फोहोर त मोहोर हो नि !

Read Time = 18 mins

✍️ शम्भु कोइराला
नमागिएको सल्लाह :
गएको केही महिना राजधानी शहर काठमाडौं नै डम्पिङ साइट जस्तो देखियो । यत्र तत्र सर्वत्र फोहोर नै फोहोर । यसरी फोहोर हुनुको कारण थियो-फोहोर बिसर्जन स्थलको अभाव अथवा डम्पिङ साइट नहुनु, भइरहेको स्थान डम्पिङ साइटमा विसर्जन गर्न स्थानीयको अवरोध हुनु । अवरोधको कारण थियो-त्यहाँका स्थानीय जनताका विभिन्न मागको सम्बोधन नहुनु । यो सम्बोधन गर्नुपर्ने निकाय भनेका नेपाल सरकार र उपत्यकाका विभिन्न पालिका हुन् । यसमा रातदिन नभनेर अग्रसरता लिने र सरोकारवाला निकायलाई झक्झक्याउने काम चाहिँ पालिकाहरूको हो । त्यसमा पनि काठमाडौं महानगरपालिकाको हो तर यसमा महानगरपालिका चुक्यो ।

केपी ओली नेतृत्वको यसभन्दा अगाडिको सरकार लगभग दुई तिहाइ समर्थनसहितको इतिहासमै बिरलै पाइने बलियो सरकार थियो । काठमाडौं महानगरपालिकामा एमाले पार्टीका पहिलो नामका अगाडि विद्या र सुन्दर जोडिएका शाक्य थरका मेयर थिए । त्यो पनि प्रधानमन्त्री ओली नजिकका । प्रधानमन्त्री पनि यति शक्तिशाली कि कार्यकर्ताहरू बोल्नै डराउने । उहाँलाई कसैले केही कुरा बयान नै नगर्नु पर्ने, सर्वज्ञ । यस्ता सर्वज्ञ शक्तिशाली प्रधानमन्त्री र शाक्य थरका मेयर हुँदा पनि राजधानीले स्थायी र भरपर्दो डम्पिङ साइटको सुविधा पाउन सकेन ।

ओलीपछि देउवा नेतृत्वको सरकारको कामको त के कुरा गर्नु, सरकार टिकाउनु नै उसको मुख्य काम हो । सरकारमा आँच आउन लाग्यो, पार्टीतिरको कुर्सीमा जोखिम बढ्यो । कर्ण मल्लहरूले डडेलधुरातिर चुनाव जित्न जोखिम हुनेगरी चलखेल गरे भने चलायमान हुन्छ अन्यथा उसको कछुवा गतिमा कुनै परिवर्तनको गुञ्जायस नै रहँदैन । फोहोर मैला व्यवस्थापन त प्राथमिकतामा पर्ने कुरै भएन ।

काठमाडौंको मेयरमा बालेनले जितेपछि जस लिने होडमा सरेकारवाला सबैले केही अभिनयसम्म गरेको हो । तर, त्यस समस्या समाधानको मनशायले होइन भन्ने कुरा त फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि निरन्तर छलफल बहस र काम नहुनुले नै स्पष्ट पारिसकेको छ ।
किसानले मल पाउने बेलामा मल नपाउँने त सधैंको रोग नै भइसकेको छ । सरकार समयमा मल दिनेभन्दा मल दिन नसकेका कारण सुनाउनमा व्यस्त छ । किसानलाई चाहिएको त बाहना होइन मल हो । तर, जैविक मलको गतिलो स्रोत शहरी फोहोर व्यवस्थापन गरेर मल उत्पादन गर्ने ढंग नपुग्दा किसानले हरेक वर्ष मल किन्न पाएका छैनन् भने त्यो फोहोरको कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको बेइज्जत भइरहेको छ । तर, सत्ता यो बेइज्जतीमै गर्व गरे जसरी आनन्दित भएर बसेको छ ।

मोहोर कसरी ?
स्रोतमै फोहोर छुट्याएर बिसर्जन गर्ने तरिका सबैजसो स्थानमा प्रचलित छ । यसरी छुट्याइएको फोहोरलाई मुख्यः कुहिने र नकुहिनेमा वर्गीकरण गरेर यस्लाई मोहोर कमाउने उपाय बनाउन सकिन्छ । हामीभन्दा विकसित देशहरूमा हाम्रोभन्दा बढी फोहोर उत्पादन हुन्छ तर बिरलै हाम्रोमा जस्तो छताछुल्ल फोहोर देखिन्छ । यसको कारण भनेको फोहोरलाई वर्गीकरण गरेर बचेको थोरैमात्र फोहोर डम्पिङ साइटमा विसर्जन गर्ने हो ।

