मौलिक सामग्रीले पाउन छाडे बजार

Read Time = 6 mins

-डम्मर बुढा मगर

बागलुङ । केही वर्षअगाडिसम्म ग्रामीण क्षेत्रमा डालो, नाङ्लोको प्रयोग निकै हुने गथ्र्यो । मौलिकतासँग जोडिएका यस्ता सामग्रीहरू अहिले कम प्रयोग हुन थालेका छन् । बजारमा प्लास्टिकका रेडिमेड सामग्रीहरू आउन थालेपछि गाउँमा बनाइएका डाला, नाङ्लोको प्रयोग कम हुन थालेपछि मौलिकतासमेत हराउँदै जान थालेका छन् । वर्षौँदेखि डालो-नाङ्लो बुन्ने र बिक्री गरी परिवार पाल्दै आएकाहरू पनि समस्यामा पर्न थालेका छन् । बागलुङको बडिगाडका होमबहादुर थापाले वर्षौँदेखि डालो–नाङ्लो बुन्ने र बिक्री गरी घरपरिवार चलाउँदै आउनुभएको छ । अहिले आफूले बनाएका सामग्रीले बजार पाउन छाडेपछि घरपरिवार चलाउन समस्या हुन थालेको थापाले बताउनुभयो ।

केही वर्षअगाडिसम्म निकै बिक्री हुने डालोहरू पछिल्लो समय लोकप्रियता कम हुँदै गएको उहाँ बताउनुहुन्छ । बजारमा नयाँ–नयाँ प्रविधिका नापतौलका सामग्रीहरू आएपछि आफूहरूले बुनेका डालो–नाङ्लोले बजार पाउन छाडेको होमबहादुर बताउनुहुन्छ । परम्परागत नापतौल गर्ने तुलाका रूपमा प्रयोग हुने मानापाथी आजकल किलो र लिटरमा परिवर्तन भएको उहाँ सुनाउनुहुन्छ । ‘हामी सानो–सानो हुँदा केही अन्नपात किन्दा मानापाथीबाट तौलिने गर्थे, अहिले त सबै किलोको हिसाब हुन थाल्यो, यसले गर्दा पनि होला गाउँघरमा उत्पादन हुने परम्परागत मानापाथीको प्रयोग हराउँदै गए,’ थापाले भन्नुभयो, ‘यही हिसाबले हेर्ने हो भने त हाम्रा सीपको प्रयोग हुने ठाउँ विस्तारै लोप हुने हो कि भन्ने लाग्छ ।’

थापाले बाह्रै महिना यही डालो–नाङ्लो बुन्ने काममात्रै गर्नुहुन्न । उहाँले खेतीकिसानी पनि गर्नुहुन्छ । उहाँले डालो–नाङ्लो फुर्सदको समयमा मात्रै बुन्ने गर्नुहुन्छ । पर्याप्तमात्रामा चोया भए दिनमा पाँच÷सात वटासम्म बुन्न सकिने उहाँहरूको अनुभव छ । पछिल्लो समय कच्चा पदार्थसमेत अभाव हुन थालेको थापा गुनासो गर्नुहुन्छ ।

‘वर्षैभरि यही बुन्ने काम गर्ने हो भने त धेरै बनाइन्थ्योे होला, खेती पनि गर्नुप¥यो, घरको काम पनि, जसले गर्दा त्यति धेरै समय दिन सकिँदैन, यो त बेलामौका पारेर बुनेको हो,’ थम्मन थापाले भन्नुभयो, ‘आजभोलि त पहिले–पहिलेको जस्तो चोया पनि प्रशस्त पाइँदैन, वनजंगल धाउनुपर्छ, चोया हुने हो भने दिनमा पाँच/सातवटा बुन्न सकिन्छ ।’

आफ्नो बाबुबाजेले बुनेको देखेर आफूले पनि सिकेको भन्दै अहिलेका युवापुस्ताले यसप्रति चासो नदेखाएको उहाँले बताउनुभयो । आफूहरूको पुस्तापछि परम्परागतरूपमा बुनिँदै आएका डालो–नाङ्लो लोप हुन सक्ने उहाँको भनाइ छ । अहिले पनि गाउँका थोरै मान्छेले मात्रै बुन्ने गरेका छन् । ‘हामी पछिका मान्छेहरूले त अब यस्ता बुन्ने कामहरू त गर्दैनन् होला, अहिले कसैले पनि सिक्ने चासो देखाउँदैनन्, हामीले त सानैदेखि डोको, नाङ्लो, पाथी, डालो बुन्न सिक्ने गरेका थियौँ,’ थापाले भन्नुभयो, ‘पछि–पछिका मान्छेले त यो डालो–नाम्लो पनि चिन्दैनन् होला, त्यसबेला बुन्ने मान्छे कोही पनि हुन्न होला ।’

थापा फुर्सदको समयमा डालो बुनेर बेचे पनि वर्षमा डेढ दुई लाख आम्दानी गर्ने गरेको बताउनुहुन्छ । धेरै समय दिन नसके पनि फुर्सदको समयलाई सदुपयोग गरेर थापा डालो–नाङ्लो बुन्ने गरेको बताउनुहुन्छ । यसबाट आफूले आफ्नो घरखर्च चलेको र बालबच्चाको लालनपालन र पठनपाठनमा सहज भएको उहाँ बताउनुहुन्छ । थापाको घरमा छोराछोरी र एक श्रीमती छन् । ‘उही केही गर्न सकिएन, धेरै पढ्न पनि पढिएन, गाउँमा बस्यो, खेतीकिसानी गर्यो, यही डालो–नाङ्लो बुनेर कहिलेकाहीँ बेच्ने गरेको छु, यहीबाट घरखर्च चलेको छ,’ उहाँले भन्नुभयो, ‘व्यावसायिकरूपमा गरेको भए राम्रो हुन्थ्यो होला, त्यसरी व्यवस्थित गर्न पनि सकिएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?