श्रम, सामग्री र व्यवस्थापन उत्पादन प्रक्रियाका अवयवहरू

Read Time = 12 mins

✍️ स्वयम्भुनाथ कार्की
सामग्री, श्रम र तरिका (व्यवस्थापन) तीन अवयवहरूको सही संयोजन अनि सही कार्यसम्पादनले मात्र कुनै पनि वस्तुको उत्पादन हुन्छ । धेरैजसो अवस्थामा सामग्री भौतिक वस्तु हो भने श्रम र तरिका मानव प्रयत्न हो । यी तीनै अवयवको आवश्यकता अनुरूप प्रयोग नभई उत्पादन सम्भव नै छैन । एक आपसमा अन्योन्याश्रित यी अवयवमध्ये कुनैको कम वा कुनैको ज्यादा महत्व छैन । सबैको समान महत्व छ । कुनै एक अवयव भएन भने बाँकी दुई अवयवले मात्र उत्पादन असम्भव छ ।

एउटै अवयवबाट त उत्पादनको कल्पनासम्म पनि व्यर्थ छ । उदाहरणको निमित्त भात पकाउने कुरालाई लिन सकिन्छ । यो कामलाई सामान्यतया साधारण कुरा मान्ने गरिन्छ । चामल, पानी, ताप, भाँडो इत्यादि सामग्रीको संयोजन र प्रयोगबाट भात पकाइन्छ । यस साधारण भनिएको उत्पादन प्रक्रियामा पनि उपरोक्त तिनै अवयवको संयोजन अनिवार्य छ । सरल तरिका, सरल श्रम भएका कारणले कतिपय अवस्थामा सामग्री भएमा भात पकाउन अरू केही नचाहिएको भ्रम पर्न सक्दछ ।

यस उदाहरणमा चामल र पानी यसको कच्चा पदार्थ हो, इन्धन सहायक कच्चा पदार्थ अनि भाँडो, पुन्यु आदि चाहिँ औजार हुन् । नदी किनारामा रहेको चामलको भाँडो नजिक आगो बलेको अवस्थामा कच्चा पदार्थ र सहायक कच्चा पदार्थको उपलब्धताको शर्त पूरा हुन्छ । यदि सामग्रीले मात्र हुने भए भातको उत्पादन हुनुपर्ने थियो तर यसरी भात नपाक्ने कुरा भनिरहनु पर्दैन । अब यसमा श्रम पनि थपौं एकजना व्यक्तिको कल्पना गरौं जसलाई भात पकाउने तरिकाको ज्ञान छैन । ऊ प्रसस्त श्रम खर्च गरिरहेको छ । आगोमा दाउरा हाल्दैछ । चामलको भाँडो उठाउँदै जमिनमा राख्दै गर्दैछ अनि पुन्युले नदीको पानी हल्लाउँदै छ । के उसको यो अथक श्रमले भात तयार हुन्छ त ?

सरल र स्पष्ट उत्तर छ, अहँ हुँदैन । श्रम र साधनको सही संयोजन गर्ने तरिकाको (व्यवस्थापन) अभावले भात तयार हुँदैन । अब यसमा व्यवस्थापन थपौं । त्यस व्यक्तिलाई निर्देशन गर्ने कुनै चिजको कल्पना गरौं । कुनै भात पकाउने प्रक्रियाको जानकारी दिन तालिम गरेको सुगाले गर्नुपर्ने कामको क्रमगत सूची फलाक्दैछ । अनि त्यो व्यक्तिले सुगाको निर्देशन अनुसार काम गर्दैछ । यस अवस्थामा उसले अघि गरेको श्रमभन्दा धेरै कम श्रममा मिठो भात तयार गर्दछ । यो उदाहरणमा अन्तमा आएको सुगा महत्वपूर्ण जस्तो देखियो । यो पनि सही होइन ।

