बैजनाथमा ‘एक वडा एक पकेट क्षेत्र’ निर्धारण

हिमालय टाइम्स
Read Time = 5 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । जिल्लाको बैजनाथ गाउँपालिकाका ७० प्रतिशत नागरिक कृषि पेसामा आवद्ध छन् । गाउँपालिकाका ७० हजार नागरिक मध्ये बहुसंख्यक नागरिक कृषि पेसामा निर्भर छन् । बैजनाथ गाउँपालिकाका प्रमुख बाली धान हो । मकैं र गहुँ पनि यहाँको प्रमुख बालीका रुपमा रहेका छन् । त्यसपछि यहाँका नागरिकले सबै भन्दा धेरै अंगालेको व्यवसाय भनेको तरकारी, फलफूल र च्याउ खेती हो । गाउँपालिकामा कृषिका १५० वटा र १०५ कृषि फर्म र मिश्रित खेतीका फर्महरु कृषि शाखामा दर्ता छन् ।

बैजनाथ गाउँपालिका अन्तर्गत कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माका अनुसार बैजनाथ गाउँपालिका फलफूलमा आत्मनिर्भर छ । गाउँपालिकाले ड्रागन फूडहरु कैलाली, सुर्खेत, दाङ र नेपालगन्ज लगायताका जिल्लामा निर्यात गर्दै आएको छ । यस्तै मासु र दुधजन्य उत्पादनमा समेत गाउँपालिका आत्मनिर्भर रहेको उहाँले बताउनुभयो ।

बैजनाथ आलूमा समेत आत्मनिर्भरताको बाटोमा रहेको छ । त्यतिमात्रै होइन गाउँपालिकाले धान पकेट क्षेत्र, मकै पकेट क्षेत्र र तरकारी पकेट क्षेत्र नै घोषणा गरेको छ । सरकारीमा समेत आत्मनिर्भर रहेको उहाँले बताउनुभयो । गाउँपालिकामा बाहिरबाट तरकारी नआउने र अर्गानिक तरकारी उत्पादन हुने गरेको विश्वकर्माको भनाइ छ । बैजनाथ गाउँपालिकामा ८ वटा वडा छन् । वडा नम्बर १ को चिसापानी र च्यामा तरकारी पकेट क्षेत्र हुन् ।
वडा नम्बर २ को पहाडीपुर र वडा नम्बर ३ को वडा नम्बर ३ को नौवस्ता क्षेत्र,सल्यानी टोल र गाभरलाई तरकारी पकेट क्षेत्रको रुपमा तोकिएको कृषि शाखा प्रमुख विश्वकर्माले बताउनुभयो । यस्तै वडा नम्बर ४ को तिलकपुर, वडा नम्बर ५ को सल्यानी टोल जि गाउँको केही भाग र दक्षिण ददौरा तरकारी पकेट क्षेत्रका रुपमा रहेका छन् । वडा नम्बर ६ गडरही क्षेत्र र एच गाउँ, वडा नम्बर ७ को कडेलपुर तरकारी पकेट क्षेत्रको रुपमा रहेको छ । उक्त वडाको पेडारी र करेनपुरमा रहेका ५० वटा घरधुरी नै व्यवसायिक तरकारी खेतीमा आवद्ध रहेका छन् ।

त्यहाँ कांग्रा,तिते करेला खुर्सानी ,लौकी लगायतका तरकारी उत्पादन नगरेका कृषक नै छैनन् । वडा नम्बर ८ का टिटिरिया ,करेली र फत्तेपुर पनि तरकारी पकेट क्षेत्रका रुपमा रहेका छन् । वडा नम्बर ८ मा एउटै व्यवसायीले तीन विगाह क्षेत्रफलसम्म तरकारी व्यवसाय गर्दै आएको कृषि शाखाले जनाएको छ । अन्य वडामा एउटा कृषकले १० कट्ठादेखि ४ विगाहा क्षेत्रमा तरकारी उत्पादन गर्ने गरेको उनले बताए । यस्तै वडा नम्बर १ मा ६ वटा र वडा नम्बर २ मा ८ वटा व्यवसायिक कृषि फर्म रहेका छन् ।

‘तरकारीमा आलू, गोलभेडा, फर्सी बोडी, सिमी लगायतका दर्जन बढी उत्पादन रहेका छन् । हामी कृषि उत्पादनमा आत्मनिर्भर छौँ ।’ कृषि शाखा प्रमुख विश्वकर्मा भन्छन्, ‘यहाँका हरेक उत्पादन अर्गानिक र प्रांगारिक छन् । गाउँपालिकाले प्रांगारिक खेती प्रणाली लागू गरेको छ । एकीकृत सत्रुजीव व्यवस्थापन प्रणाली लागू रहेको छ ।’ गाउँपालिकाले कृषि व्यवसायका लागि कृषि यान्त्रीकरण, सिँचाइ, मल तथा बिउविजनका लागि कृषि अनुदान प्रदान गर्दै आएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?