कुहिने फोहोरको प्रांगारिक मल बनाउन सकिन्छ । यसरी तयार भएको मल बिक्री गर्न सकिन्छ भने इच्छुकलाई ठाउँठाउँमा लगेर निःशुल्क पनि दिन सकिन्छ । खेर गइरहेको मलले उत्पादनमा वृद्धि गर्छ भने मलका लागि विदेशिने अर्बौं रकम बराबरको विदेशी मुद्रा वचत हुन्छ । यसले भुक्तानी सन्तुलन अनुकूल बनाउन र व्यापारघाटा कम गर्नमा समेत उल्लेखनीय भूमिका खेल्न सक्दछ ।

प्लाष्टिक, धातुका टुक्रा, अण्डाका क्यारेट, खाली बोतल, पुराना सिसी, पुराना ब्याट्री, कार्टुनलगायत सामग्री बिक्री गर्न सकिन्छ भने कतिपय सामान रिसाइकल पनि गर्न सकिन्छ । बाँकी रहेका सामग्रीलाई डम्पिङ साइटमा वैज्ञानिक तरिका अपनाएर बिसर्जन गर्न सकिन्छ । चाँडै नष्ट नहुने, वातावरणलाई प्रदूषित गर्ने सबैभन्दा खतरनाक फोहोर प्लाष्टिक हो । यसलाई प्लाष्टिक पेल्न ल्याएबापत रकम उपलब्ध गराएर मेसिनमार्फत पेल्न प्रयोगकर्तालाइ प्रेरित गर्न सकिन्छ । यसो गर्न सके आय आर्जनसहित प्लाष्टिक व्यवस्थापन हुने र वातावरणीय प्रदूषण पनि कम हुने देखिन्छ ।

समस्या कहाँ छ ?
काठमाडौं उपत्यकामा उत्पादन हुने करिब १२ सय टन फोहोरमध्ये आधाजसो फोहोर जैविक हो । जैविक फोहोरबाट बिजुली निकाल्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले डाइजेष्ट प्लान्ट ल्याएको वर्षौं भइसकेको छ । युरोपेली युनियनको असी प्रतिशत अनुदानमा दुई करोड खर्च गरेर ल्याएको प्लान्ट अहिले महानगरलाई घाँडो भएको छ ।

टेकुस्थित फोहोर संकलन केन्द्रमा रहेको प्लान्टबाट खाना पकाउने ग्यास तथा १४ किलोबाट बिजुली उत्पादन गर्न सकिन्छ । दैनिक चार जना कर्मचारी विनाकाम प्लान्टको हेरचाहका नाममा बसिरहेका छन् । चलाउन नसकिने अवस्था थियो भने किन खरिद गरेको ? खरिद गरिसकेपछि घाँडोको रूपमा प्रयोगविहीन बनाएर किन राखेको ? प्रश्न गर्ने पर्याप्त ठाउँ छ । प्रश्नमात्र होइन नियत नै खराब देखिन्छ ।

खरिदका बखत कमिसन, वैदेशिक भ्रमणलगायतको लोभमा सहयोग स्वीकार गर्ने, खरिद पनि गर्ने अनि प्रविधि आइसकेपछि सानातिना समस्या समाधान गर्न नसकेर घाँडो बनाएर राख्ने गलत काम भइरहेको छ । यसो भनौं-नेपालमा काम गर्ने होइन, काम नगरेको बाहना पेश गर्ने प्रचलन नै भइसकेको छ । डाइजेष्ट प्लान्ट पनि यस्तै बाहनाको शिकार भइरहेको छ । नवनिर्वाचित मेयर बालेनले दुई तीन लाख खर्चिएर मर्मत गर्न सकिने बताएपछि आशाको सञ्चार भएको छ ।

अब के गर्ने ?
१) सोतमै फोहोर छुट्याउने विषयमा माथि चर्चा गरिसकिएको छ । यसलाई कठोरतापूर्वक कार्यान्वयन गरिनुपर्दछ । घरबाटै छुट्याएर ल्याइएन भने गरिने दण्डात्मक प्रावधानको बारेमा सबैलाई जानकारी गराइनुपर्दछ । फोहोर लाने सवारीसाधन नआउँदै सार्वजनिक स्थानमा बिसर्जन गर्नेलाई कारबाही गर्न सकिएन भने कानुनको अवज्ञा गर्न बानी परेका जनताले पनि सार्वजनिक स्थानमा फालिदिने सम्भावना छँदैछ ।

