सर्लाहीमा मधेशी दललाई पछाडी पार्दै कांग्रेस पहिलो

Read Time = 15 mins

-प्रकाश मैनाली

सर्लाही । मधेश प्रदेशका आठ जिल्लालाई मधेश केन्द्रित राजनीतिक दलहरूले आफ्नो प्रभाव क्षेत्रका रूपमा लिने गरेका छन् । तर, यसपटकको स्थानीय तहको चुनावमा यसै क्षेत्रलाई आफ्नो आधार क्षेत्र बनाएर राजनीति गर्दै आएका मधेश केन्द्रित दललाई ठूलो धक्का लागेको छ । आफ्नो आधार क्षेत्रमै नेपाली कांग्रेसले नराम्रोसँग पराजयको स्वाद चखाएको छ । जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टीका (लोसपा) का प्रभावशाली नेताहरूको गृह जिल्लाका रूपमा रहेको सर्लाहीमै मधेश केन्द्रित दलले नराम्रोसँग पराजय भोगेको हो । जसपाका प्रभावशाली नेता तथा बहालवाला कृषि तथा पशुपन्छी मन्त्री महेन्द्रप्रसाद यादव तथा लोसपाका अध्यक्ष महन्थ ठाकुर लामो समयसम्म आफ्नो निर्वाचनमा सहभागी भएको जिल्ला प्रभावशाली नेता राजेन्द्र महतोको गृह जिल्लामै मधेश केन्द्रित दलले नराम्रो पराजय भोगेको छ ।

गत चुनावमा सात स्थानीय तहको प्रमुखमा बाजी मारेको मधेश केन्द्रित दलले यसपटक भने तीन स्थानीय तहमै चित्त बुझाएको छ । जसपाले दुई र लोसपाले एक स्थानमा चित्त बुझाएको छ । यसरी हेर्दा आफ्नो आधार क्षेत्रमै मधेश केन्द्रित दलले नराम्रोसँग पराजय भोगेका हुन् ।

देशकै सबैभन्दा बढी पालिका रहेको सर्लाहीमा नेपाली कांग्रेसले स्थानीय तहमा प्रमुख तथा उपप्रमुख जितेको आधारमा पहिलो पार्टी बनेको छ । यस जिल्लामा २० पालिमामध्ये १२ पालिका प्रमुख र ११ उपप्रमुखमा बाजी मार्दै नेपाली कांग्रोस पहिलो दल बनेको हो । यहाँ चार/चारजना प्रमुख तथा उपप्रमुख जितेर माओवादीले दोस्रो स्थानमा चित्त बुझाएको छ । जसपाले दुई स्थानमा प्रमुख तथा उपप्रमुख, एमालेले एक प्रमुख तथा दुई उपप्रमुख र लोसपाले एक प्रमुख तथा उपप्रमुखमै चित्त बुझाएको छ । यो नतिजासँंगै सर्लाहीमा जिल्ला समन्वय समितिमा समेत कांग्रेसका उम्मेदवारले बाजी मार्ने पक्का देखिएको छ ।

प्रभावशाली नेताकै पालिकामा पराजय

जसपाका प्रभावशाली नेता तथा वहालवाला कृषि तथा पशुपन्छी मन्त्री महेन्द्रप्रसाद यादवको गृहनगर सर्लाहीको हरिपुर्वामा नेपाली कांग्रेसले बाजी मारेको छ । यस पालिकामा नेपाली कांग्रेसले मेयर र उपमेयर दुवैमा बाजी मारेको छ ।

नेपाली कांग्रेसका मेयरका उम्मेदवार विनोदकुमार साह तेली र उपमेयर सुमित्रादेवी ग्वारनीले विजयको माला लगाउनुभएको छ । यस पालिकामा साहले पाँच हजार ९९ मत प्राप्त गरेर मेयरमा विजयी हुनुभएको छ । उपमेयर पदमा पनि नेपाली कांग्रेसकी सुमित्रादेवी ग्वारनी चार हजार ३९१ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका योगनारायण राय एक हजार ६०६ मत अन्तरले पराजित हुनुभएको छ ।

