स्रष्टा खिमानन्द आचार्यको ‘पागल साथी’

Read Time = 9 mins

✍️ गीता अधिकारी
कविता संग्रह ‘धर्तीका माकुरा’, गीतिसंग्रह ‘मनका तरंगहरू’, लघु कथासंग्रह ‘पश्चताप’, कवितासंग्रह ‘आस्थाका बिम्बहरू’ जस्ता कृति पाठकमाझ पस्किनुभएका स्रष्टा खिमानन्द आचार्यको कथासंग्रह ‘पागल साथी’ पाठकमाझ आएको छ । अर्घाखाँची जिल्लाको डिभर्नामा जन्मिनुभएका आचर्य पछिल्लो समय अमेरिका बस्दैआउनु भएपनि नेपाली साहित्यमा उहाँ अनवरत रूपमा लागिरहनु भएको छ । त्यसैको उपज हो यो कृति ‘पागल साथी’ । बगलामुखी अफसेट प्रेस ललितपुरमा मुद्रण गरिएको ‘पागल साथी’ मा विभिन्न परिवेशका चौबीस थुँगा कथा प्रस्तुत गरिएको छ । १५६ पृष्ठको यस कृतिको मूल्य व्यक्तिगत २०० र संस्थागत ४०० रुपैयाँ राखिएको छ ।

कृतिमा कथाकारले ‘गलत निर्णय’, ‘अधुरो मिलन’, ‘सुमिता’, ‘रूपा’, ‘कर्मको फल’, ‘पछुतो’, ‘सावित्री’, ‘पुतली’, ‘पागल साथी’, ‘देवल दुन्न’, ‘मेरिना’, ‘रुक्से’, ‘देउराली’, ‘गौरी’, ‘कसम’, ‘मनकाली’, ‘भरोसामा चोइटिएको जिन्दगी’, ‘लज्जावतीको कालो छायाँ’, ‘पीडाको छायाँ’, ‘ठूलो रुख’, ‘बीमा’, ‘कलुषित मन’, ‘बहिनीलाई चिठ्ठ’ र ‘पानीको बाटो’ जस्ता कथाका थुँगा पाठकमाझ पस्किनुभएको छ ।

‘साहित्य आत्मसन्तुष्टि प्राप्त गर्ने त्यो माध्यम हो, जहाँ प्रकृतिप्रदत्त शाश्वत सत्यलाई कलात्मक ढंगले अभिधा, व्यञ्जना, लक्षणा, लघुताभास, आदर्श, भावनात्मक आदर्श र भावनात्मक पक्षलाई मूर्त वा अमूर्त रूपमा प्रस्तुत गरिएको हुन्छ । त्यसैले साहित्य शिवमय हुन्छ’ भन्नुहुने स्रष्टा आचार्यले यस कृतिमा विभिन्न परिवेश, घटनाक्रमलाई बडो कलात्मक ढंगले आञ्चलिक परिवेशलाई समेट्दै प्रस्तुत गर्नुभएको छ । ‘अधुरो मिलन’ कथाबाट संग्रहको दैलो उर्घानुभएका आचार्यले ‘पानीको बाटो’ कथाबाट संग्रहको बिट मार्नुभएको छ । कथा संग्रहमा रहेको नवौं कथा ‘पागल साथी’बाट कथा संग्रहको नामाकरण गरिएको छ । कथासंग्रहणको आवरणमा कथाकार आचार्यको तस्बिर राखिएको छ ।

‘जसले यो संसार देखाएर टुकुटुकु हिँडन सिकायो उहाँहरूप्रति’ भनिएको कृति स्रष्टाले आफ्ना स्व.माता ठगिश्वरा र स्व. पिता विद्धुराम आचार्यमा समर्पण गर्नुभएको छ । कथा संग्रहमा त्रि.वि. कीर्तिपुर इतिहास केन्द्रीय विभागका सहप्राध्यापक डा. राजाराम सुवेदीले ‘चौबीसै थुँगाः एउटै झुप्पा’ शीर्षक र डा. टीकाराम पन्थीको ‘पागल साथीमाथि विहङ्गम दृष्टि’ शीर्षकमा भूमिका लेख्नुभएको छ ।

यस संग्रहमा रहेको नवौं कथा ‘पागल साथी’ मा रामबाबु भन्ने पात्रलाई आदर्श लखेकको रूपमा स्रष्टा आचार्यले प्रस्तुत गर्नुभएको छ । रामबाबु त्यागी, दयालु, भावुक, कवि, आफ्नो शरीरको ख्याल नगर्ने, देशका लागि चिन्तन गर्ने तर समाजले उहाँलाई पागल भनेको कुरा स्रष्टा आचार्यले चित्रण गर्नुभएको छ । रामबाबुको मन स्वच्छ छ र सेवामूलक आदर्श छ । उहाँलाई पागल भन्ने समाज नै पागल, विक्षिप्त र भ्रमात्मक भएको स्रष्टा आचार्यले यसमा व्यक्त गर्नुभएको छ ।

