आदरणीय पाठकहरू !
मैले आजभन्दा दुई सप्ताह पहिले ज्ञान र विज्ञानमा भिन्नता भन्ने शीर्षकअन्तर्गत एकमा धेरै देख्नु या बनाउनु विज्ञान वा शिल्पगत कुरो हो तर अनेकामा एक देख्नु या अनेकमा एउटै मूलतत्वको निदर्शन चाहिँ वेदको विषय हो जो अत्यन्तै सूक्ष्म छ र विज्ञानका कुनै पनि प्रक्रियाबाट त्यो सूक्ष्मतम तहमा पुग्न शायद सकिँदैन भन्ने आशंका व्यक्त गरेको थिएँ । आजबाट फेरि वैदिक साहित्यका तिनै रौंचिरा दर्शनतिर म तपाईंहरूको ध्यान आकर्षित गर्न चाहन्छु । एकलाई अनेकौं रूप प्रदान गर्नुभनेको शिल्प हो । एउटै सुवर्णखण्डका अनेकौं रूपका आभूषण बनिन्छन् । एकै माटाबाट कुमालेले अनेकौं प्रकारका मृत्तिका पात्र बनाउँछ ।
एकै कपासका रेसाबाट कोविदारले थरीथरीका कपडाका तानका तान खातका खात तयार पार्दछ र अहिले त मेसिनका विकासले विश्वभरि नै पु¥याउन थालियो पनि । अतः यसलाई विज्ञान भनिन्छ । यसरी हेर्दा सीप विज्ञान हो, विज्ञानले भौतिक स्थूलताबाट भौतिक सूक्ष्मताको यात्रा गर्न सके पनि आध्यात्मिक सूक्ष्म संसारतिर चियाउन पनि सक्दैन । यस्तो कुरो या प्रवृत्ति व्याकरणमा पनि हुन्छ जस्तो कि एउटा धातु या शब्दबाट अनेकौं भिन्नाभिन्नै अर्थ प्रदायक शब्द बनाइन्छ व्याकरणमा । ‘प्र’ उपसर्ग र हार आधारपदकै कुरा गर्ने हो भने पनि प्रसंग स्पष्ट हुन्छ । प्र+हार, प्रहार, विहार, उपहार, अनुहार, संहार, आदि ।
यसैगरी एकै कृत्मा अनेकौं प्रत्यय लाएर पनि अनेकौं शब्द बनाउन सकिन्छ । युज्+अ, योग+ई योगी आदि यसरी कृत् र तद्धितको त झन कुरै भएन जति भने पनि हुने नै भयो हितार्थक प्रत्यय भएको हुनाले । साहित्यमा एकै कुरालाई अनेकौं भिन्नभिन्न प्रकारले वर्णन गरिन्छ । आयुर्वेदमा एकै औषधिबाट अनेकौं योग तयार गरिन्छ । यसो भएका कारणले संस्कृतमा मोक्षशास्त्रका अतिरिक्त सबैलाई विज्ञान या शास्त्र या कला अदिबाट सम्बोधन गर्न सकिन्छ । पदार्थविज्ञान या साइन्स पनि त अनेकतातिरै कोल्टिएको देखिन्छ । रसायनशास्त्रले त झनै लाटाले पनि बुझ्ने गरी एकलाई नै अनेकमा प्रकट गरिदिन्छ । मनोविज्ञानले पनि एउटै मनलाई अनेकौं प्रकारले व्याख्या विश्लेषण गर्दछ ।
यो छलफलबाट के कुरो स्पष्टँदै छ भने अनेकमा एक देख्नुभनेको अति कठिन कुरो रहेछ । यहाँ आइपुग्दा बुद्धि कुण्ठित हुन्छ । त्यसैले एक तत्वको दर्शन या बोध त शब्द प्रमाणमा विश्वास गरी श्रद्धापूर्वक योगमार्गबाट समाधिमा पुग्नसक्ने योगीजनले मात्रै गर्न सक्छन् भन्छ वेद । एकबाट अनेक बनाएको त हामी प्रत्यक्ष पनि देख्न देखाउन, बुझ्न बुझाउन सक्छौं यसो भएको हुनाले एकबाट अनेक बनाउनु कुनै कठिन कुरो रहेनछ । किन्तु एकबाट अनेकौं निर्मित हुँदै गरेको कुरो देख्ने विज्ञानलाई नै आधार मानेर भिन्नाभिन्नै तत्वमा एकतालाई देखाउने ज्ञान पनि त दृढतर बन्दै जन्छ ।
विज्ञानकै सहायताले ज्ञानमा विशिष्टता थपिन्छ । यसै कारण गीताको भाष्य गर्नेहरूले ‘विज्ञान’ शब्दको विशिष्ट अर्थ लिनु हाम्रा निमित्त विपथन होइन भनेर अनुकूल मतितिर डोहोर्याएका पनि छन् । जस्तो कि गीताको सातौं अध्यायमा कृष्ण भन्छन्-
