बराबरीमा रोकियो म्युनिख

Read Time = 3 mins

म्युनिख । जर्मन बुन्डेस लिगा फुटबलमा च्याम्पियन बायर्न म्युनिख बराबरीमा रोकिएको छ । बायर्नले शनिबार सिजनको आफ्नो अन्तिम खेलमा उल्फ्सवर्गसँग दुई÷दुई गोलको बराबरी खेलेको हो । खेलमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा बायर्न बराबरीमा रोकिएको हो । खेलको १७औँ मिनेटमा जोसीपले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । खेलको ४०औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाउनुभयो ।

तर, खेलको ४५औँ मिनेटमा जोनास विन्डले गोल गर्दै उल्फ्सवर्गलाई दुई/एकको स्थितिमा ल्याउनुभयो । त्यसपछि खेलको ५८औँ मिनेटमा म्याक्स क्रुसले गोल गरेपछि खेल दुई/दुई गोलको बराबरीमा सकिएको थियो । यस बराबरीसँगै बायर्नले ३४ खेलमा ७७ अंक जोडेर सिजनको अन्त्य गरेको छ । बायर्नले उपाधि भने तीन खेल अगावै जितेको थियो । उल्फ्सवर्ग ४२ अंक जोडेर १२औँ स्थानमा रहृयो ।

लेवान्डोस्कीले क्लब छाड्ने
यस्तै म्युनिखका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीले स्पेनिस क्लब बार्सिलोना जाने इच्छा व्यक्त गर्नुभएको छ । यसै सिजनको अन्त्यसम्म म्युनिखसँग उहाँको सम्झौता रहेको छ । त्यसपछि म्युनिखसँग सम्झौता नगर्ने मनसायमा लेवान्डोस्की हुनुहुन्छ ।

बायर्नसँगको सम्झौता सकिएपछि क्लबले उहाँलाई निःशुल्क जान दिनुपर्नेछ । तर, त्यसअघि नै मोटो रकम भित्र्याउँदै लेवान्डोस्कीलाई अन्य क्लबमा जान दिने योजनामा बायर्न छ । जर्मनीका अखबारमा प्रकाशित समाचारअनुसार लेवान्डोस्कीले क्लबलाई आफू बार्सिलोना जान इच्छुक रहेको बताइसक्नुभएको छ ।

सन् २०१४ मा बोरुसिया डर्टमुन्ड छाडेर बायर्न म्युनिख आउनुभएका पोलिस फरवार्डले सबै सिजन लिग उपाधि जित्नुभएको छ । यसक्रममा उहाँले क्लबका लागि ३४३ गोल गर्नुभएको छ । ३३ वर्षीय लेवान्डोस्कीले यसक्रममा तीनपटक जर्मन कपको उपाधि जित्नुका साथै पछिल्लो पाँच सिजन नै सर्वाधिक गोलकर्ताको उपाधि जित्न सफल हुनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?