छानबिन समितिले प्रतिवेदन बुझायो

Read Time = 6 mins
A A- A+

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीका खेलाडीहरूबीचको विवादबारे छानबिन गर्न बनेको समितिले छानबिन प्रतिवेदन नेपाल फुटबल संघ (एन्फा) लाई बुझाएको छ । सेनाका पूर्वउपरथीसमेत रहनुभएका पूर्वराष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा रहेको समितिमा पूर्वखेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा हुनुहुन्थ्यो । उहाँहरूले एक हप्ता लगाएर सरोकारवालासँगको छलफल र छानबिनपछि तयार पारिएको प्रतिवेदन एन्फा महासचिव इन्द्रमान तुलाधरलाई बुझाउनुभएको हो ।

एन्फा महासचिव तुलाधरले प्रतिवेदनको अध्ययनपछि कार्यान्वयनमा लगिने जानकारी दिनुभयो । समितिले १० दिन लगाएर २८ पृष्ठ लामो प्रतिवेदन तयार पारेको छ । एन्फाले समितिलाई सात दिनको समय दिएको भए पनि स्थानीय निर्वाचन र सार्वजनिक बिदाका कारण १० दिनपछि समितिले प्रतिवेदन बुझाएको छ ।

समितिले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव तुलाधरलगायत पदाधिकारी, प्रशिक्षक अलमुताइरी, व्यवस्थापक र क्याम्पभित्र रहेका एक खेलाडीसहित १० खेलाडीसँग सोधपुछ गरेको थियो ।

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अलमुताइरीको व्यवहारसँग असन्तुष्टि व्यक्त गर्दै १० जना खेलाडीहरूले जारी एएफसी एसियन कप छनोट २०२३ को बन्द प्रशिक्षण छाडेका थिए । प्रशिक्षणका क्रममा एन्फाको सातदोबाटोस्थित होस्टलमा खेलाडीहरूलाई राखिएको थियो । तर, होस्टलको सेवासुविधा राम्रो नभएको गुनासो गर्नुभएका सिनियर खेलाडी तथा मिडफिल्डर रोहित चन्दले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग गुनासो गरेपछि उहाँलाई प्रशिक्षक अलमुताइरीले टोली बाहिर राख्नुभएको थियो ।

कप्तान किरण चेम्जोेङ विदेशी लिग खेल्न व्यस्त रहेका बेला उहाँको अनुपस्थितिमा रोहितले खेलाडीहरूका तर्फबाट प्रशिक्षकलाई कुरा राख्नुभएको थियो । रोहितलाई कारबाहीपछि त्यसबारे कुरा गर्न गएका अरू नौजना खेलाडीहरूलाई पनि प्रशिक्षक अलमुताइरीले क्याम्प छोडेर जान भनेपछि खेलाडीहरू अनुपस्थित भएका हुन् । रोहितसँगै बन्द प्रशिक्षणमा अनुपस्थित सिनियर खेलाडीहरू सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुमन लामालगायतले पत्रकार सम्मेलन गर्दै अब अलमुताइरीसँग खेल्न नसकिने बताउनुभएको थियो ।

खेलाडीहरूले पत्रकार सम्मेलनसँगै प्रशिक्षकमाथि छानबिन गरी कारबाही हुनुपर्ने माग राखेका छन् । खेलाडीहरूले अलमुताइरीले बारम्बार क्याम्प छाडेर जान भनेपछि आफूहरू बाध्य भएर बाहिर आएको जनाउनुभएको थियो ।

त्यसबारे आफ्नो धारणा राख्दै प्रशिक्षक अलमुताइरीले एन्फालाई पत्रसमेत बुझाउनुभएको थियो । अलमुताइरीले खेलाडीले आफूलाई लगाएको आरोपका लागि उनीहरूलाई माफी दिएको र एन्फालाई कुनै कारबाही नगर्न आग्रहसमेत गर्नुभएको छ । उहाँले आफू राष्ट्रिय टोलीबाट निरन्तर प्रशिक्षण गर्न चाहेको भन्दै राष्ट्रिय टोलीको अभिभावकका नाताले खेलाडीहरूको तातो रगतबारे जानकारी रहेको बताउनुभएको थियो ।

आफूले सदैव नेपाली टोलीको भलो चाहेको बताउँदै पत्रमा अलमुताइरीले खेलाडीहरूले पत्रकार सम्मेलनमार्फत् आफूमाथि सार्वजनिकरूपमा आरोप लगाउँदा चित्त दुखेको उल्लेख गर्नुभएको थियो । उहाँले राष्ट्रिय टोलीको निर्माण गर्न पाउनु आफ्नो अधिकार रहेको र त्यसै अनुरूप एसियन कप छनोटका लागि भने बन्द प्रशिक्षण छोडेर जाने खेलाडीहरूलाई नसमेट्ने स्पष्ट पार्नुभएको थियो । उहाँले एसियन कप छनोटमा जस्तोसुकै नतिजा आए पनि त्यसको आफू जिम्मेवार हुने पत्रमार्फत् जनाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?