अर्को अवस्था, सबै सामग्री थियो, सुगा पनि फलाक्दै थियो तर सुगाको निर्देशन पालन गर्ने व्यक्ति थिएन । यस अवस्थामा पनि भात तयार हुँदैन । फेरि अर्को अवस्था, सुगा थियो । व्यक्ति थियो तर सामग्री थिएन । यस अवस्थामा पनि भात तयार हुँदैन । सामग्री, श्रम र व्यवस्थापनमध्ये कुनै एकको अनुपस्थितिमा उत्पादन सम्भव हुने कुनै उदाहरण अपवादको रूपमा पनि पाउन सकिँदैन । यी सबैको संयोजन नभई उत्पादन नहुने हुनाले कुनै एकलाई अति महत्व दिएर अरूलाई निषेधले उत्पादन नै निषेध हुन्छ ।

राम्रो गुणस्तरीय उत्पादनको निमित्त राम्रो गुणस्तरीय सामग्रीको जत्तिको महत्व छ, त्यसभन्दा कम महत्व कुशल सन्तुष्ट कामदार र निपुण व्यवस्थापनको छैन । आफूलाई अरुचि भएको काममा कामदारले भने जस्तो परिणाम दिन सक्दैन । आफूलाई रुचि भएको काममा समान प्रयत्नले पनि राम्रो परिणम दिन सक्छ । व्यवस्थापनले पनि भनेबमोजिमको कामदार पाएमा राम्रो परिणाम दिन सक्छ ।

कामदारको समस्यामा धेरै साधनस्रोत उपयोग गर्नुपर्ने उद्यमले प्रगति गर्न सक्दैन । कामदार र उद्यमीबीच पैदा हुने समस्याको कारण खोज्दै जाने हो भने उनीहरूबीच पैदा हुने असन्तोष नै प्रमुख हुने गर्दछ । कामदारले उत्पादन प्रक्रियामा उद्यमीको आवश्यकता देख्दैन ।
उद्योगको स्थापना गरिसकेपछि उद्योगीको काम सकिएको मान्यता उसलाई पढाउने गरिन्छ । यसको परिणामस्वरूप कामदारले उद्यमीलाई हमेशा आफ्नो श्रमको शोषक देख्दछ । व्यवस्थापनको उत्पादन, वितरण अदिको निमित्त प्रयोग गर्नुपर्ने समय कौशल अनि साधन कामदारसँग भएको खटपट व्यवस्थापन गर्न खर्च हुन्छ । यसै गरेर कामदारको पनि उत्पादनमा लगाउनुपर्ने श्रम व्यवस्थापनसँग संघर्ष गर्न खर्च हुन्छ । यसरी प्रतिकूल अवस्थामा आपसमा संघर्ष गरेर एकले अर्कालाई पराजित गर्ने मानसिकतामा उत्पादनमा प्रतिकूल असर पर्दछ ।

उत्पादनमा परेको प्रतिकूल असरले त्यो उद्योगलाई त असर पर्छ नै साथसाथै त्यस उद्योगबाट प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी प्राप्त गरेकालाई पनि नकारात्मक असर पर्दछ । यो असरले मुलकमा उत्पादनमात्र होइन रोजगारीको पनि अभाव हुन जान्छ । यस्ता खटपटले उद्योग बन्द हुनेसम्मको अवस्था आउनसक्छ । उद्योग बन्द हुँदा उद्योगीको सम्पत्तिमा मात्र असर पर्ने होइन कामदारको भविष्यमा पनि नकारात्मक असर पर्दछ । त्यस उद्योगको कारणले व्यवसाय पाएका अनेकौं ससाना रोजगारी, स्वरोजगारीका उद्यमहरू समाप्त हुन्छन् । अर्को कसैले यस्तो अवस्थामा लगानी गर्ने हिम्मत हतपती गर्दैन ।

