‘विद्युत्को आन्तरिक खपत २० प्रतिशतले वृद्धि’

Read Time = 5 mins

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्ने दाबी गर्नुभएको छ । संघीय संसद्मा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा आफू नेतृत्वको मन्त्रालयसँग सम्बन्धित विषयमा राष्ट्रियसभा सदस्यको प्रश्नको जवाफ दिँदै उहाँले स्पष्ट कार्ययोजना बनाएर पूर्ण विद्युतीकरणका योजना बनाई कार्यान्वयन गर्न लागिएको बताउनुभयो ।

आफूले मन्त्रालय सम्हालेपछि मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्नलाई निःशुल्क विद्युत् सेवा दिने र मिटर जडान गर्ने व्यवस्था मिलाएको भन्दै उहाँले देशभरका झण्डै ५२ लाख ग्राहकमध्ये करिब २६ लाख ग्राहकले उक्त सुविधा पाएको बताउनुभयो ।

मन्त्री भुसालले सिँचाइमा प्रयोग हुने विद्युत्मा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रतियुनिट दुई रुपैयाँसम्म महसुल कायम गरिएको र विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्न गृहस्थ वर्गको विद्युत् महसुल कम गरिएको बताउनुभयो । खानेपानी र सिँचाइमा डिमान्ड शुल्क हटाइएको पनि उहाँले जानकारी गराउनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘खानेपानीतर्फ इनर्जी शुल्क करिब ५० प्रतिशतले घटाइएको छ । अधिकांश वस्तु तथा सेवाको मूल्य वृद्धि भइरहेको अवस्थामा विद्युत् क्षेत्रमा विगत दुई वर्षमा दुईपटक गरी २० प्रतिशतले महसुल घटाइएको निवेदन गर्दछु ।’ विद्युत् खपत बढाउन ग्राहकले क्षमता वृद्धिको माग गरेमा तत्काल वृद्धि गर्ने व्यवस्था गरिएको, वर्षाको समयमा बढी हुने तीन सय ६४ मेगावाट विद्युत् छिमेकी देश भारतमा निर्यात भइरहेको उहाँले बताउनुभयो ।

सरकारले विद्युत् खपत कार्ययोजना बनाई कार्यान्वयन गरेकै कारण यस वर्ष आन्तरिक विद्युत्को खपत करिब २० प्रतिशतले बढेको मन्त्री भुसालको भनाइ छ । आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिब सात सयदेखि एक हजार मेगावाट विद्युत् प्रणालीमा थपिँदै जाने र आगामी दुई वर्षपछिका सुक्खायाममा समेत नेपालको विद्युत्ले नै आन्तरिक माग धान्ने तर वर्षायाममा भने उत्पादनको करिब ५० प्रतिशत विद्युत् बढी हुने बताउनुभयो ।

सरकारले एलपी ग्याँसलाई क्रमिकरूपमा विद्युतीय चुलोमार्फत् प्रतिस्थापन गर्न ‘विदेशी ग्याँस छोडौँ, स्वदेशी विद्युत जोडौँ’ भन्ने नारा लिई कार्ययोजना बनाई कार्यान्वयन गर्दै आएको उहाँले जानकारी गराउनुभयो । त्यस्तै विद्युत् आपूर्तिको सुनिश्चिततासहित चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन कार्य जारी रहेको र सोहीक्रममा चालु आवभित्रै नेपाल विद्युत् प्राधिकरणबाट ५० वटा चार्जिङ स्टेसन निर्माणका साथै निजी क्षेत्रबाट निर्माण भइरहेको चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर र आवश्यक विद्युतीय पूर्वाधार पु¥याउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रममार्फत् तराई र भित्री मधेशका २५ जिल्लामा तीन हजार स्यालो ट्युबवेल तथा एक सय ७५ डिप ट्युबवेलमा वितरण प्रणाली तयार गरिने, सतह सिँचाइबाट सिँचाइ सुविधा नपुगेका नदीकिनारका टारमा लिफ्ट प्रविधिबाट सिँचाइ सुविधा विस्तार गरी साना फाँटबाट समेत कृषि उत्पादन वृद्धि गर्ने नीति लिइएको मन्त्री भुसालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?