उहाँले तीन हजार ४९३ मतमात्र प्राप्त गर्नुभएको छ । उपमेयर पदमा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी सुनितादेवी यादवले तीन हजार चार सय मत प्राप्त गर्नुभएको छ । यस पालिकामा जसपा दोस्रो भएको छ भने सर्लाहीको चन्द्रनगर गाउँपालिका जहाँबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले प्रतिनिधित्व गर्नुहुन्छ, त्यस पालिकामा लोसपा तेस्रो भएको छ ।

अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजकुमार महतोले तीन हजार ९९५ मत तथा उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार गीतादेवी महतोले तीन हजार ८६० मत ल्याएर विजयी हुनुभएको छ । महतोका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लोकेन्द्र मुखियाले तीन हजार ५३६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा गीता देवीको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार मञ्जु देवीले दुई हजार ९५८ मत प्राप्त गरेर विजयको माला पहरिँदा लोसपाले भने तेस्रो स्थानमा चित्त बुझाएको छ ।

राजेन्द्र महतोको वडामा कांग्रेस विजयी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोको वडामा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।

महतोको घर रहेको बबरगञ्ज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका–२ को वडाध्यक्षमा कांग्रेसका शम्भुप्रसाद साह तेली ६१२ मतसहित विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी लोसपाका कामेश्वर साह तेलीले ५४४ मतमात्र प्राप्त गर्नुभएको छ ।

लोसपाका शम्भुले वडाध्यक्षमा विजय हासिल गर्दै कांग्रेसको चारतारे झण्डा फराउन सफल हुनुभएको छ । लोसपा वरिष्ठ नेता महतोको वडामा निकै वर्षपछि कांग्रेसले जितेको हो ।

सांसदबाट राजीनामा दिनुभएका कुशवाहा पराजित

प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसको प्रमुख सचेतक पदबाट राजीनामा दिएर नगरप्रमुखको उम्मेदवार बन्नुभएका उपेन्द्र कुशवाहा पराजित हुनुभएको छ । गत चुनावमा समेत सर्लाहीको गोडैता नगरपालिकाको प्रमुखमा कुशवाहाले पराजय भोग्नुपरेको थियो ।

त्यसपछि कुशवाहाले प्रदेशसभा सदस्यको उम्मेदवार भएपछि आफ्नो पक्षमा नतिजा पार्न सफल हुनुभएको थियो । कुशवाहाले दुवै चुनावमा देवेन्द्रकुमार यादवसँग पराजय भोग्नुभएको हो । गत चुनावमा र यसपटकसमेत यादवसँगै कुशवाहाले पराजय भोग्न पुग्नुभएको छ । उहाँ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्रकुमार यादवसँग ५४२ मतान्तरले पराजित हुनुभएको छ ।

अन्तिम मतपरिणामअनुसार कुशवाहा दोस्रो नम्बरमै सीमित हुनुभयो । यादवले पाँच हजार २९४ मत ल्याउँदा कुशवाहाले चार हजार ७५२ मत पाउनुभयो । गोडैताको नगरप्रमुख पदमा उम्मेदवारी दिन कुशवाहाले १० वैशाखमा प्रदेश सांसद पदबाट राजीनामा दिनुभएको थियो । नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत रहनुभएका कुशवाहा सर्लाहीको क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

सर्लाहीमा १२ जना निवर्तमान पालिका प्रमुख पराजित, चारजनाको भने जित

सर्लाहीमा ११ जना निवर्तमान पालिका प्रमुखहरू यो पटकको निर्वाचनमा पराजित हुनुभएको छ । दोस्रो कार्यकालका लागि पुनः चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका सातजना निवर्तमान नगरप्रमुख र पाँचजना निवर्तमान गाउँपालिका अध्यक्षहरू यो पटक भने पराजित हुनुभएको हो ।

सदरमुकाम मलंगवा नगरपालिकाका निवर्तमान नगरप्रमुख निरसल साह २०७४ सालको निर्वाचनमा जसलाई हराएर नगरप्रमुख बन्नुभएको थियो अहिले उसैसँग पराजित हुनुभएको छ । तत्कालीन समयमा नेपाली कांग्रेसका उम्मेदवार साह स्वतन्त्र उम्मेदवार नागेन्द्रप्रसाद यादवलाई हराएर नगरप्रमुख बन्नुभएको थियो । यो पटक यादवले कांग्रेसमा प्रवेश गरेर साहलाई नै दोब्बर बढी मतले पराजित गर्नुभएको हो ।

