बजेटबारे अर्थमन्त्री शर्माको जवाफ : आर्थिक संकट आउन नदिन आन्तरिक उत्पादनमा जोड

Read Time = 6 mins

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताउनु भएको छ ।

बजेट छलफलमा उठेका प्रश्नको शुक्रबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताउनु भएको हो । उहाँले १५ औं आवधिक योजनाले निकालेको निष्कर्ष अनुसार ६९.७ वर्ष आयु रहेको सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरिएको बताउनु भयो । यो भन्दाअघि ७० वर्षमा वृद्धभत्ता दिइँदै आएकोमा आगामी आर्थिक वर्षको नयाँ बजेटमा उमेर घटाएर ६८ वर्ष पु¥याइएको छ ।

उहाँले भन्नुभयो, ‘विपन्न नागरिकहरुको सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरेको विषय छ । नेपालको १५ औं आवधिक योजनाले निकालेको निष्कर्ष नेपालको औषत आयु ६९.७ वर्ष आयु रहेछ । यो योजना आयोगले १५ औं योजनामा निकालेको तथ्याङक हो । त्यो भएकाले एउटा तल्लो वर्ग रहेको छ । उसको आयुकम नै हुने गरेको छ । त्यसलाई पनि सामाजिक सुरक्षामा ल्याउने उदेश्यका साथ सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६८ वर्ष बनाइएको छ ।’

मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट सबै सरोकारवाला निकायहरुसँगको छलफल, सुझाव र योजनाका आधारमा बजेट ल्याएको बताउनु भयो । उहाँले अर्थशास्त्रीदेखि निजी क्षेत्रको समेत सुझाव समावेश गरेर बजेट ल्याएको दाबी गर्नु भयो । सबैको माग, सुझाव र छलफलको माध्यमबाट बजेट प्रस्तुत भएकाले बजेट सबैको स्वामित्व रहेको मन्त्री शर्माले बताउनु भयो । सांसदहरुले सरकारले चुनाव लक्षित बजेट ल्याएको भने पनि आफूले संयमित भएर बजेट ल्याएको बताउनु भयो । उहाँले अघिल्लो सरकारले ल्याएको भन्दा गत वर्षको प्रतिस्थापन बजेट १०.७३ प्रतिशतले मात्रै वृद्धि भएको बताउनु भयो । मन्त्री शर्माले प्रतिस्थापन विद्येयक बजेट भन्दा आगामी आर्थिक वर्षको बजेट ९.८६ प्रतिशतले मात्रै बढी भएको बताउनु भयो ।

अर्थमन्त्री शर्माले संविधानमा कति समयका लागि बजेट बनाउने भनेर लेखेको नभेटेको बताउनु भएको छ । मन्त्री शर्माले बजेट छलफलमा नेकपा एमालेका सांसदहरुले प्रदेश र केन्द्रको निर्वाचनभन्दा अगाडिसम्म मात्रै रहने सरकारले ५ वर्षको लागि भनेर आयोजनामा बजेट ल्याएको भनाइको जवाफ दिँदै ‘संविधानमा कति समयको लागि बजेट ल्याउने भनेर लेखेको कतै नभेटिएको बताउनु भयो । उहाँले संविधानमा त्यस्तो व्यवस्था नदेखिएकाले एक वर्षको लागि बजेट ल्याएको बताउनु भयो । मन्त्री शर्माले निर्वाचन आफ्नो प्रक्रियामा हुने भन्दै निर्वाचनपछि आउने सरकारले पनि यही बजेट कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले अहिले सरकारले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरेकाले यो बजेट पनि पछि आउने सरकारले कार्यान्वयन गर्ने बताउनु भयो ।

अर्थमन्त्री शर्माले आन्तरिक उत्पादनमा बजेटले जोड दिएको दोहो¥याउनु भयो । उहाँले पछिल्लो समय मुलुकले भोगी रहेको आर्थिक संकट आउन नदिनको लागि मुलुकभित्र नै आन्तरिक उत्पादनमा जोड दिने गरि बजेट आएको बताउनु भयो ।

त्यस्तै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमा शिक्षामा लगानी बढेको बताउनु भयो । उहाँले विगतको भन्दा थोरै भए पनि शिक्षामा लगानी बढाइएको बताउनु भयो । मन्त्री शर्माले सरकारले बजेटमा १२ कक्षा पढिसक्दा सीप सिकेर निस्कने व्यवस्था हुने गरि प्राविधिक शिक्षाको परिकल्पना गरिएको बताउनु भयो । शक्तिलाई सीपयुक्त बनाउने गरी बजेटमा आधारभूत पूर्वाधार बनाएर मेडिकल शिक्षा नेपालमा नै पढाउने व्यवस्था गरिएको मन्त्री शर्माले बताउनु भयो । उहाँले हजारौँ विद्यार्थीहरु मेडिकल शिक्षा अध्ययनका लागि विदेशमा गएकाहरूलाई रोक्न नयाँ योजना बनाइएको मन्त्री शर्माको भनाइ छ । उहाँले आईटी शिक्षा र सूचना प्रविधिमा आधारित कुराहरू बजेटमा राखिएको बताउनु भयो ।

अर्थमन्त्री शर्माले विद्युतीय इन्डक्सन चुलो भोटका लागि घोषणा नगरिएको बताउनु भयो । उहाँले इन्डक्सन चुलो वितरणमा भेदभाव नहुने भन्दै प्रमुख प्रतिपक्ष दल एमालेलाई पनि सो कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भयो । उहाँले सरकारले विद्युतीय सवारी साधनको कर कुनै स्वार्थका लागि नबढाएको जिकीर गर्नु भयो ।

मन्त्री शर्माले मुलुकको आवश्यकतालाई हेरेर विद्युतीय निजी सवारी साधनमा कर वृद्धि गर्नु परेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?