एक खर्ब १७ अर्ब पुनर्कर्जा प्रदान

Read Time = 5 mins

काठमाडौं । केन्द्रीय बैंकले सहुलियतदरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७८ चैतमा एक खर्ब १६ अर्ब ९० करोड लगानीमा रहेको छ । २०७८ चैतसम्ममा एक लाख ४५ हजार छसय ९३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब १६ अर्ब छ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ । सोमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ५९ हजार नौ सय ३१ ऋणीलाई प्रवाह भएको एक खर्ब ३८ अर्ब ८४ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८२ हजार नौ सय २६ महिला उद्यमीलाई प्रवाह भएको ७३ अर्ब ५२ करोड कर्जा रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार आठ सय ३६ ऋणीको तीन अर्ब ६९ करोड कर्जा बक्यौता रहेको छ । व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ बमोजिम कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ चैतसम्ममा एक अर्ब १३ करोड स्वीकृत भएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ को नौ महिनामा वाणिज्य बैंकहरूको २२ खर्ब ९९ अर्ब २२ करोड र अन्य वित्तीय संस्थाको दुई खर्ब ६९ अर्ब ६८ करोड गरी कुल २५ खर्ब ६८ अर्ब ९१ करोडको अन्तर-बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकको आठ खर्ब ७५ अर्ब ५० करोड र अन्य वित्तीय संस्थाको एक खर्ब ५९ अर्ब ४२ करोड गरी कुल १० खर्ब ३४ अर्ब ९२ करोड अन्तरबैंक कारोबार भएको थियो ।
त्यस्तै कुल सात सय ५३ स्थानीय तहमध्ये २०७८ चैतसम्म सात सय ५० तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । २०७७ चैतसम्म सात सय ५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए ।

इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या २०७८ चैतमा एक सय २७ रहेको छ । जसमध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या भने २०७८ असारमा १० हजार छ सय ८३ रहेकोमा २०७८ चैतमा ११ हजार तीन सय ९८ पुगेको छ ।

केन्द्रीय बैंकले तरलता व्यवस्थापनतर्फ चालु आव २०७८/७९ को नौ महिनामा रिभर्स रिपोमार्फत् २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत् ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब तरलता प्रसोचन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् एक खर्ब नौ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत् एक खर्ब ९३ अर्ब ७५ करोड गरी कुल तीन खर्ब तीन अर्ब २९ करोड तरलता प्रसोचन भएको थियो । समीक्षा अवधिमा रिपोमार्फत् चार खर्ब १३ अर्ब पाँच करोड, सोझै खरिद उपकरणमार्फत् ५५ अर्ब ९२ करोड र स्थायी तरलता सुविधामार्फत् ५७ खर्ब ७३ अर्ब ७५ करोड गरी कुल ६२ खर्ब ४२ अर्ब ७२ करोड तरलता प्रवाह गरिएको बताइएको छ ।

समीक्षा अवधिमा बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) मा अमेरिकी डलर एक अर्ब ६८ करोड खुद खरिद गरी दुई खर्ब तीन अर्ब नौ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ७५ करोड खुद खरिद गरी तीन खर्ब २४ अर्ब ९२ करोड तरलता प्रवाह गरेको थियो । समीक्षा अवधिमा अमेरिकी डलर तीन अर्ब ५० करोड बिक्री गरी चार खर्ब १९ अर्ब १८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ४४ करोड बिक्री गरी चार खर्ब चार अर्ब ७० करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?