भोजपुरमा भएको आँखा शिविरमा ७९ जनाको शल्यक्रिया

हिमालय टाइम्स
Read Time = 3 mins

निरोज कोइराला

भोजपुर । भोजपुरमा सञ्चालन भएको आँखा शिविरमा ७९ जनाको मोतीबिन्दुको अप्रेसन भएको छ । जिल्लामा आँखाका बिरामीहरूको संख्या बढी नै देखिने गरेकाले नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।

भोजपुर नगरपालिका–१२, पुरानो डबलीमा भएको शिविरमा ७९ जनाको मोतीबिन्दुको शल्यक्रिया र ४५० जनाले आँखा जाँचको सेवा पाएको नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्रका प्रमुख विजय तामाङले जानकारी दिनुभयो । केन्द्रले जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा समेत दुईदिने शिविर सञ्चालन गरेको थियो ।

विराटनगर आँखा अस्पतालका नेत्र विशेषज्ञ डाक्टर सुनिता कोइरालासहितको टोलीले शिविरमा सेवा दिएको
हो ।
जिल्लामा आँखाका रोगीहरूको संख्या बढी नै देखिने गरेकाले नेपाल नेत्रज्योति संघ भोजपुरले जिल्लाका ग्रामीण क्षेत्रहरूमा समेत नियमित आँखा परीक्षण शिविरहरू गर्दै आइरहेको संघका जिल्ला सभापति तेज मोक्तानले बताउनुभयो । ‘विगतमा सामान्य आँखा परीक्षणका लागिसमेत हजारौं खर्च गरेर अन्यत्र जानुपर्ने अवस्था, आफ्नै ठाउँमा शिविर सञ्चालन हुन थालेपछि हटेको छ,’ सभापति मोक्तानको भनाइ छ ।

संघका सदस्य धर्मराज राईले जिल्लाभित्र रहेका सबै पालिकाहरूमा आलोपालो मिलाएर शिविरहरू सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो । भोजपुरमा दुई नगरपालिका र सातवटा गाउँपालिका छन् । जिल्लामा नै शल्यक्रियाका साथै आँखा परीक्षण गराउन पाएकोमा सेवाग्राहीसमेत खुसी छन् । शल्यक्रियासहितको शिविर निरन्तर हुनुपर्नेमा जिल्लावासीको माग छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?