गठबन्धन गन्थन

रत्न प्रजापति
Read Time = 11 mins

सत्ता गठबन्धनका राजनीतिक दलहरूले चुनावका लागि पनि गठबन्धन गरेका छन् । उता प्रतिपक्षी दलहरूले पनि प्रत्यक्ष-अप्रत्यक्षरूपमा चुनावी गठबन्धन गरेकै छन् तर यो गठबन्धनप्रति जनतामा आशंका छ । स्वयं गठबन्धनभित्र पनि गडबडी छ । सत्तास्वार्थले प्रेरित यो गठबन्धन देशका लागि घातक छ भन्ने एकथरिको विश्लेषण छ । यो विश्लेषणलाई पूरै गलत हो भन्न सकिने बलियो आधार छैन । बरू सही हो भन्ने धेरै आधार छन् । नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’मा ‘गठबन्धन’लाई ‘कुनै काम-कुराका लागि एक भएर मिल्ने काम, परस्परको मिलेमतो’ भनेर अथ्र्याइएको छ ।

विशेषगरी राष्ट्रिय नीतिनिर्माणदेखि कार्यान्वयनसम्म यस्तो गठबन्धनले सकारात्मक भूमिका निर्वाह गर्छ भन्ने हाम्रो विश्वास हो । त्यसैले स्थानीय अथवा राष्ट्रियस्तरका कामहरूमा पनि स्थानीय व्यक्ति, संघसंस्था र राजनीतिक दलहरूबीच असल नियतले यस्तो मिलेमतो भए समाज र राष्ट्र निर्माणको कामले सकारात्मक गति लिन्छ भन्ने आममान्यता पनि हो । खासगरी असल काम अर्थात् राम्रो उद्देश्यले यस्तो मिलेमतो गरिन्छ जसमा सबैको मत मिलेको हुन्छ अर्थात् सबै एक मत हुन्छन् । जहाँ मिलेर सल्लाह गरिन्छ, परामर्श गरिन्छ ।

समान विचार हुन्छ र मत मिल्छ । फरक मत र फरक विचार हुन्नन् । फरक मत र फरक विचारलाई मिलाएर नै एकमत बनाइन्छ र मिलेमतो गरिन्छ । तर यस्तो मिलेमतो अर्थात् गठबन्धनले सबैलाई हित नै गर्छ भन्ने ग्यारेन्टी चाहिँ हुँदैन । पछिल्लो समय राजनीतिकवृत्तमा गठबन्धन निकै लोकप्रिय छ । गठबन्धनले निकै ठूलो महत्व पनि पाएको छ । यो स्थितिलाई नियाल्दा जनता खुशी हुनुपर्ने हो । राजनीतिक दलको गठबन्धनले जनता आश्वस्त हुनुपर्ने हो र जनताले चैनको सास फेर्नुपर्ने हो तर भइरहेको छ उल्टो ।
राजनीतिक दलको गठबन्धन देखेर जनता सशंकित हुन्छन्, तर्सिन्छन् । डराउँछन् र भयभीत हुन्छन् अनिष्टको आशंकाले । किनभने अहिलेको राजनीतिक गठबन्धन ‘कुनै कामकुराका लागि एक भएर मिल्ने काम, परस्परको मिलेमतो’ नभएर ‘कुनै स्वार्थ-सिद्धिका लागि गरिने आपसी साँठगाँठ’ भएको छ । नेपाली बृहत् शब्दकोशमा गठबन्धनको दोस्रो अर्थको रूपमा यसरी नै अथ्र्याइएको छ ।

सरकार बनाउन होस् अथवा चुनाव लड्नका लागि, राजनीतिक दलहरूले पहिलो होइन दोस्रो अर्थसँग मिल्ने गरी गठबन्धन गर्ने गरेका छन् अर्थात् कुनै स्वार्थ-सिद्धिका लागि आपसी साँठगाँठ गर्ने गरेका छन् । जुन साँठगाँठ आमनागरिकका लागि हितकर होइन हानिकारक छ, घातक छ । असल काम र राम्रो उद्देश्यले गठबन्धन हुने गरेकै छैन । राजनीतिक दलहरूको स्वार्थ-सिद्धिका लागि नै सिद्धान्त नमिल्ने, विचार नमिल्ने र व्यवहार नमिल्ने राजनीतिक दलबीच गठबन्धन हुनेगरेको छ ।

स्थानीय तह निर्वाचनमा हारबाट जोगिन र इज्जत जोगाउन सत्तासीन प्रमुख राजनीतिक दलहरूबीच नै यस्तो गठबन्धन भएको छ । यसो त अहिलेको सरकार नै गठबन्धन सरकार हो । यो सत्ता गठबन्धन सरकारले जितका लागि चुनावी तालमेल गरेको छ । जनताले बुझेको र बुझ्न अपरिहार्य के हो भने यो गठबन्धन जनताको हितका लागि भएको हुँदै होइन । सरकार टिकाउन र चुनावमा हारबाट जोगिनका लागि मात्रै यस्तो गठबन्धन गरिएको हो । यो गठबन्धनको उद्देश्य अपवित्र छ, घातक छ ।

