विद्युत् अनियमितताले सेवाग्राही मर्कामा

Read Time = 4 mins

बारा । कलैया उपमहानगरपालिकामा छिन-छिनमा झ्याप्प-झ्याप्प लाइन आउने र जाने क्रम बढेकाले सेवाग्राही मर्कामा परेका छन् । एक हप्ताभन्दा बढी समयदेखि लाइन छिन-छिनमा आउने-जाने गरेको र भोल्टेज कम भएका कारण समस्या हुने गरेको कलैया उपमहानगरपालिका-१ मोतिबागका नरेश गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकातिर टन्टलापुरको घाम र घामसँगै चलेको तातो हावाले दिनभर पसल र आफ्नो कारोबार सञ्चालन गर्न समस्या छ, अर्कातर्फ विद्युत् छिन-छिनमा आउने-जाने क्रमले झनै समस्या भएको छ । चर्को घाम र तातो हावाका कारण व्यापार-व्यवसाय चौपट भएको छ, ग्राहकहरू पातलिएका छन्, दिनभरि व्यापार-व्यवसाय जेनतेन गरी सञ्चालन गरे पनि दिनमा भन्दा रातमा विद्युत् अनियमितता झनै बढेको छ । विद्युत् अनियमितताले राती घरमा बस्न-सुत्नसमेत समस्या आएको उहाँको गुनासो छ ।

हरेक वर्ष गर्मी महिना आउनेबित्तिकै समस्या आउने गरेको कलैया उपमहानगरपालिका-६ का नेपाली कांग्रेसका नेता शिवमंगल साहले बताउनुभयो । जेठ र असार प्रचण्ड गर्मीसँगै विद्युत् अनियमितता र भोल्टेज समस्याले झनै पिरोलेको उहाँको भनाइ छ । साहले भन्नुभयो, ‘यस्तो प्रचण्ड गर्मीमा लाइन छिन-छिनमा काटिने, आए पनि भोल्टेज नहुने कारण गर्मी छल्न समस्या हुने गरेको छ । दिनभरि जेनतेन गरी समय काटिन्छ, मानिसहरू आफ्नो काममा व्यस्त हुँदा खासै लाइन आउने-जाने र भोल्टेजको समस्याबारे थाहा हुँदैन तर रात पर्नेबित्तिकै छिन-छिनमा बत्ती आउने-जाने गर्छ । राती खाना खान र सुत्नसमेत समस्या हुन्छ ।’ कलैया उपमहानगरपालिका-३ का नेपाली कांग्रेसका नेता प्यारेलाल साहले भन्नुभयो, ‘एकातिर छिन-छिनमा बत्ती जाने, अर्कोतिर लामखुट्टेको बिगबिगीले बस्नै गाह्रो भएको छ, ५०औँ पटक बत्ती आउने-जाने गरेको छ । बत्ती आए पनि भोल्टेज नहुँदा घरमा बस्नसमेत समस्या भएको छ । रातको समय कहाँ जाने ? शीतलको खोजीमा कहिले घरबाहिर सडकमा त कहिले छतमा जाने गर्नुपर्ने बाध्यता छ । त्यसमा पनि लामखुट्टेको बिगबिगी छ ।’

नेपाल विद्युत् प्राधिकरणको कलैया वितरण केन्द्रका प्रमुख ऋषिकुमार वर्णवालले भने विद्युत् वितरणमा कुनै समस्या नरहेको दाबी गर्नुभएको छ । उहाँका अनुसार समस्या १३२ केभी ट्रान्समिसनमा छ । परवानीपुरस्थित १३२ केभी ट्रान्समिसन लाइनमा समस्या भएका कारण बत्ती आउने-जाने गरेको वर्णवालको भनाइ छ । उहाँले भन्नुभयो, ‘एकातिर गर्मी बढेको छ भने अर्कोतिर ओभरलोडका कारण विद्युत् आपूर्तिमा असहजता भएको हो । १३२ केभी प्रसारण लाइन पुरानो छ, नयाँ निर्माण गर्दा बाधा अवरोध उत्पन्न हुने गरेको छ, जसका कारण हेटांैडाबाट आउने लाइनमै ओभरलोड देखिएको छ, त्यहींबाट सिस्टम जाने गरेको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?