग हुँदै बागलुङको कालिका मन्दिर र त्यहाँबाट फर्केर पोखरा २५ हेम्जा मिलनचोक हुँदै कास्कीको माछापुच्छ्रे लुम्रेमा पुगेर टुंगिएको थियो ।

यसैगरी नेपालबाट सहभागी सन्तोष राईले २० घन्टा ५८ मिनेट १० सेकेन्डमा पूरा गर्दै १०औँ स्थानमा रहनुभयो । रेसमा सहभागी नेपाली महिला खेलाडी सोनी गुरुङ केही मिनेट ढिला हुँदा मर्दी हिमालको चार हजार मिटरको उचाइ छुन असफल हुनुभयो ।

‘एक्स्ट्रिम वल्र्ड टुर ट्राइयथोलन’ को साहसिक ट्रायथलोनअन्तर्गतको यो ‘हिमालयन एक्सट्राई’ नेपालमा पहिलोपटक सुरु गरिएको हो । प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योञ्जनका अनुसार प्रतियोगितामा विश्वका १७ देशका प्रतिस्पर्धीहरूले भाग लिएका थिए । उनीहरूका ३० जना सहयोगी गरी ४७ जना पोखरा आएका थिए । उनीहरू प्रतियोगिताका लागि करिब एक साता पोखरा रहेर अभ्याससमेत गरेका थिए । सन् २००३ बाट क्यानाडाबाट सुरु भएको ‘एक्स्ट्रिम वल्र्ड टुर ट्राइयथोलन’ युरोपसहित अमेरिका गरी १७ विभिन्न देशमा हरेक वर्ष आयोजना हुने गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?