धितोपत्र बजार पुँजीकरण ३४ खर्बभन्दा बढी

Read Time = 3 mins

काठमाडौं । २०७७ चैतमा २७१४.८ रहेको नेप्से सूचकांक २०७८ चैत मसान्तमा २४१५.३ पुगेको छ । २०७८ चैतमा धितोपत्र बजार पुँजीकरण ३४ खर्ब २६ अर्ब ११ करोड पुगेको छ । २०७७ चैतमा बजार पुँजीकरण ३७ खर्ब ५८ अर्ब ९७ करोड रहेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्यांकअनुसार २०७८ चैतमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको संख्या दुई सय २९ पुगेको छ । सूचीकृत कम्पनीमध्ये एक सय ४५ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ४७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, छ लगानी कम्पनी, पाँच होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका रहेका छन् । २०७७ चैतमा सूचीकृत कम्पनीको संख्या दुई सय १८ रहेको थियो ।

सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरण हिस्सा ६७.६ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १०.२ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा चार प्रतिशत, होटलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहको हिस्सा ९.१ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्जमा २०७८ चैतसम्ममा सूचीकृत छ अर्ब ६८ करोड सेयरको चुक्ता मूल्य छ खर्ब ५८ अर्ब ३३ करोड रहेको छ । आव २०७८/०७९ को नौ महिनासम्ममा ५४ अर्ब ५० करोडको विकास ऋणपत्र, ४९ अर्ब १६ करोड बराबरको डिबेन्चर, ४७ अर्ब ९६ करोड बराबरको बोनस सेयर, १८ अर्ब नौ

करोडको साधारण सेयर, नौ अर्ब ३१ करोडको हकप्रद सेयर र तीन अर्ब ७५ करोडको म्युचुअल फन्ड गरी कुल एक खर्ब ८२ अर्ब ७६ करोडको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले चार अर्ब ८० करोड बराबरको डिबेन्चर, तीन अर्ब ७९ करोड बराबरको साधारण सेयर, तीन अर्ब ४६ करोड बराबरको हकप्रद सेयर र तीन अर्ब बराबरको म्युचुअल फन्ड गरी कुल १५ अर्ब पाँच करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?