महिलाले कमाण्ड गरिरहेको मतदान केन्द्र

Read Time = 2 mins

गोरखा । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा गोरखाको एक मतदान केन्द्र महिला कर्मचारीहरूबाट मात्रै सञ्चालन हुँदैछ ।

गोरखा नगरपालिका(६ स्थित बालमन्दिर मावि छहरेको मतदान केन्द्र नमुनाको रूपमा महिला कर्मचारीबाट मात्रै सञ्चालन गरिने निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रबीलाल सुवेदीले जानकारी दिनुभयो ।

उक्त मतदान केन्द्रमा ९ सय ८० जना मतदाता रहेका छन् । त्यहाँ मतदान अधिकृतदेखि सुरक्षाकर्मी सबै कर्मचारी महिला मात्रै रहनेछन् ।

उक्त मतदान केन्द्रमा ५ जना महिला कर्मचारी खटाइएको छ । जसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईकी प्रमुख वरिष्ठ कृषि अधिकृत पूर्ण ढुंगाना मतदान अधिकृत र गोरखा नगरपालिकाकी अधिकृत जनुका कुँवर सहायक मतदान अधिकृतको रूपमा हुनुहुन्छ ।

यस्तै, जिल्ला अदालतकी नायब सुब्बा सुष्मा अधिकारी, जिल्ल प्रशासन कार्यालयकी नायब सुब्बा सिर्जना श्रेष्ठ र जिल्ला अदालतकी कालिका वली पनि सोही मतदान केन्द्रमा खटिने भएका छन् ।

सुरक्षाकर्मीका लागि उक्त मतदान केन्द्रमा प्रहरी सहायक निरीक्षक सिर्जनाकुमारी सेनको नेतृत्वमा आठ जना महिला प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जसमा तीन जना नेपाल प्रहरी र पाँच जना म्यादी प्रहरी रहेका छन् ।

महिलाले मात्रै सञ्चालन गरेको नमुना मतदान केन्द्रको यो अभ्यासले समाजमा सकारात्मक सन्देश प्रवाह हुने मतदान अधिकृत ढुंगानाको तर्क छ
अश्विनी दानी /न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?