भूमिरापोद्रनलो वायुः खं मनो बुद्धिरेवच
अहंकार इतियं मे भिन्ना प्रकृतिरष्टधा ।।४।।
पृथ्वी, जल, तेज, वायु, आकाश, मन, बुद्धि र अहंकारसमेत गरी मेरो प्रकृति आठ रूपमा विभक्त छ । यसरी पहिले विज्ञानका कुरा गरेर अन्त्यमा म बाहेक केही पनि छैन यी सबै मैमा अन्तर्लीन भएका छन् भन्छन् । यसरी हेर्दा अनेकमा एक रूपताको ज्ञान नै ज्ञान हो भनिएको देखिन्छ । यसरी नै गीताको नवौं अध्यायमा पनि ज्ञान र विज्ञानका गतिको व्याख्यापछि यिनै दुई प्रकारका पद्धतिलाई ज्ञान र विज्ञान भनेको देखिन्छ ।
राजविद्या राजगुहृयंपवित्रमिदमुत्तमम् ।
प्रत्यक्षवगमं धम्र्यं सुसुखं कर्तुमव्ययम् ।।२।।
अश्रद्दधानाः पुरुषा धर्मस्यास्य परन्तप ।
अप्राप्य मां निवर्तन्ते मृत्युसंसारवतर््मनि ।।३।।
यो गोप्यमा पनि सबैभन्दा गोप्य राजविद्या हो । यो अति नै पवित्र, उत्तम र धर्मयुक्त पनि छ । अनुष्ठान गर्न सजिलो र प्रत्यक्ष साक्षात्कार गर्न सकिने खालको छ । अब सोचौं सजिलो पवित्र आदि भनिएको यो कुरो जबसम्म योगाभ्यासका मार्गबाट समाधिमा पुगेर अनुभव गरिँदैन तबसम्म यसको सिङपुच्छर केही पनि बुझिँदैन । ज्ञानको स्पष्टता त मनन र समाधिपछि मात्रै हुन्छ । फेरि त्यो स्पष्टतालाई शब्दका माध्यमले भन्न सकिँदैन । तेस्रा श्लोकले त अर्जुन ! मैले भनेको यो परम धर्ममा श्रद्धा नभएका मान्छेहरू मलाई पाउन सक्दैनन् र पटकपटकको जन्ममृत्यु रूप संसारका चक्रमा परेर घुमि नै रहन्छन् ।
हो कृष्ण भनेको सीप होइन, विशेष प्रकारको ज्ञान त हो तर अनेकमा व्याप्त एक मूलतत्व जो सबैतिर त्यसरी व्याप्त छ जसरी दूधका प्रत्येक थोपामा घिउ पृथ्वीका कुनै पदार्थमा अग्नि आकाशमा वायु र शब्द जसरी व्याप्त छन् हो, त्यो बोध नै ज्ञान हो । यो समाधि, श्रद्धा र विश्वासबाट मात्र बोध हुन्छ । अब उपनिषत्का र वेदान्त दर्शनका कुरातिर पनि लागि हेरौं- अनेकौं उपनिषत्ले र वेदान्त दर्शनले जगदीश्वरलाई ज्ञानरूप र जीवलाई विज्ञानरूप मानेका छन् । यसबाट पनि त्यही अघिको कुरो सुस्पष्ट हुन्छ किनभने जीव परमात्माकै अंश मानिन्छ ।
यसरी विज्ञान शब्दले पनि अनेकमा नै एक दर्शन गराइरहेको बोध गर्न सकिन्छ । आंगल भाषाका ‘साइन्स’ लाई नेपाली संस्कृतमा विज्ञान भनेर अनुवाद गरिएको छ र त्यहाँको ‘फिलोसोफी’लाई दर्शन भनेर हामीले अनुवाद गरेका छौं । वस्तुतः सुरुमा विज्ञान शब्द एकै अर्थमा प्रयुक्त भएर यसलाई अनेकार्थमा प्रयोग गर्ने परम्परा चलेको पनि अनुमान गर्न सकिन्छ । पश्चिमा विद्वान्हरू विज्ञानको परिभाषा क्रियारूपता (प्रयोग) प्रयोग भएर एउटा परिणाममा पुग्नु भन्ने गर्द छन् भने दर्शनलाई चाहिँ विचारका रूपमा रहने भन्छन् । वाष्पबाट रेल कसरी चल्छ भनेर यसको प्रक्रिया चालपाउनु चाहिँ विज्ञान या साइन्स हो ।