कांग्रेसले यादवलाई टिकट दिएपछि निवर्तमान नगरप्रमुख साहले भने जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेर सोही पार्टीबाट उम्मेदवारी दिनुभएको थियो । कांग्रेसका यादवले नौ हजार ७८ मत पाउँदा साहले चार हजार ६३९ मतमात्रै पाउनुभयो । त्यस्तै, हरिवन नगरपालिकामा निवर्तमान नगरप्रमुख गणेशप्रसाद प्रसाईसँग यसअघि पराजित हुनुभएका रमेश बुढाथोकी (कमल) ले यो पटक भने प्रसाईलाई नै हराउनुभएको छ ।

माओवादीबाट नगरप्रमुखमा निर्वाचित बुढाथोकीले सात हजार दुई मत ल्याउँदा एमालेका प्रसाईले छ हजार ८४९ मतमात्रै प्राप्त गर्नुभयो । त्यसैगरी, ब्रहृमपुरी गाउँपालिकाका निवर्तमान अध्यक्ष तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) हाल लोकतान्त्रिक समाजवादी पार्टीका विनोदकुमार साहसँग २०७४ सालमा पराजित हुनुभएका तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हाल नेपाली कांग्रेसका रामपदारथ साहले यो पटक जित हासिल गर्नुभएको छ ।

८० वर्षीय रामपदारथले चार हजार ६६८ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा निवर्तमान अध्यक्ष लोसपाका विनोदकुमारले तीन हजार २७१ मतमात्रै पाउनुभएको छ । त्यसैगरी, जिल्लाका अन्य नौ पालिकाका निवर्तमान प्रमुखहरू भने २०७४ को भन्दा अरू नै प्रतिस्पर्धीहरूसँग पराजित हुनुभएको छ । ईश्वरपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख एमालेका मनोजकुमार देवकोटालाई कांग्रेसका मनोजकुमार आचार्य, हरिपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख नेकपा (एकीकृत समाजवादी) का जमिरुदिन मन्सुरलाई कांग्रेसका गोपाल पञ्जियार, चन्द्रनगर गाउँपालिकाका निवर्तमान अध्यक्ष लोसपाका महेन्द्र महतोलाई कांग्रेसकै राजकुमार महतो, बलरा नगरपालिकाका निवर्तमान नगरप्रमुख लोसपाका अभयकुमार सिंहलाई माओवादी केन्द्रका रामाशंकरप्रसाद कुशवाहा र बसबरिया गाउँपालिकाका निवर्तमान अध्यक्ष कांग्रेसका रामअयोध्या यादवलाई जनता समाजवादी पार्टी (जसपा) का रामसिंहासन रायले पराजित गर्नुभएको छ ।

यस्तै, कौडेना गाउँपालिकाका निवर्तमान अध्यक्ष लोसपाका रामप्रसाद राय यादव कांग्रेसका रूपेशकुमारसँग, चक्रघट्टा गाउँपालिकाका निवर्तमान अध्यक्ष माओवादी केन्द्रका विक्रम यादव जसपाका कृष्णकुमार यादवसँग र कविलासी नगरपालिकाका निवर्तमान नगरप्रमुख तत्कालीन राजपा (हाल एमालेका) कौशलकिशोर यादव नेपाली कांग्रेसका ब्रहृमदेव रायसँग पराजित हुनुभएको छ । सर्लाहीमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिनुभएका १६ जना पालिका प्रमुखहरूमध्ये गोडैता नगरपालिकाका निवर्तमान नगरप्रमुख लोसपाका देवेन्द्रकुमार यादव, बागमती नगरपालिकाका निवर्तमान नगरप्रमुख माओवादीका भरतकुमार थापा, धनकौल गाउँपालिकाका निवर्तमान अध्यक्ष कांग्रेसका रामआश्रय साह र विष्णु गाउँपालिकाका निवर्तमान अध्यक्ष कांग्रेसकै जवाहरलाल यादवसहित चारजना पालिका प्रमुखहरू भने पुनः निर्वाचित हुनुभएको छ ।

यसैबीच, सर्लाहीको ब्रहृमपुरी गाउँपालिकामा नेपाली कांग्रेसले क्लिनस्विप गरेको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सबै सदस्य पदहरूमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?