आगोले जलेका बालकको उपचारमा समस्या

हिमालय टाइम्स
Read Time = 4 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । आगोले शरीर जलेका कोहलपुरका एक बालकको उपचारमा समस्या भएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण कोहलपुर–११ को देवन थारूको उपचारमा समस्या भएको हो । उहाँको हाल पुष्पलाल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल काठमाडौंमा उपचार भइरहेको छ । यही ४ गते थारूको चाउमिन बनाउन तताइएको पानीमा डुबेर सिंगो शरीरै जलेको थियो ।

उहाँको शरीरको देब्रेपट्टिको गाला, छातीदेखि पेटसम्मको पूरै भाग र खुट्टासम्म जलेको छ । बिरामी थारूका आफन्त ठिकबहादुर बस्नेत बालकको अवस्था चिन्ताजनक रहेको र घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारको लागि समस्या भइरहेको बताउनुहुन्छ । उहाँका अनुसार बालकको तातोपानीमा परेर शरीर जल्नेबित्तिकै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको थियो । त्यहाँबाट चिकित्सकले भर्ना नै नगरी भेरी अस्पताल लैजान आग्रह गरेका थिए । भेरी अस्पतालमा लैजाँदा त्यहाँबाट पनि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज (नर्सिङ होम) पठाइयो । त्यहाँ घाउमा डे«सिङ गरेर घाउमा आइस लगाउने काम भएको उहाँले बताउनुभयो । त्यसपछि बालकलाई थप उपचारको लागि काठमाडौं लगिएको बस्नेतले बताउनुभयो । ‘त्यतिबेला इमरजेन्सी भएकाले पैसा सरसापट गरेर पठाइयो । अहिले काठमाडौंमा उपचार भइरहेको छ । तर, थारूको घरको आर्थिक अवस्था नाजुक छ । उपचारमा समस्या भइरहेको छ । सहयोगका लागि सबैलाई अपिल गरेका छौँ ।’ उहाँले भन्नुभयो ।

कोहलपुर ११ पीपल चौतारा निवासी बालक थारूका बुबा सुरज थारू नेपाली कांग्रेसका क्रियाशील सदस्य हुनुहुन्छ । उहाँहरूको आम्दानीको स्रोत केही पनि छैन । रोजगारको कुनै माध्यम नहुँदा अहिले तीन बालक जीवन र मृत्युको संघारमा छन् । यता, थारूले आफ्नो घरको आर्थिक अवस्था नाजुक रहेको र आर्थिक सहयोग गरेर छोराको ज्यान बचाइदिन आग्रह गर्नुभएको छ । उहाँको उपचारको लागि अहिलेसम्म एक लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । बस्नेतले नेपालगञ्जबाट काठमाडौं लैजाँदा ८० हजार रुपैयाँ आफन्तहरूबाट जम्मा गरेर लगिएको तर, अहिले समस्या भइरहेको बताउनुभयो ।

अहिले काठमाडौंमा बिरामी बालकका बाबा, आमा र मामा हुनुहुन्छ । उपचारदेखि बस्न र खानको समेत समस्या परिरहेको उहाँहरूको गुनासो छ । बस्नेतले बाँकेवासी सम्पूर्णलाई सानो बालकलाई सहयोग गरिदिन अपिल गर्नुभएको छ । उहाँलाई सहयोग गर्न चाहने व्यक्तिहरूले एभरेष्ट बैंक लिमिटेडको खाता नम्बर ०१९००५१२२००१५२ मा सहयोग गर्न सक्नेछन् । यस्तै, ठिकबहादुर बस्नेतको सम्पर्क नम्बर ९८४४४५२१९८ मा पनि सम्पर्क गर्न सकिनेछ । थारूको उपचारको लागि कोहलपुर ग्यालरी लगायतका फेसबुक पेजमार्फत पनि सहयोगको लागि अनुरोध गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?