चुनावपछि यो गठबन्धन आफसेआफ तोडिनेछ र राजनीतिक दलहरू आआफ्नो ध्रुवमा फर्किने छन् । दक्षिणी ध्रुव दक्षिणतिर र उत्तरी ध्रुव उत्तरतिर नै । त्यतिखेर गठबन्धन गरेका राजनीतिक दलहरूको न विचार मिल्नेछ न त मत नै । मिलेमतोको अर्थ नै एकाएक गायब हुनेछ । स्वार्थ मिलेरमात्रै तिनको मत मिलेको हो । अरू बेला एकले अर्कोलाई सत्तोसराप गर्ने र धारेहात लाउने दलहरूबीचको गठबन्धन नै विश्वका सातौंपछिको आठौं अथवा नवौं आश्चर्य हो । स्वार्थ–सिद्धिका लागि भएको यो गठबन्धनले जनतालाई केही दिँदैन ।

चुनावमा दुई चार सिट बढी जितेर पहिलो, दोस्रो वा तेस्रो दल बने पनि जनताको मनमा ती पहिलो, दोस्रो वा तेस्रो बन्न सक्दैनन् । चुनावका लागि भएको यो गठबन्धनको औचित्य चुनावपछि स्वतः समाप्त हुनेछ । त्यसपछि दलहरू फेरि पुरानै लयमा फर्कनेछन् र चुनावमा भएको हार र जितको नतिजालाई लिएर पनि एकले अर्कोलाई आरोप-प्रत्यारोप लाउन थाल्नेछन् ।

केवल स्वार्थ–सिद्धिका लागि मिलेका राजनीतिक दलहरूबाट जनताले कुनै कुराको अपेक्षा गर्नु नै व्यर्थ छ । यो गठबन्धन केवल चुनाव जित्नका लागि हो । चुनाव जितेर देश लुट्नका लागि हो । देश लुट्न उद्यत राजनीतिक दलका नेतालाई भोट दिएर चुनाव जिताउनु जनताको जित होइन ठूलो हार हुनेछ । अपवित्र गठबन्धनबाट चुनाव जित्ने नेताहरू देशका लागि भार हुनेछन् । अपवित्र गठबन्धनभित्र भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिने कुत्सित उद्देश्य निहित छ । सचेत नागरिक त्यो उद्देश्य पूरा हुन नदिनका लागि अझै सचेत हुनु जरुरी छ ।

चुनावी तालमेल गरेका राजनीतिक दलहरूले छुट्टाछुट्टै चुनावी घोषणापत्र जारी गरेका छन् । तर, अघिल्लो चुनावको घोषणापत्रका वाचाहरू नै पूरा नगरेको अवस्थामा अहिलेको वाचाले सचेत जनतामा कुनै प्रभाव नपार्ने निश्चित छ । तैपनि गठबन्धनकै बलमा चुनाव जित्ने आश राजनीतिक दलहरूले गरिरहेका छन् जुन अस्वाभाविक पनि होइन । किनभने जस्तोसुकै गएगुज्रेको भए पनि आफ्नो राजनीतिक आस्थाको दललाई चुनाव जिताउने प्रयत्न हरेक लम्पट कार्यकर्ताले गर्ने गरेकै छन् । राजनीतिक दल होइन, असल र देशका लागि आवश्यक नेता चिनेर भोट दिने स्वविवेकको निर्णय जनताले नगरेसम्म राजनीतिक दलहरूले यसरी नै जनतालाई भर्सेलामा पारिरहने छन् र देशलाई लुटिरहने छन् ।

यसो त पाँच दलीय सत्ता गठबन्धनले केन्द्रबाटै सहमति गरेर देशभर चुनावी तालमेल गर्ने निर्णय गरे पनि दल र नेताहरूको आ–आफ्नो कुत्सित स्वार्थले पूर्णरूपमा त्यस्तो तालमेल हुन सकेको छैन । तालमेल हुन नसक्दा बागी उम्मेदवारहरू खडा भएका छन् भने अन्य स्वतन्त्र उम्मेदवारले पनि तालमेलका उम्मेदवारलाई दरो चुनौती दिएका छन् ।

संविधान र लोकतन्त्र दिगो बनाउन गठबन्धन आवश्यक रहेको भनिए पनि यो भनाइभित्र सत्यता छैन । सत्य केचाहिँ हो भने पद, पावर र पैसाका लागि हो गठबन्धन । हरेक नेतालाई पद, पावर र पैसाको नशा लागेको छ, जुन कुनै हालतमा छोड्न सक्दैनन् र छोड्न चाहँदैनन् । यस्तो गठबन्धनबाट आमनागरिकले के अपेक्षा गर्ने र कस्तो अपेक्षा गर्ने ? गठबन्धन सरकारबाट अहिलेसम्म जनताका के कति आशा र अपेक्षा पूरा भए ? त्यसको लेखाजोखा यो स्थानीय तह निर्वाचनमै भए गठबन्धनमा जोडिएका राजनीतिक दलकै कारण देश थप बर्बाद हुनबाट जोगिनेछ ।

असल नियत र असल पात्रको अभावमा केवल स्वार्थ-सिद्धिका लागि भएको गठबन्धनले राजनीतिक दल र तिनका नेताप्रति नै अनास्था र असन्तुष्टि उत्पन्न गरेको छ । कसैलाई जिताउनकै लागि वा कसैलाई हराउनकै लागि भएको गठबन्धनको परिणामले जनता लाभान्वित हुन सक्दैनन् । गठबन्धनको बलमा जिताउने वा हराउने खेलले खराबको जित र असलको हार हुने सम्भावना प्रवल हुन्छ । यस्तो जित र हार दुवै देशका लागि घातक हुन्छ । सचेत नागरिक यो कुरामा थप सचेत हुनु जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?