कांग्रेसले कचनकवलमा पुरानो विरासत फर्कायो

Read Time = 10 mins

-पार्थ मण्डल

झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा नेपाली कांग्रेसले गाउँपालिका अध्यक्षसहित पाँच वटा वडा प्यानल नै जितेको छ । नेकपा (एमाले)ले गाउँपालिका उपाध्यक्षसहित एउटा वडा जितेको छ । यसपल्ट गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्षमा कांग्रेस र एमालेले चुनावी तालमेल गरी प्रमुख पद भागबण्डा गरेका थिए । वडामा भने कांग्रेस र एमाले एक्लाएक्लै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए । जिल्लामै राप्रपाको राजधानी भनेर चिनिएका कचनकवलमा राप्रपाले यसपल्टको निर्वाचनमा एउटा सदस्य पद मात्र जितेको छ । त्यो पनि वडा नम्बर २ मा दलित महिला सदस्य ।

गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशीले भारी मतान्तरले जित्नुभएको छ । राजवंशीले राप्रपाका उम्मेदवार तथा गाउँपालिकाका निवर्तमान अध्यक्ष अन्जरा आलमलाई ४८१० मतान्तरले पराजित गर्नुभएको हो । राजवंशीले ११ हजार ४७७ मत ल्याउँदा आलमले ६ हजार ६६७ मत ल्याउनुभएको छ । राजवंशीले २०७४ सालको निर्वाचनमा हार बेहोरेको बदला लिएको छ ।

त्यस्तै, उपाध्यक्षमा एमालेका नवराज भट्टराई विजयी हुनुभएको छ । उहाँले राप्रपाकी उम्मेदवार तथा गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष निमसरि राजवंशीलाई एक हजार ३४२ मतान्तरले पराजित गर्नुभएको हो । भट्टराईले आठ हजार १४३ मत ल्याउँदा राजवंशीले ६ हजार ८०१ मत ल्याउनुभयो । गाउँपालिकामा ३७ जनप्रतिनिधि हुनुपर्नेमा कांग्रेसले मात्र २७ जनप्रतिनिधि जिताएर एकल बहुमत ल्याएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा कचनकवलमा राप्रपाको एकल बहुमत थियो ।

एमालेले उपाध्यक्ष, एउटा वडा अध्यक्ष र तीन वटा सदस्य जितेको छ । ६ नम्बर वडा एमालेको गढ मानिन्छ । अघिल्लो निर्वाचनमा एमाले विजयी भएको थियो । तर, यसपल्ट कांग्रेसले राप्रपासँगै एमालेको गढ पनि भत्काउन सफल भएको छ । ६ नम्बर वडामा कांग्रेसको प्यानल नै जितेको छ ।

को हुन् कालेन्द्र ?

पिता स्व. घेनकेटु राजवंशी र माता स्व. थेपो राजवंशीको कोखबाट वि.सं. २०२४ साल कात्तिक १६ गते जन्मिनुभएका कालेन्द्रप्रसाद सिंह राजवंशी सरल र शान्त स्वभावका व्यक्ति हुनुहुन्छ । उहाँको स्थानीय घर साबिक घेरावारी गाविस-८ हाल कचनकवल गाउँपालिका–१ हो । गरिब परिवारमा जन्मिनुभएका राजवंशीले कक्षा ५ सम्म बुद्ध प्रावि घेरावारीमा प्रारम्भिक शिक्षा पूरा गर्नुभएको थियो । त्यसपछि पथरिया माविबाट उहाँले एसएलसी पास गर्नुभयो । २०४१ सालमा मेची बहुमुखी क्याम्पस पढ्दै गर्दा पारिवारिक आर्थिक बोझका कारण उहाँ कामको खोजीमा लाग्नुभयो । कामको सिलसिलामा उहाँ शिक्षण पेसातर्फ लाग्नुभयो । तर, उहाँ शिक्षण पेसा बीचमै छाडेर आफ्नो पढाइलाई पूरा गर्नतर्फ लाग्नुभयो । उहाँले २०४६ सालमा मेची क्याम्पसबाट स्नातक मानविकी पास गर्नुभयो । सोही बेला पारिवारिक सम्बन्धका कारण उहाँसँग कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग भेटघाट भयो । भेटघाटको सम्बन्ध त्यति नजिकियो कि राजवंशी सिटौलाको विश्वासपात्र नै बन्नुभयो । उहाँको पारिवारिक समस्यालाई हेरेर सिटौला राजवंशीसँग झन् नजिकिनुभयो । टंकनारायण राजवंशी त्यसबेला जिल्ला विकास समिति झापाको सभापतिमा निर्वाचित भएपछि सिटौलाकै पहलमा उहाँले जिविसमा २०४३ देखि ०४६ सम्म नायव सुब्बाको जागिर खानुभएको थियो ।

विद्यार्थी जीवनमै जागिर पाए पनि पारिवारिक समस्याका कारण उहाँ त्यो जागिर पनि छाडेर फेरि गाउँ नै फर्किनुभयो । त्यसपछि उहाँ गाउँ फर्किएर पुनः शिक्षण पेसामा लाग्नुभयो । २०४६ सालदेखि नै निरन्तर शिक्षक पेसामा लाग्नुभएका उहाँले बुद्ध आधारभूत विद्यालयमा २०६५ सालदेखि ०७३सम्म प्रधानाध्यापकको जिम्मेवारी निभाउनुभयो । सोही बेला उहाँ कांग्रेसका क्रियाशील सदस्य बन्नुभयो । उहाँ नेपाल शिक्षक संघ क्षेत्र नम्बर ३ को क्षेत्रीय सचिव हुँदै जिल्ला सदस्य पनि बन्नुभयो । त्यसपछि पार्टीमा निरन्तर लाग्नुभएका उहाँ कांग्रेसको १२औँ जिल्ला महाधिवेशन र १३औँ जिल्ला महाधिवेशनबाट गरी दुई कार्यकाल जिल्ला सदस्यमा निर्वाचित हुनुभयो । भर्खरै सम्पन्न १४औँ जिल्ला महाधिवेशनबाट उहाँ जिल्ला सहसचिवमा निर्वाचित हुनुभएको थियो । २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा कांग्रेसले उहाँलाई गाउँपालिका अध्यक्षको टिकट दियो । तर, सो निर्वाचनमा उहाँले राप्रपासँग पराजय भोग्यो । त्यसपछि उहाँ निरन्तर पार्टीका काम सक्रिय भएर लाग्नुभयो र पालिकामा संगठन विस्तारलाई तीव्रता दिनुभयो । त्यसैको फलस्वरूपमा २०७९ सालको निर्वाचनमा कांग्रेसले गाउँपालिकामा आफ्नो पुरानो वर्चस्व फर्कायो ।

वि.सं. २०५४ सालको स्थानीय निकाय निर्वाचनसम्म दक्षिणी झापाको कचनकवल गाउँपालिकामा समावेश भएका ६ वटा गाविसहरू नेपाली कांग्रेस र नेकपा (एमाले)को पकडमा थियो । त्यसमध्ये साबिक गाविसहरू पाठामारी, केचना, घेरावारी, बालुवाडी कांग्रेसको गढ र बनियानी, पथरिया एमालेको गढ हो । त्यसभन्दा अघि ती गाविसहरूमा नेपाल सद्भावना पार्टीको दबदबा रहेको स्थानीय कनक राजवंशीले बताउनुभयो । गाउँपालिका अध्यक्षमा निर्वाचित कालेन्द्रका भाइसमेत रहनुभएका कनकले भन्नुभयो, ‘पहिला हाम्रो परिवार सद्भाव पार्टीमा आबद्ध थियो, नेता सिटौलाकै कारण हामी सद्भावना छाडेर कांग्रेसमा लाग्यौँ’ । ‘पछि सबैजना सद्भावना छाड्दै गएपछि गाविसहरू कांग्रेसमय बन्यो,’ उहाँले भन्नुभयो ।

यता, २० वर्ष लामो जनप्रतिनिधिविहीन अवस्थामै सरकारले नगर तथा गाविसहरू पुनःसंरचना गरी पालिका बनायो । पालिका बनाएपछि सरकारले पहिलोपटक २०७४ सालमा स्थानीय तह सदस्य निर्वाचन ग¥यो । त्यसबेलाको निर्वाचनमा कांग्रेस र एमालेको गढ भत्काउँदै राप्रपाले बाजी मा¥यो । कांग्रेस र एमाले दुई÷दुई वडा जित्दा राप्रपाले गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षसहित तीन वडा जित्यो । पाँच वर्ष राप्रपाले गाउँपालिकामा बहुमतको स्थानीय सरकार चलायो । ती पाँच वर्षमा स्थानीय सरकारमा रहेका जनप्रतिनिधिले गरेको कामप्रतिको मूल्यांकनलाई कचनकवलवासीले आफ्नो मत अधिकार दिएर फर्काइदिएको छ । यसपल्टको स्थानीय तह निर्वाचनमा कांग्रेस आफ्नो पुरानै विरासत फर्काउन सफल भएको छ ।

स्मरण रहोस् झापा क्षेत्र नम्बर ३ मा पर्ने कचनकवल राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र हो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले एमाले र माओवादीसँग चुनावी तालमेल गरी कांग्रेस नेता सिटौलालाई पराजित गर्दै राप्रपाका लिङ्देन विजयी हुनुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?