ग्लोबल र बिओके गाभिने

Read Time = 3 mins

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डु (बिओके) बीच गाभिन प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बिओकेका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।

मर्जरपछि बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बिओकेका दुईजना रहने सहमति भएको छ ।

बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ । ग्लोबल आइएमई बैंक बिओकेको सम्पत्ति तथा दायित्वको मूल्यांकनबाट सिफारिस भइआउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोहीअनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने समझदारी भएको छ । २१ बैंक तथा वित्तीय संस्था गाभिएर बन्ने ग्लोबल आइएमई बिओकेमा पाँच ‘क’ वर्गका वाणिज्य बैंक, १० विकास बैंक तथा छ फाइनान्स कम्पनी समाहित हुनेछन् ।

मर्जरपछि बैंकको कुल पुँजी ५२.२९ अर्ब, चुक्ता पुँजी ३४.४१ अर्ब, कुल निक्षेप तीन खर्ब ८४ अर्ब, कुल कर्जा तीन खर्ब ८० अर्बसहित कुल पंँुजी, चुक्ता पुँजी तथा व्यवसाय आकारका हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुने बताइएको छ ।

दुवै बैंकले जेठसम्म छ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन् भने दुई बैंकका तीन सय ८५ शाखा, तीन सय ६७ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ, ६१ विस्तारित शाखा कार्यालय, तीन विदेशस्थित सम्पर्क कार्यालय, ३७ लाखभन्दा बढी ग्राहक रहेको ग्लोबल आइएमई बैंकले जनाएको छ ।

हस्ताक्षर कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताउनुभयो । ग्लोबल आइएमई बैंक सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशन परिपालनामा सधैँ पहिलो हुने गरेको भन्दै सोहीअनुरूप मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरिएको उहाँले बताउनुभयो । बिओकेका अध्यक्ष श्रेष्ठले मर्ज हुनु प्राकृतिक प्रक्रिया भए पनि मर्जरपछि नयाँ बैंकले नेपालको बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?