नेपालमा नेततृत्वमात्र गैरजिम्मेवार भएको होइन, जनता पनि अनुशासनमा बस्ने विषयलाई कडाइका साथ पालना गर्न अभ्यस्त भइसकेको अवस्था छैन । जस्ता नेता उस्तै जनता भएको अवस्था छ । यसमा सुधार जरुरी छ ।

२) प्लाष्टिक व्यवस्थापन हरेक दिन चुनौतीपूर्ण बन्दैछ । प्लाष्टिकको नष्ट नहुने स्वभावका कारण समस्त वायुमण्डललाई प्रदूषित गराउन यसले भूमिका खेलिरहेको हुन्छ । विदेशको अनुभव समेतलाई आधार मानेर यसको व्यवस्थापन गरिनुपर्दछ । पूर्ण प्रतिबन्ध लगाउन नसकेता पनि प्लाष्टिकका सामग्री जम्मा गरेर राखे तुरुन्त नगद पाउने परिस्थिति बनाएमा प्लाष्टिकबाट हुने प्रदूषणलाई कम गर्न सकिने अवस्थातर्फ नगरवासी अभ्यस्त बन्न सक्ने थिए ।

३) बन्चरे डाँडा साइटका बासिन्दाका माग इामानदारीतापूर्वक पूरा गर्ने काममा खेलाची गर्नु हुँदैन । राज्यले गरेको प्रतिबद्धता पूरा गरिनु पर्दछ । त्यहाँका बासिन्दाको जनस्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभावको बारेमा गम्भीर भई कामहरू गरिनुपर्दछ ।

त्यसैगरी, डम्पिङ साइट क्षेत्रका बासिन्दाले पनि पटक-पटक माग थप्दै जाने, अरूको बहकाउमा आएर व्यक्तिगत मागसमेत पेश गर्ने काम भएमा उनीहरूको सौदाबाजी गर्ने क्षमता कमजोर बन्नेछ । कमजोर नैतिक पक्ष भएको व्यक्ति वा समूहले त्यस क्षेत्रका लागि लाभ हुने काम गर्न सक्दैन । यसो भयो भने त्यस क्षेत्रका सर्वसाधारण जनता ठूलो मर्कामा पर्नेछन् । प्रलोभन, उक्साहट वा कुनै पनि कारणबाट फोहोर फाल्ने काममा अवरोध भएमा कानुनबमोजिम कारबाही गर्ने कुरामा राज्य र राज्यका निकायपछि पर्नु हुँदैन ।

४) फोहोरमा राजनीति गर्नेलाई नंग्याउन सकिएन भने यिनले हाम्रो समाजलाई सताउँने काम गरिरहन्छन् । प्रदेशतिरको एकजना मन्त्रीले आफ्नो क्षेत्र नुवाकोट, धादिङमा फोहोर फाल्न नदिने बताएर फोहोरमाथिको फोहोरी राजनीति गर्न सुरु गरिसके । कामनपाका केही वडाध्यक्षलाई उकासेर नयाँ मेयरलाई असफल बनाउने खेल पनि सुरु भइसकेको थियो । त्यसलाई मेयर बालेनले शालीनतापूर्वक निस्तेज बनाइसके । सामाजिक सञ्जालमा केही मानिस मेयर बालेनलाई असफल नबनाए आफ्नो गलत धन्दा नफष्टाउने बुझेर लागि परिसकेका छन् ।

राज्यका सबै निकाय भ्रष्टीकरण भइसकेको अवस्थामा स्वार्थी र भ्रष्ट गिरोह, काममा मात्र ध्यान केन्द्रित गरेका बालेनलाई असफल बनाउन धोतीपाटा फेरेर लागिसकेको छ । धुलो तान्ने सामान्य पाइपले काम नगरेर कवाडी बनाउन लागेका यान्त्रिक कुचो सञ्चालन गराउन लगाएर कामचोर तत्वलाई निस्तेज पार्न नयाँ मेयरले सुरु गरिसकेका छन् । हरेक दिन फोहोरमाथि राजनीति गर्ने र हरेक कुरामा कमिसन र घोटालामात्र गरेर हालिमुहाली गरिरहेको तत्वसँग संघर्ष गरेर परिणाममुखी काम गर्न बालेनका लागि सहज त छैन । तर, उनको इच्छाशक्ति, जाँगर र प्राविधिक ज्ञानको कारण असम्भव छैन ।