उत्पादनमा पर्ने हरेक प्रतिकूल असरले उद्यमीको आयमा त असर पार्छ नै । यसका साथै कामदारको र उसको परिवारको आर्थिक अवस्थामा पनि प्रतिकूल असर पार्दछ । कामदार र उसका परिवारमा परेको आर्थिक चापले त्यो क्षेत्रका पसललगायत व्यापारमा पनि प्रतिकूल असर पर्दछ । यो असर समाज हुँदै सरकारसम्ममा पर्न जान्छ । मुख्य उद्योग बन्द हुनु वा सही नचल्नुले सरकारको राजस्व आयमा जति प्रतिकूल असर पर्दछ । यो मात्र होइन त्यसभन्दा कैयांै गुणा प्रतिकुल असर त्यस उद्योगको कारणले बढेको आर्थिक कृयाकलाप घट्न जाँनाले त्यसबाट प्राप्त हुने गरेको राजस्व सरकारले गुमाउँछ । सरकारले गुमाएको यो राजस्व परिपूर्ति गर्न उसले करको दर, करको दायरा बढाउँछ । यो बढेको दर र दायराले बढ्ने मूल्यवृद्धि भने सर्वसाधारणको गोजीमा भार हुन्छ । उद्योग र कामदारको विवादसँग कुनै सम्बन्ध नै नभएकाले पनि त्यो पीडा भोग्नुपर्दछ ।

यो कामदार र उद्योगबीचको विवादले पैदा गर्नसक्ने यस्ता परिस्थितिले मुलुकको गार्हस्थ्य उत्पादनमा ह्रास ल्याउँछ । कुरा हास्यास्पद लाग्न सक्छ तर कटु सत्य हो यसले सरकारलाई विदेशी अनुदान वा ऋण थप्न विवश गर्दछ । उत्पादनको तीनमध्ये दुई अवयव एकाइमा व्यक्ति हुन् । यी दुई अवयव उद्यमी र कामदार आपसमा रहँदा खटपट हुन्छ भने छुट्टिनु जै उपयुक्त हुन्छ दम्पत्तिको पारपाचुके जस्तै । उसै पनि आफ्नो इच्छा र रुचि भएको काम छान्न पाउने स्वतन्त्रता कामदारको प्राकृतिक हक हो, यसमा संशय गर्नुपर्ने कुनै कारण छैन । यसै गरेर उद्यमीको पनि आपूmअनुकूल कामदार छान्न पाउने स्वतन्त्रता पनि प्राकृतिक हक हो । पहिलो छनौट गलत भएमा उद्यमीले अर्को कामदार छनौट गर्नुपर्ने हुन्छ । त्यस्तै आपूmअनुकूल काम नभएमा कामदारले पनि अर्को काम वा उद्यमी छनौट गर्नुपर्ने हुन्छ ।

वैदेशिक रोजगारीका इच्छुकहरूको रोजाइ भएका मुलुकहरूमा उद्यमीको कामदार छान्न पाउने हक कायम छ । यो कुराले प्रमाणित गरेको तथ्य के हो भने काम गर्ने राम्रो वातावरण उद्यमीको काम गर्ने स्वतन्त्रतामा मात्र सम्भव छ । एक पटक काम गर्ने कामदारको उद्यमीले जीवनभरको व्यवस्था गर्नुपर्ने अवस्था नारामा सुन्दर लागे पनि कामदार आफैँको निमित्त पनि राम्रो हुँदैन । राम्रो दाम पाइने रोजगारदाता वैदेशिक मुलुकहरूमा एक पटक काम गरेपछि उद्यमीले कामदारको जीवनभरको जिम्मेबारी बहन गर्नु पर्दैन ।

कामदारको काम छान्ने र उद्यमीको कामदार छान्न पाउने स्वतन्त्रताले रोजगारीका प्रसस्त अवसर पैदा गर्छ । रोजगारीको उपलब्धता प्रचुर भएमा कामदारले पनि उद्यमीसँग मनोमालिन्य भए पनि उही काममा अनिच्छापूर्वक टाँसिएर बस्नुपर्ने अवस्था हुँदैन । आफ्नो हानि हुने गरेर कसैले पनि उद्यममा राम्रो नतिजा दिने कामदार हटाउँदैन । यसै गरेर सन्तुष्टि हुन्जेल कामदारले पनि काम छोड्दैन । दूध दिने गाईको लात सहन तयार हुने प्रवृत्ति मान्छेको हुन्छ । अपवाद स्वरूप आत्मघाती कदमको रूपमा कसै कसैबाट मन परेको वा मन नपरेको आधारमा यो सिद्धान्तको अबहेलना हुन पनि सक्छ तर त्यस्तालाई बजारले नै दण्डित गर्ने गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?