झापा एफसी ‘बी’ डिभिजनमा बढुवा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । झापा फुटबल क्लब एक खेल बाँकी छँदै शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा सोमबार भएको १२औँ राउन्डको खेलमा वीरगञ्ज युथ एकेडेमीमाथि ५–० को फराकिलो जित निकाल्दै झापा एक खेल बाँकी छँदै ‘बी’ डिभिजनमा बढुवा भएको हो ।

शीर्षस्थानमा रहेको झापाले १२ खेलबाट ३१ अंक जोडेको छ । झापाले प्लानिङ ब्वाइज युनाइटेड र आरसी ३२ फुटबल एकेडेमीविरुद्ध तीन अंकको अग्रता लिँदै बी डिभिजनमा स्थान बनाएको हो । ब्वाइज र आरसीको समान २८ अंक छ । झापाले आरसी ३२ लाई हराएको छ । झापाले आफ्नो खेलमा हार भोग्ने र आरसी ३२ ले जितेको अवस्थामा हेड टु हेडमा झापा नै माथि रहनेछ ।

झापाले १२ खेल खेल्दा १० मा जित, समान एक बराबरी र हारको नतिजा निकालेको छ । अब प्लानिङ ब्वाइज र आरसी ३२ मध्येबाट एक टोली बढुवा हुनेछ ।

वीरगञ्जविरुद्ध झापाको फराकिलो जितमा पुजन राईले हृयाट्रिकसहित चार तथा सन्तोष लावतीले एक गोल गर्नुभयो । खेलको १३औँ मिनेटमा पुजनले गोल गर्दै झापालाई सुरुवाती अग्रता दिलाउनुभयो । उहाँले ६५औँ मिनेटमा दोस्रो गोल थप्नुभयो । त्यसपछि पुजनले ७४औँ मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गर्नुभयो ।

इन्जुरी समयमा सन्तोषले र पुजनले व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौँ गोल गर्दै झापालाई सानदार जित दिलाउनुभयो । झापासँगको हारसँगै वीरगञ्ज रेलिगेसनमा परेको छ । वीरगञ्ज १२ खेलबाट पाँच अंक जोडेर १३औँ स्थानमा रहृयो । महावीर क्लबसँग पराजित भएपछि ओएसिस क्लब पनि रेलिगेसनमा परिसकेको छ । ओएसिस १२ खेलबाट चार अंक जोडेर पुछारमा छ ।

त्यसअघि प्लानिङले समाज कल्याण खेलकुद केन्द्रलाई ४-० गोल अन्तरले पराजित ग¥यो । खेलको १९औँ मिनेटमा फागुराम थारुले गोल गर्दै प्लानिङलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । ४१औँ मिनेटमा प्रतापसिंह राईले गोल गर्दै प्लानिङको अग्रता २-० को बनाउनुभयो । खेलको ६८ औँ मिनेटमा विपिन पराजुलीले आत्मघाती गोल गरेपछि प्लानिङको अग्रता ३-० को बन्यो ।

त्यसपछि खेलको ८१औँ मिनेटमा अर्जुनकुमार रानाले गोल गर्दै प्लानिङलाई ४-० को जित दिलाउनुभयो । जितसँगै प्लानिङले १२ खेलमा २८ अंक जोडेको छ । प्लानिङले अब अन्तिम खेल जितेको खण्डमा बी डिभिजनमा बढुवा हुनेछ । समाज कल्याण १५ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?