५) पालिकाको नयाँ नेतृत्वलाई नगरबासीले सहयोग गर्ने काम पनि महत्व राख्ने काम हो । सबै संयन्त्र भ्रष्ट, निष्प्रभावी र पत्रु भएको अवस्थामा कुनै पनि पदाधिकारीबाट चमत्कारको अपेक्षा नगरौं । धेरै निराश पनि नबनौं । काम गर्नका लागि सबैभन्दा महत्वपूर्ण कुरा इच्छाशक्ति हो । त्यो भयो भने अरू विषय सहायकमात्र हुन् । काठमाडौं महानगरका नवनियुक्त मेयरमा गरौं भन्ने इच्छाशक्ति भएको कारण केही काम पक्कै हुनेछन् । त्यसका लक्षण देखिसकिएका छन् । नयाँ पदाधिकारीलाई सफल बनाउन नागरिकको ठूलो भूमिका छ ।

नागरिकहरूले कुनै चटकीले चटक गरेजस्तो कल्पना नगरी रचनात्मक सहयोग गरेको अवस्थामा निःसन्देह परिणाम राम्रो आउनेछ ।
मानिसको भिडभाड नबढ्दै मेयर स्वयंले शहरको झलक लिनु राम्रो हुन्छ । सानो कुराले ढल जाम भइरहेको हुन्छ । सानो खाल्डोको कारण ट्राफिक जाम भइरहेको हुन्छ । काम अति सानो नगरवासीलाई सास्ती धेरै । दैनिक अवलोकन र अनुगमन गरेको खण्डमा नगरका सानासाना समस्या र अवस्थाबारे मेयर स्वयं जानकार हुन्छन् । यसको ओठे जवाफ पनि फर्काउन सकिन्छ जस्तै : मेयर आफैंले गरेर साध्य हुँदैन, प्रणाली र पद्धतिले गर्ने हो । प्रणाली र पद्धतिले गरेको भए मेयर बालेन नै चाहिने थिएन । ती सबै कामयाव नभएका कारण नै नयाँ तरिका चाहिएको हो ।

फोहोरको कुरा गर्दा पशुपति गौशाला ओरालो क्षेत्रमा ढल सामान्य सफाइ नगरेको कारण पानी बगेको समयमा सडकभरि गोबर बगेको हुन्छ । कालोपुल क्षेत्रमा सामान्य नाला सफाइ नभएका कारण ढलान बाटो भत्किरहेको हुन्छ । बाटाभरि फोहोर छताछुल्ल भएको हुन्छ । शहरभरि यस्ता समस्या छन् । देख्दा सानातिना लाग्ने तर जनतालाई धेरै असुविधा दिने यस्ता विषय छन्, जसको सम्बोधन केही सय र केही हजार रुपैयाँमात्र खर्च गरेर गर्न सकिन्छ । जसका कारण शहरको फोहोर मैला व्यवस्थापन सहज बन्न जान्छ ।

सारांशमा, आफ्नो फोहोर आफ्नै ठाउँमा व्यवस्थापन गर भन्ने प्रदेशतिरका मन्त्री जस्ता नेताहरू फोहोरमाथि राजनीति गर्ने नेपालको फोहोरी राजनीतिका बिम्ब हुन् । दुनियाँका सबैजसो स्थानमा शहरबाट टाढाको क्षेत्रमा फोहोर व्यवस्थापन गरिएको हुन्छ । कसैलाई असुविधा नहुने गरी ढंग पु¥याएर गरिएको हुन्छ । देशकै बेइज्जत हुँदा पनि दीर्घकालीन फोहोर व्यवस्थापनमा चासो नराख्ने ठूला भनिएका नेताहरूलाई देशले धान्नै नसक्ने बोझको रूपमा व्यहोर्न नेपाली जनता बाध्य छन् ।

पुस्तान्तरण नभएसम्म यसको समाधान हुने लक्षण देखिँदैन । पुस्तान्तरणको बिम्ब मेयर बालेन भएका छन् । फोहोरमा मोहोर फल्ने तरिका बुझेका छन् । इच्छाशक्ति छ जाँगर छ, ज्ञान छ, त्यसैले कामना गरौं यिनले शहरी फोहोरलाई मोहोर बनाउनेछन् । त्यसैले, सबैले कुरा बुझौं-फोहोर त मोहोर हो नि ¤ केवल सबैको इमानदार प्रयासको खाँचो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?