विराटनगर सिटी फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौँ संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरस्थित शहीद मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई दुई-एक गोलले निराश बनाउँदै विराटनगर सिटी उपाधि नजिक पुगेको हो । जितका लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरूङले गोल गरी टिमको जित सुनिश्चित गर्नुभएको हो । जावलाखेलका तर्फबाट हिसुब थपलियाले सान्त्वना गोल फर्काउनुभयो ।

विराटनगरले संघर्षपूर्ण जित हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रामक खेल पस्कियो । जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहँदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेको थियो । दोस्रो हाफपछि विराटनगरले अग्रता लिएपछि जावलाखेललाई दबाब परेको थियो ।
५९औँ मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेफन ब्याङगनलले गोल गरी टिमलाई अग्रता दिलाउनुभयो । विमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनिष देउलाले मैदानतिर बल फालिदिएपछि स्टेफनले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

८७औँ मिनेटमा विराटनगर सिटीका विमल घर्तीमगरले निकालेको क्रस पासलाई वैकल्पिक खेलाडी अभिषेक गुरूङले टिमका लागि विजयी गोल गर्नुभयो । ६१औँ मिनेटमा आफाजको ठाउँमा अभिषेक मैदान प्रवेश गर्नुभएको थियो । दोस्रो हाफको इन्जुरी समयमा जावलाखेलका तर्फबाट हिसुब थपलियाले सान्त्वना गोल फर्काउनुभयो ।

लगातार पाएको सुन्दर अवसर जावलाखेलका खेलाडीको फिनिसिङ पक्ष कमजोर देखिँदा सेमिफाइनलबाट घर फर्किन बाध्य भयो ।
म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित हुनुभयो । उहाँले नगद ११ हजार रुपैयाँ पाउनुभयो । जितपछि विराटनगरका प्रशिक्षक सन्तोष न्यौपानेले खेलाडीहरूको मिहिनेतका कारण जित हासिल गरेको बताउनुभयो ।

पहिलो हाफसम्म खेलाडीहरूले पाएको सुन्दर अवसर खेर फाल्दा जित निकाल्न दोस्रो हाफ कुर्नुपरेको बताउनुभयो । उता, जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले पाएको अवसर खेर फाल्दा हार भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?