यो किन चल्छ ? वाष्पमा यो यो शक्ति कसरी कहाँबाट आउँछ भनेर विचार गर्नु चाहिँ दर्शनको कुरो भयो । क्रियाका लागि उपयुक्त सामगी जानेर त्यसमा काम गरी देखाउनु चाहिँ विज्ञान हो । यो काम हुनका लागि उपस्थित भएर पनि अदृश्य शक्तिको खोज अनुसन्धान चाहिँ दर्शन हो । यसरी एउटा मूल तत्वबाट अनन्त पदार्थ बनाउने प्रक्रिया विज्ञान शब्दवाच्य देखिन्छ । वेदमा यस प्रक्रियालाई यसरी भनिएको छ कि बुद्धि पनि त्यहाँ स्थिर हुन्छ । लाग्छ अहिले नै यो त म गरेर पनि देखाउन सक्छु भन्ने साहस उत्पन्न हुने भएको हुनाले नै आप्तविद्वान्हरू ‘वैदिक विज्ञान’ शब्द प्रयोग गर्न रुचाउँछन् । यो दृश्यमान अनन्तकोटि ब्रहृमाण्डको सारा प्रपञ्चमा एउटै मूलतत्व कारणभूत बनेर रहेको छ-
आनीतवातं स्वधया तदेकं तस्माद्धान्यन्न परं किञ्चनास ।
एकं वा इदं विबभूव सर्वम् (ऋक्) सदेव सौम्येदमग्र आसीदेकमेवाद्वितीयम् । नेह ना नास्ति किञ्चन (छान्दोग्य) ।।
यस प्रकारले वेदोपनिषदादि वारम्बार यस प्रकारको सिद्धान्तको उद्घोष गरिरहेका भेटिन्छन् । वास्तवमा त्यो मूलतत्वमाथि वर्णन गरिएका सारा अवस्थाभन्दा पर छ । यो सृष्टि प्रपञ्च जाग्रतावस्था हो । त्यो मूलतत्व यी सबै प्रकारका जाग्रत् स्वप्न सुषूप्ति, सृष्टि पालन प्रलयादि सारा प्रपञ्चपूर्ण अवस्थालाई नै हामी बुझ्न सक्छौं । यसो भएको हुनाले त्यसमा कुनै प्रकारको गुण या धर्म पनि हुँदैन । धर्म त प्रपञ्चरूप अवस्थामात्र हो । अवस्थापछि उत्पन्न हुन्छ । मूलमा त्यसको सत्ता नै हुँदैन । यसै कारणले त्यसलाई हामी कुनै इन्द्रियबाट जान्न सक्छौं न त वाणीबाट नै न त त्यो मनमा नै आउँन सक्छ, न तत्र चक्षुर्गच्छति, न वाग् गच्छति, न मनो गच्छति ।
हामीमा त अवस्था या गुण देख्न र चिन्न सक्नेमात्रै शक्ति छ । अवस्थालाई हटाएर मूलतत्वलाई जान्ने बुझ्ने शक्ति हाम्रा इन्द्रिय मन वाणी केहीमा पनि छैन । उदाहरार्ण तपाईंका औंलामा एउटा सानो सुनको औंठी छ । त्यो औंठी भनेको सुवर्णखण्डको एउटा अवस्था हो । औंठी बनिनुभन्दा पहिलेको स्वर्णखण्ड हामी मनमा ल्याउन सक्दैनौं । जति गरे पनि सुनको अनेकौं अवस्था र रूपमात्रै हाम्रा मानसपटलमा उदाउँछ । साधनाका माध्यमले जुन दिन हामी सुनका सारा अवस्थालाई हटाएर खानीबाट भर्खर निकालेको मूलस्वर्णखण्डलाई मनमा स्थिर गर्छौं अवस्थादि रूपभिन्न स्वर्णखण्ड वास त्यस्तै हो मूलतत्व पनि ।
भौतिक विज्ञानज्ञले हजारौं वर्ष लाएर अनुसन्धान गरेर मूलतत्व दुईवटा मात्रै छन् ‘इलेक्ट्रोन’ र ‘प्रोटोन’ भनेथे । हाइड्रोजन, अक्सिजन आदि तिनैको अवस्था हो भनिएको थियो परन्तु जुन दुईलाई तिनले मूलतत्व मानेका थिए तिनमा पनि एउटा निरन्तर गतिशील र अर्को नित्य स्थितिशील रहेछन् । यी गति र स्थिति त अवस्था नै हुन् । तिनका भित्र अनस्यूत एउटा नै तत्व छ भन्ने तिनले माने तर तिनलाई अवस्थाशून्य रूपमा चिन्न तिनका शक्तिभन्दा बाहिरै रहेको देखिन्छ ।
यसरी हेर्दा कालान्तरमा भौतिक विज्ञान पनि वैदिक विज्ञानका शरणमा नआइकन अनेकमा एकको दर्शन गर्न सक्ला नसक्ला भन्न सकिँदैन । वैदिक विज्ञानले यसरी यो अनन्तकोटि ब्रहृमाण्डका साराका सारा प्रपञ्चमा एक अव्यक्त अनन्त र अपरिमित शक्ति विद्यमान छ र त्यही नै ब्रहृम हो भनेको जस्तो बुझिँदोरहेछ । आधुनिक भौतिक विज्ञान यस प्रकारको अनुभूति आर्जन गर्न अझै अक्षम नै रहेको बुझिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच