सिन्धुपाल्चोकमा छैन विपदको पूर्व तयारी, बर्षा शुरु भएसँगै बढ्यो त्रास

हिमालय टाइम्स
Read Time = 4 mins

सिन्धुपाल्चोक । यस वर्ष मनसुन जेठबाटै सुरु भएको छ । धेरै वर्षा हुँदा पहाडी क्षेत्रमा बाढी पहिरोको प्रकोपले बढी सताउने गर्दछ । त्यसैमाथि प्राकृतिक विपदको चपेटामा परिरहने सिन्धुपाल्चोकमा विपद पूर्वको तयारीमा सरकार जिम्मेवार देखिएको छैन् ।

हेलम्बु गाउँपालिकाका डम्बरबहादुर भण्डारी भन्नुहुन्छ, ‘ सरकारले पूर्व तयारी गरिदिए अघिल्लो वर्षाको बाढीबाट जोगिएको घर बच्थ्योकि भन्ने आश थियो तर, अहिलेसम्म केही व्यबस्थापन नभैकन मनसुन सुरु भयो । अब जोखिम मोलेर बस्न बाध्य भएका छौं, कि आफूखुसी सबै जना घर छोडेर हिँड्नु पर्यो । ’

जोखिममा रहेका बस्तीका परिवार बर्खा लाग्नु अगावै सुरक्षित ठाउँमा जान चाहन्छन् । तर, बस्ती स्थानान्तरणको काममा ढिलासुस्ती हुँदा यो वर्खामा फेरी मानवीय क्षति हुन सक्ने खतरा देखिएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूगर्वविद् सहित सिन्धुपाल्चोकका २५० बस्तीको अध्यन गर्दै जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न सिफारिस गरेको थियो ।

सिन्धुपाल्चोकका १२ बस्ती तत्कालै सार्नुपर्ने खालका छन् । बाँकी २० बस्ती असुरक्षित रहेका छन् । एकपछि अर्को प्राकृतिक विपत्ति भोग्दै आएको सिन्धुपाल्चोकलाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ, तर सोही अनुसार काम हुन सकेको छैन । नागरिक जोखिमयुक्त बस्तीमा ज्यानको बाजी राखेर बस्न बाध्य रहेका छन् ।

बाह्रविसे नगरपालिका , मेलम्ची नगरपालिका, भोटेकोशी गा।पा।, जुगल गाउँपालिका पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाँउपालिका पहिरो र बाढीका हिसाबले अत्यधिक जोखिममा छन् । स्थानीय चिरा र धजा फाटेको जमिनमा जीवन बचाउन याचना गर्दै बसेका छन् ।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुएका प्रमुख जिल्ला अधिकारी बेध निधि खनाल भन्नुहुन्छ, ‘विपद व्यवस्थापन प्राधिकरणबाट विपद व्यवस्थापनको क्षेत्रमा काम गर्नलाई आएको ३४ करोड रकम काम गर्न नसकेर यहि आर्थिक वर्षमा अर्थ मन्त्रालयमा फिर्ता भएको छ, जनशक्ति नहुँदा सोचेजस्तो काम गर्न सकेको छैन् । ’

२०७१ सालको जुरे पहिरोदेखि सिन्धुपाल्चोकमा सुरु भएको प्राकृतिक विपत्ति हालसम्म पनि रोकिएको छैन । ६ वर्षदेखि भएको लगातारको प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकमा मात्रै ३७ सय ९० को मृत्यु भइसकेको छ । अझै पनि ३७ जनाको अवस्था अज्ञात नैे छ । प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकमा मात्रै अर्बौको क्षती भइसकेको छ । यसपटकको मनसुनबाट हुन सक्ने क्षति कम गर्न सिन्धुपाल्चोकमा तयारी भएको देखिँदैन ।

चुनाव जितेका जनप्रतिनिधि अहिलेसम्म बधाई थाप्न मै व्यस्त छन् । अघिल्लो वर्ष पहिरोबाट जोगिएकाहरू मनसुन सुरू भएसँगै यसपटक फेरि त्रासमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?