चुनावमा भोट हाल्न पुगेका विद्यार्थीलाई जिल्लाबाहिर जान समस्या

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 7 mins

हुम्ला । हुम्लामा झण्डै चार महिनादेखि निजी एयरलाइन्सले फाट्टफुट्ट उडान भर्दै आउँदा यहाँका नागरिकलाई जिल्लाबाहिर जान सास्ती भएको छ । गएको वैशाख ३० गते भएको निर्वाचनमा आफू जित्नका लागि भोट हाल्न देशका विभिन्न शहरबाट विद्यार्थी तथा अन्य नागरिकलाई जहाज चार्टर गरेर जिल्ला ल्याए पनि अहिले उनीहरूलाई जिल्लाबाहिर जान थप सास्ती भएको हो ।

यसबाट बढी जसो विद्यार्थी मर्कामा परेका छन् । चुनावको समय एक भोटको महत्व दिने उम्मेदवार तथा जनप्रतिनिधिले चुनावपछि बेवास्ता गर्ने गरेको विद्यार्थीको गुनासो रहेको छ ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरिकलाई एकमात्रै अन्तरजिल्ला जोड्ने हवाई सेवा भए तापनि निजी एयरलाइन्सहरूले नाफामुखी उडान गर्नाले टिकट पाउन मुस्किल भएको छ । सुर्खेत नेपालगञ्जबाट नियमित उडान गरिरहेका सीता, तारा, समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन मुस्किल भएको छ ।

तारा एयरले एक दिनमा एउटा उडान गरे पनि एयरलाइन्सका हाकिमहरूले कोठाबाट नै टिकट बुक गर्दा पहुँच नभएका जिल्लाबाहिर जाने नागरिक तथा विद्यार्थीलाई समस्या भएको सिमकोट विमानस्थलमा टिकटका लागि भौंतारिरहेका विद्यार्थीले गुनासो गर्ने गरेका छन् ।

बुधबार समिट एयरले हुम्लामा दुई फ्लाइट गरेको छ भने तारा एयरले एकमात्रै उडान गरेको हो । तारा एयरले इसेवाबाट टिकट बुकिङ गर्दा सर्वसाधारण झन् समस्यामा परेका छन् । जिल्लाका अधिकांश विद्यार्थीको परीक्षासमेत छुट्ने सम्भावना बढी भएको छ ।

पहुँचवालालाई मात्रै टिकट वितरण हुँदा आफ्नो परीक्षा छुट्ने अवस्था आएको सिमकोट–३ का सन्दीप लामाले बताउनुभयो । टिकटका लागि दैनिक निजी एयरलाइन्सको कार्यालय धाउँदा टिकट पाउन मुस्किल भएको लामाले गुनासो गर्नुभयो । आफू काठमाडौंमा अध्ययन गर्दै आएका र अहिले परीक्षा नजिक आएको भए पनि टिकट पाउन मुस्किल भएको लामाले गुनासो पोख्नुभयो ।

यस्तै १४ गते हुने लोकसेवा आयोगको परीक्षा दिन जाने विद्यार्थी थप मर्कामा परेका छन् । आजसम्म जिल्लाबाहिर उड्न नपाउँदा उनीहरूलाई झन् समस्या बनाएको छ । सीता एयरले निकै लामो समयदेखि हुम्लाको उडान ठप्प गरेको छ भने अन्य जहाजले तीन÷चार दिनको अन्तरमा एउटा उडान गर्ने गरे पनि निजी एयरलाइन्सका कर्मचारीहरूले भनसुनका आधारमा टिकट वितरण गर्दै आउने गरेका छन् । बिहान ६ बजेदेखि सिमकोट विमानस्थलमा टिकटका लागि लाइन लाग्ने गरे पनि टिकट पाउन मुस्किल भएको छ ।

जिल्लाबाहिर जान पहुँचवाला र राजनीतिक दलका आसेपासेले मात्रै टिकट पाउने गरेका छन् । बिहानैदेखि टिकटका लागि विमानस्थलमा धाउने सर्वसाधारणहरूले टिकट नपाएर सास्ती भोग्दै आएका छन् । सिमकोट विमानस्थलमा टिकटका लागि एकाबिहानै यात्रुको भीड हुन्छ ।

गृहजिल्लाकै मुख्यमन्त्री र मन्त्रीको बेवास्ता

कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाले प्रदेश सरकारको मुख्यमन्त्री र मन्त्री पद पाएको छ । तर, महिनौदेखि यात्रुले टिकट नपाएर अलपत्र पर्दासम्म प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री र मन्त्रीले वास्ता नगरेको भन्दै हुम्लाका नागरिकले गुनासो गरेका छन् । नेपालगञ्ज, सुर्खेतबाट हुम्लाका लागि नियमित उडान गराउन प्रदेश सरकारले कुनै चासो देखाएको छैन ।

नाफामुखी उडान भर्ने निजी एयरलाइन्सलाई प्रदेश सरकारमा रहेका मुख्यमन्त्री कार्यालय सुर्खेत र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले हुम्लाको नियमित उडानका लागि कुनै वास्ता नगरेको भन्दै जिल्लाबाहिर जानका लागि टिकट नपाएर सिमकोट विमानस्थलमा भौंतारिरहेका एक हुम्लीले गुनासो पोख्नुभएको छ । जिल्लाका अधिकांश विद्यार्थीको परीक्षासमेत छुटिसकेको छ । तर, हुम्लाबाट प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री र मन्त्रीले कुनै वास्ता नगरेको बताइएको छ । चुनावका बेला जहाज चार्टरका चार्टर गर्ने जनप्रतिनिधिले समेत वास्ता गर्न छोडेका छन् ।

निजी एयरलाइन्स पर्यटक ओसार्न लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा गएपछि जिल्लामा उडान हुन पाएको छैन । पर्यटक आउने मौसममा त निजी एयरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको स्थानीय बासिन्दाहरूको गुनासो छ । निजी एयरलाइन्सले हुम्लामा दैनिक एक/एक वटा उडान अनिवार्य गर्नुपर्ने नियम भए पनि उक्त नियमलाई उल्लंघन गरी उडान ठप्प गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?