-डम्मर बुढा मगर
बागलुङ । बागलुङ बजारको ढल व्यवस्थापन नहुँदा कुरूप बनेको छ । हरेक वर्षातको समयमा नाली थुनिएर बजार जलमग्न हुने गर्छ । बजार क्षेत्रको ढललाई शुद्धीकरण गरेर नदीमा मिसाउने गरी तीन वर्ष अघिदेखि बजेट आउन थालेको छ । बजेट आउन थाले पनि ढल निकास परियोजना अहिलेसम्म अघि बढ्न सकेको छैन । आर्थिक वर्ष २०७७/०७८ मा ठेक्का प्रक्रियामा लैजानका लागि संघीय सरकारको खानेपानी तथा ढल निकास विभागले बजेट विनियोजन गरे पनि हालसम्म आयोजना अगाडि बढेको छैन ।
बागलुङ बजारमा उत्पादन भएको ढललाई संकलन गरी प्रशोधन गरेर नदीमा मिसाउने, प्रशोधन केन्द्रबाट कम्पोष्ट मल निकाल्ने गरी ल्याइएको कार्यान्वयनमा नजाँदा बर्सेनि बजेट फ्रिज हुँदै आएको छ । कहिले विस्तृत अध्ययन प्रतिवेदन निमल्दा त कहिले प्रशोधन केन्द्रको जग्गा अभावका कारण लगातार तीन आर्थिक वर्षका लागि बजेट विनियोजन हुँदासमेत कार्यान्वयनमा जान सकेको छैन ।
बजार क्षेत्रमा रहेको अव्यवस्थित ढलको व्यवस्थापन र कालीगण्डकी नदीमा बढ्दो प्रदूषणलाई रोक्नका लागि व्यवस्थित ढल निकासको काम गर्नका लागि बागलुङ नगरपालिका र ढल निकास विभागको चासोमा ढल निकासको योजना बनेको थियो । बागलुङ बजारमा व्यवस्थित ढल नभएकाले बजार दुर्गन्धित हुने र घरमा उत्पादन भएको पानीसँगै शौचालयसमेत ढलमा मिसाइँदा नदी प्रदूषित भएका कारण व्यवस्थित ढल निर्माणको योजना बागलुङ नगरपालिकाले ल्याएको थियो । ढल परियोजनामा प्रत्येक घरको शौचालयबाट उत्पादन भएको फोहोरलाई एकीकृत गरी शुद्धीकरण गरेर नदीमा मिसाइने योजना छ ।
बहुवर्षे योजनामा समावेश भएको ढल निकास परियोजनाको कुल लागत झण्डै एक अर्ब रहेको डिपिआरमा उल्लेख छ । वातावरणका लागि उक्त योजना निकै फलदायी हुने र नेपालकै नमुना आयोजनाका रूपमा यो रहनेछ । आर्थिक वर्ष २०७७/७८ मा उक्त परियोजना सुरु गर्नका लागि १२ करोड र आर्थिक वर्ष २०७८/०७९ मा २० करोड विनियोजन भएको थियो । उक्त परियोजना ठेक्कामा जान नसक्दा उक्त बजेट फ्रिज भएको छ । परियोजना निर्माणका लागि आगामी आर्थिक वर्ष २०७९/०८० मा समेत १९ करोड बजेट विनियोजन भएको संघीय सांसद डा. सूर्य पाठकले बताउनुभयो । बागलुङ नगरपालिकाले ल्याएका योजनामध्ये सबैभन्दा ठूलो योजना हो यो । अहिले नयाँ जनप्रतिनिधि आइसकेपछि भने बागलुङ नगरपालिकाले परियोजनाको चासो देखाइरहेको छ ।
बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले आगामी आर्थिक वर्षबाट बागलुङ बजार ढल निकास परियोजना ठेक्कामा गएर कार्यान्वयन हुने बताउनुहुन्छ । ‘तीन वर्ष पहिलेदेखि आएको योजना हो, तर अहिलेसम्म कार्यान्वयनमा गएको थिएन, अब भने डिपिआर लगभग अन्तिम चरणमा पुगेको भन्ने बुझेको छु’ उपप्रमुख खड्काले भन्नुभयो ‘बागलुङ बजारको ढल शुद्धीकरणसँगै पवित्र कालिगण्डकी नदीमा ढललाई शुद्धीकरण गरेर मात्रै मिसाउने कार्यले बजारलाई सुन्दर र वातावरणमा समेत सकारात्मक प्रभाव पार्नेछ ।’
ढल व्यवस्थापनका लागि बागलुङ बजारमा दुईवटा मेन लाइनमार्फत ढल शुद्धीकरणपश्चात् नदीमा मिसाउने गरी काम सुरु हुनेछ । बागलुङ बजारको तल्लो भेगमा उत्पादन हुने ढल निरयघाट र माथिल्लो भेगमा उत्पादन भएको ढल कारागार मुनिको समथर भूभागमा निर्मित ट्रिटमेन्ट प्लान्टबाट प्रशोधन गरी नदीमा मिसाइनेछ ।
डिपिआर अन्तिम चरणमा पुगेका कारण आर्थिक वर्ष २०७९/८० मा निर्माण प्रक्रिया सुरु हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, म्यादी कार्यालयका प्रमुख कुलप्रसाद पौडेलले जानकारी दिनुभयो । बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाको खानेपानी र ढल निकासको योजना हेर्नेगरी म्याग्दीमा स्थापना भएको कार्यालयले ढल निकास परियोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ‘नगरपालिकाले जग्गा उपलव्ध बनाउने प्रतिबद्धता गरेको छ, त्यहीअनुरूप जग्गा व्यवस्थापन भए एक वर्षभित्रै कार्यान्वयनमा जान्छ’ पौडेलले भन्नुभयो, ‘ठूला योजना कार्यान्वयनमा आउनुअघि नै बजेट सुनिश्चतता आवश्यक हुन्छ, त्यसैले बजेट विनियोजन हुँदै आएको थियो, दुई वर्षको बजेट फ्रिज नै भयो, तर आगमी आर्थिक वर्ष कार्यान्वयनमा आउला ।’
बागलुङको भौगोलिक अवस्थाका आधारमा आधुनिक प्रविधिको प्रयोग गरी आयोजना सम्पन्न गरिने आयोजनाले जनाएको छ । घरमा निर्माण भएको च्याम्बरबाट शाखा लाइन, मुख्य लाइन हुँदै ट्रिटमेन्ट प्लान्टमा लगेर ढलको शुद्धीकरणपश्चात् नदीमा मिसाइनेछ । ढल निकासको काम बागलुङ नगरपालिका वडा नम्बर एक, दुई, तीन र चार स्थित बजार क्षेत्रका सबै घरमा पाइपलाइन विस्तार गरी शुद्धीकरण प्रविधि प्रयोग गरी ढल नदीमा मिसाइनेछ ।
बागलुङ बजारको ढललाई शुद्धीकरण गरी नदीमा मिसाउँदा वातावरणसमेत शुद्ध हुने र ढल शुद्धीकरण गर्ने क्रममा कम्पोष्ट मल उत्पादनसमेत हुनेछ । ढल व्यवस्थापन भएपछि बागलुङ बजारमा समेत सौन्दर्य थपिनेमा स्थानीय आशावादी रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच