स्थानीय निर्वाचनमा परिवारवादलाई धक्का

Read Time = 12 mins

✍️श्रीमन नारायण
स्थानीय तहका निर्वाचन परिणामहरू तीव्र गतिमा सार्वजनिक भइरहेका छन् । डेढ दर्जन महत्वपूर्ण नगरपालिकाहरूमा सत्ताधारी गठबन्धनबीच भएको मोर्चाका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई अप्ठ्यारो अवस्थाको सामना गर्नु परिरहेको छ तर राष्ट्रिय राजधानी काठमाडौं र मधेस प्रदेशको राजधानी जनकपुर नगरपालिकामा गठबन्धन पराजय उन्मुख देखिनु ठूलो पराजय हो ।

जनकपुरधाममा त पाँच दलीय गठबन्धनका उम्मेदवार प्रतिस्पर्धाको कोर्टमा पनि छिर्न पाइरहेका छैनन् । यस निर्वाचन परिणामले मधेसी दलका नेताहरू खास गरिकन जसपा र लोसपाका नेताहरूको लोकप्रियतामाथि पनि प्रश्नचिहृन उठाएको छ ।

यस निर्वानको परिणामले परिवारमाथि विश्वास राख्नेहरूलाई ठूलो चोट पुर्‍याएको छ भने विगतको निर्वाचनमा नगर प्रमुखको पदमा चुनाव जितेकामध्ये अधिकांशले पराजय भोगिराख्नुपरेको छ । लोकतन्त्रमा जननिर्वाचित भएर पदमा पुगेपछि जनादेशको सम्मान गर्न सक्नुपर्दछ । पैसाको भरमा र कोठे रणनीतिमार्फत चुनाव जित्ने दिन अब गइसके । यस निर्वाचन परिणामले मधेसी दलहरूलाई खतराको जनाउ घण्टीको संकेत दिएको छ ।

सम्भवतः यस निर्वाचन परिणामबाट उत्साही भएर पाँच दलीय गठबन्धनले प्रादेशिक र संघीय संसदको निर्वाचनमा पनि केही खास-खास क्षेत्रमा चुनावी गठबन्धन गर्न सक्नेछ । नेकपा एमालेले मधेस प्रदेशमा उपेक्षित परिणाम ल्याउन सकेन तसर्थ अब यो पार्टी पुनः आफ्नो पुराना नेता र कार्यकर्तामाथि विश्वास गर्नुको विकल्प देखिँदैन । सम्भवतः नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरणको प्रक्रियाले पनि मूर्तरूप लिन सक्नेछ किनभने अन्धो मानिसलाई लठ्ठी चाहिन्छ ।

राष्ट्रिय राजधानी काठमाडौंमा यद्यपि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन साह) ले ठूलो अग्रता लिएका छन् तर काठमाडौंका ४० वर्षभन्दा माथि उमेरका मतदाताले बालेन साहलाई समर्थन गरेको हुनसक्ने सम्भावना देखिँदैन । अहिले पनि केशव स्थापित र सिर्जना सिंहले सफलता पाउने सक्ने सम्भावना समाप्त भइसकेको छैन । कथम्कदाचित बालेन्द्र शाह चुनाव जिते भने राजधानीका मतदाताले पनि एउटा मधेसी अनुहारलाई आप्mनो मत दिएर चुनाव जिताउन सक्दछन् भन्ने सन्देश प्रवाहित हुनेछ र मधेसी दलको एउटा गतिलो राजनीतिक मुद्दा प्रभावहीन हुनसक्नेछ कि पहाडका मतदाता मधेसीलाई मतदान गर्न चाहँदैनन् ।

बालेन्द्र साह मधेसी मूलका नेपाली नागरिक अवश्य पनि हुन् । तर उनको शिक्षा दीक्षा, रहनसहन, साथी, सहयोगी र परिवेश काठमाडौंकै रहको छ । उनको जीवनशैली राजधानी काठमाडौंका कुनै आधुनिक युवाभन्दा फरक छैन । उनी आफूलाई मधेसीभन्दा पनि राजधानीका युवा नै ठानिरहेका छन् । युवाहरू आफूलाई जनताको सेवामा र राष्ट्रको सेवामा समर्पित गर्न चाहन्छन्, परम्परागत लिकबाट हटेर नयाँ शैलीमा विकास गर्न चाहने जो कोहीको पनि स्वागत गरिनुपर्छ । महँगो शैलीको चुनावका कारण बढी पढेलेखेका, इमानदार, समर्पित, निष्ठावान र जनसेवा गर्न चाहनेहरू चुनावी प्रतिस्पर्धामा भाग लिनबाट डराइरहेका छन् । यस्तो अवस्थामा राजधानीमा बालेन साहजस्तो युवाको सहभागिता तथा सफलता नया“ पुस्ताको निम्ति प्रेरणादायक हुनसक्दछ ।

विराटनगर जस्तो महत्वपूर्ण ठाउँमा नेपाली कांग्रेसले अग्रता हासिल गर्नु स्वाभाविकै हो तर गठबन्धनको तर्फबाट उपप्रमुखका साझा उम्मेदवार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवका सुपुत्र पराजयउन्मुख देखिनुलाई अस्वभाविक यसकारण पनि मान्न सकिँदैन कि उपेन्द्र यादवलाई विराटनगरले थोरै थोक दिएको हो तर उनले मोरङको सट्टा सप्तरीलाई प्राथमिकतामा राखे । अर्को कुरा विगत १४ वर्षदेखि देशको राष्ट्रिय राजनीतिको शिखरमा छन् र विगत पाँच वर्षदेखि मधेस प्रदेशमा उनकै दलको नेतृत्वमा सरकार पनि रहेको छ । गठबन्धन हुँदैमा सबै कार्यकर्ताले आँखा चिम्लेर मतदान पनि गर्नेछन् भन्ने अपेक्षा राख्नु ठीक होइन । एक किसिमले जसपा अध्यक्ष उपेन्द्र यादव आप्mनो गृहनगरपालिकालाई आफ्नो छोरालाई पाँच दलको सहयोगका बाबजुद जिताउन सकिरहेका छैनन् ।

स्थानीय तहको निर्वाचन स्थानीय परिस्थितिको आधारमा हुने गर्दछ । उम्मेदवारको पारिवारिक पृष्ठभूमि, व्यक्तिगत जनसम्पर्क, जातीय समीकरण, सामाजिक सद्भाव र जनताका दिनानुदिनका काम सम्पादनमा सहयोग गर्नेहरू नै मतदाताको पहिलो रोजाइ हुने गर्दछ । चुनाव जित्न पैसा पनि चाहिन्छ तर पैसा नै सबैथोक हुँदैन । स्थानीय चुनाव दलीय आधारमा नभएकै बेस ।

नेपालमा स्थानीय तहको संरचनालाई संघीयतालाई कमजोर गर्न सौताको रूपमा अघि सारिएको हो । असफल र भ्रष्ट स्थानीय तह भइरहेको तर आलोचना संघीयताको भइरहेको छ जबकि स्थानीय तह त संघीय सरकारको अधिनको विषय हो । स्थानीय तहको मनपरीलाई रोक्न यसलाई प्रादेशिक सरकारको मातहत ल्याइनुपर्छ । स्थानीय तहलाई विश्वका अधिकांश देशमा प्रचलित मान्यता सीमित अधिकारमात्रै दिइनुपर्दछ । स्थानीय स्तरमा लेखा परीक्षण गर्नसक्ने निर्वाचित निकाय अस्तित्वमा ल्याइनुपर्छ ।

विराटनगरमा मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेले जित्ने सम्भावना देखिन्छ । औद्योगिक नगरी वीरगंजमा पाँच दलीय गठबन्धनका उम्मेदवार जसपाका राजेशमान सिंह चुनाव जित्ने सम्भावना बढी देखिन्छ, त्यस्तै उपप्रमुखमा पनि गठबन्धनतर्पmबाट नेपाली कांग्रेसले चुनाव जित्ने सम्भावना देखिन्छ । वीरगञ्जका निवर्तमान प्रमुख विजय सरावगीले जसपा परित्याग गरेबाट यस पार्टीलाई क्षति पुगेको देखिएन ।

मधेस प्रदेशको राजधानी जनकपुरधामका प्रमुख आफूलाई आवश्यकताभन्दा बढी बाठो ठानेका थिए तर लोकतन्त्रमा जनता नै सर्वोपरी हुन्छ भन्ने यथार्थलाई उनले बिर्सिहाले । उनी एक किसिमले जनकपुरबाट लोसपा र जसपाको अन्त्यको पटकथा आफ्नै हातले लेख्न सफल भएका छन् । विगतको निर्वाचनमा महन्थ ठाकुर नेतृत्वको पार्टीले मधेस प्रदेशमा राजविराज, जनकपुर, जलेश्वर र गौर नगरपालिकामा चुनाव जितेको थियो । यसपालि चारवटै नगरपालिका उसको हातबाट खस्किरहेको अवस्था छ । पार्टी नेता महन्थ ठाकुर र राजेन्द्र महतोले आफ्नो गृहनगरपालिकालाई जोगाउन सकेनन् ।

सोही पार्टीका मधेस प्रदेश अध्यक्षले आफ्नो गृहनगरपालिकालाई पनि जोगाउन सकेनन् । राजेन्द्र महतोका विशेष सहयोगी र अभिन्न मित्र जसपा नेता र प्रदेश सरकारका प्रभावकारी मन्त्री नवलकिशोर साहले पनि यसपालि आफ्नो छोरालाई जिताउन सकेनन् । राजेन्द्र महतोले आप्mनो भाइलाई जिताउन सकेनन् । विगतको निर्वाचनमा लोसपाले जति स्थान जितेको थियो त्यसको एक चौथाइ जिताउन उसलाई समस्या भइरहेको छ ।

जसपाले आफ्नो पुरानो अवस्थालाई कायम राख्न सक्ने छैन । वीरगञ्जमा पनि पाँच दलीय गठबन्धन नभएको भए जसपाले यहाँ पनि पराजय भोग्नुपथ्र्यो । जसपा र लोसपाले चुनावमा अपेक्षित परिणाम हात पार्न नसक्नुको मुख्य कारण यसका नेताहरूको भनाइ र गराइमा ठूलो अन्तर हुनु हो । पाँच वर्ष प्रदेश सरकारमा रहेका पार्टीले बहाना बनाउन मिल्दैन । जनतालाई बहाना होइन, धरातलमा काम भएको देखिनुपर्छ । विकास कार्यको अनुभूति भएको हुनुपर्छ । अब मधेसी दलसित कुनै राजनीतिक मुद्दा नै छैन ।

समग्रमा नेपाली कांग्रेस पहिलो स्थानमा, नेकपा एमाले र नेकपा माओवादी केन्द्र दोस्रो र तेस्रो स्थानमा रहने निश्चित छ । निकै कम समयमा माधव नेपाल नेतृत्वको पार्टीले आफ्नो प्रभावकारी उपस्थिति देखाएको छ तर उसको सफलताको प्रतिशत राम्रो छ । दोस्रो स्थानमा नेकपा एमाले रहने निश्चित भएको छ । क्रमशः नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा नेपाल रहनेछ । सिके राउतको पार्टीले पनि खाता खोल्ने निश्चित छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?