हाम्रा वरिपरि भएका घटनाक्रम, समाजमा भएका विभिन्न परिवेश नै कथाका विषयवस्तु रहेका छन् । स्रष्टा आचार्यले समाजिक परिवेशमा रहेको विभिन्न पात्रलाई कथाका रूपमा यहाँ प्रस्तुत गर्नुभएको छ । यस संग्रहमा रहेका कथामा कथाकारले हाम्रो समाजिक परिवेशको तस्बिर प्रस्तुत गर्नुभएको छ । उहाँका अधिकांश कथा यथार्थवादी धरातलमा उभिएका छन् । कथाकार आचार्यले यस संग्रहमा सशक्त कथाहरू अत्यन्तै सरल, सहज र सभ्य तरिकाबाट प्रस्तुत गर्नुभएको छ । जुन यथार्थ परक, जीवनवादी, सामाजिक, प्रभाव र वर्तमानको दर्पणका रूपमा रहेका छन् ।

आफ्नै कथाका बारेमा स्रष्टा आचार्य आफ्नो मनको कुरामा लेख्नुहुन्छ, ‘व्यक्तिको जीवन चरित्रले समाजलाई उन्नत मार्गमा डो¥याउन क्रमशः थालनी गर्छ भन्ने मेरो मान्यता छ । अधकचल्टो शिक्षाबाट समाज दीक्षित हुनसक्दैन । समग्र समाज दीक्षित बनाउनु राष्ट्रका लागि ठूलो चुनौतीको विषय हो । तसर्थ व्यक्ति- चरित्रगत सुधार आजको आवश्यकता हो । यस्तै विषयलाई कथामा चित्रण गर्न खोजिएको छ । संगति र विसंगति बाजा बजाएर आउँदैनन् । यी त समाजसँग अभिन्न हुन् कि भन्ने मेरो विचार रहेको छ ।

यस्तै कतै मायाप्रिति, कतै सम्पन्न र असम्पन्न, विपन्न, संस्कार, संस्कृति, एकले अर्कोलाई हेर्ने दृष्टिकोण, धर्म, सम्प्रदाय आदि-आदिका विकसित हुँदै रूखमा लागेको ऐँजेरु बन्न पुगेको प्रतीत हुन्छ ।’ यस्तै उहाँ भन्नुहुन्छ, ‘सोझो तलबले मात्र के हुन्छ भन्ने वचनरूपी बाण सुन्नु पर्दथ्यो । स्कुल, कलेज, अफिस जीवन निर्वाह भएकै थियो-त्यस्तैमा घटना, परिघटना, जीवनको मूल्य मान्यता यस्तैबाट सिर्जना हुन पुगेका कथाहरूमा कुनै न कुनै रूपमा छायां परेको मलाई महसुस छ ।’ कृतिकारले भने जस्तै कथा त्यसरी नै बगेको छ । कथाका विषयवस्तु जति गहन छन् कथा सरल रूपमा सलल बगेको छ ।

एउटा कथा पढेपछि अर्को कथा कस्तो रहेछ भन्ने पढौं पढौैं कौतुहलता पाठकमा रहने गर्दछ । पढ्नमा मिठासपूर्ण कथा छन् । कथाका रमाइला परिवेशसँगै सबैजसो कथा शिक्षामूलक, सन्देश मूलक र सकारात्मक समाजिक परिवर्तनका संवाहक रहेका छन् । सबै कथाहरूले केही न केही सन्देश बोकेका छन् । प्रस्तुत कृतिमा कथाकार आचार्यले सबै पेसा, वर्ग, समुदाय र उमेरलाई लक्षित गरी कथा प्रस्तुत गर्नुभएको छ । कृतिमा समावेश गरिएका हरेक कथामा जीवनगाथा बोकेका उर्वर छन् ।

यसमा रहेका कथामा वर्तमान समयको यथार्थ, समाजिक परिवेश, गौरवपूर्ण इतिहास, देशप्रेम र अनेक परिवेशलाई उजागर गरिएको छ । स्रष्टा आचार्यको कथा पस्किने शैलीमा आफ्नैपन प्रसंशनीय छ । आख्यनात्मक कला निकै सुन्दर छ । आगामी दिनमा स्रष्टा खिमानन्द आचार्यजीका यस्तै–यस्तै सिर्जनाहरूको रसस्वादन गर्न पाइराखौं यही गीताकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?