मतदातालाई महँगी उपहार

Read Time = 3 mins

काठमाडौं । सरकारले मतदातालाई मूल्यवृद्धि उपहार दिएको छ । त्यसै पनि महँगीको मार खेप्दै आएका जनतामाथि सरकारले स्थानीय तहको चुनावलगत्तै पेट्रोलियम पदार्थमा भारी मूल्य बढाएर मूल्यवृद्धि उपहार दिएको हो ।

सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले १०-१० रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्यसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७०, डिजेल र मट्टितेल प्रतिलिटर एक सय ५३ रुपैयाँ पुगेको छ । एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत् रहेको छ ।

नयाँ खरिद लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २३ रुपैयाँ दुई पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा घाटा रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताउनुभएको छ । कार्कीका अनुसार मट्टितेलमा दुई रुपैयाँ ८१ पैसा, हवाई इन्धनमा आन्तरिकतर्फ १२ रुपैयाँ ६४ पैसा र बाहृयतर्फ ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको छ । ग्याँसमा प्रतिसिलिन्डर एक हजार ५० रुपैयाँ आठ पैसा घाटा रहेको निगमले जनाएको छ ।

१५ दिनमा करिब पाँच अर्ब १९ करोड अझै घाटा रहने निगमको दाबी छ । निगम प्रवक्ता कार्कीका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई पेट्रोलियम खरिदबापत पहिलो किस्ता २५ अर्ब रुपैयाँ मे ८ मा भुक्तानी गर्नुपर्नेमा रकम अभावका कारण निगमले पेट्रोलियम बिक्रीबाट प्राप्त १२ अर्ब ५१ करोड रुपैयाँमात्रै भुक्तानी गरेको थियो ।

दोस्रो किस्ताबापतको नियमित भुक्तानी र अघिल्लो किस्ताको बाँकी रकम गरी करिब ३१ अर्ब रुपैयाँ आगामी मे २३ मा भुक्तानी गर्नुपर्ने छ । तर, निरन्तर घाटाका कारण उक्त रकम व्यवस्थापन गर्न सक्ने अवस्था छैन ।

त्यसैले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन तथा बिक्रीवितरण सहज बनाइराख्न सरकारले निगमलाई भुक्तानीका लागि नपुग रकम व्यवस्थापन गरिदिनुपर्ने वा सहुलियतदरमा विभिन्न वित्तीय संस्थाबाट ऋणको व्यवस्था मिलाइदिनुपर्ने अवस्था रहेको निगमले जनाएको छ । यसैबीच पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विद्यार्थीले विरोध गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?