दिल्लीको प्लेअफ सम्भावना कायमै

Read Time = 3 mins

नयाँदिल्ली । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा राजस्थान रोयल्सलाई आठ विकेटले हराउँदै प्लेअफको सम्भावना कायमै छ । जितका लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १८.१ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । दिल्लीको जितमा मिचेल मार्शले ६२ बलमा पाँच चौका र सात छक्कासहित ८९ रन बनाउनुभयो । यस्तै डेविड वार्नरले ४१ बलमा पाँच चौका र एक छक्कासहित ५२ रन थप्नुभयो । राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले एक/एक विकेट लिनुभयो ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनाएको थियो । राजस्थानका रविचन्द्रन आश्विनले ३८ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ५० रन बनाउनुभयो । यस्तै देवदत्त पाडिक्कलले ३० बलमा ६ चौका र दुई छक्कासहित ४८ रनको योगदान दिनुभयो ।

दिल्लीका मिचेल मार्शले तीन ओभरमा २५ रन खर्चेर दुई विकेट लिनुभयो । एनरिच नोर्किया र चेतन सकारियाले दुई/दुई विकेट लिनुभयो । दिल्ली १२ खेलमा ६ मा जित र ६ मा हारसहित पाँचौँ स्थानमा छ । दिल्लीले बाँकी दुई खेल जितेको खण्डमा १६ अंक हुनेछ । नेट रनरेटमा उच्च रहेमा र अन्य टोलीको नजिता आफू अनुकूल आएमा अन्तिम चारमा रहेर दिल्लीले प्लेअफ खेल्न सक्नेछ । दिल्लीले अब १६ मेमा पञ्जाब र २१ मेमा मुम्बईसँग खेल्नेछ ।

राजस्थान भने १२ खेलमा सातमा जित र पाँचमा हारसहित तेस्रो स्थानमा छ । बाँकी दुई खेल जित्दा १८ अंकका साथ सोझै प्लेअफमा पुग्नेछ । राजस्थानले १५ मेमा लखनउ सुपर जायन्ट्स र २० मेमा चेन्नाई सुपर किंग्ससँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?