जुम्लामा अर्गानिक बाली संरक्षण र प्रवर्द्धनका लागि कृषि मेला

हिमालय टाइम्स
Read Time = 3 mins

- विजय रावत
जुम्ला । जुम्लामा अर्गानिक बाली संरक्षण र प्रवर्द्धनका लागि जिल्ला स्तरीय स्थानीय खाद्य तथा कृषि मेला प्रदर्शनी मेला शुक्रबार सम्पन्न भएको छ । अर्गानिक खेतीमा वृद्धि कर्णाली सम्बृद्धि भन्ने मुल नाराका साथ जिल्लामा एक दिने प्रदर्शनी कार्यक्रम भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गशेष अधिकारीले जानकारी दिनुभयो ।

स्थानीय बालीको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यालयले प्रदर्शनी आयोजना गरेको हो । रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवर्द्धन गर्न कृषि मेलाले यहीँका किसानलाई राम्रो सन्देश फैलिएको छ । मेला मार्फत स्थानिय बालीको प्रयोग गर्ने व्यवहार सुधार गरी बाह्य आयात निरुत्साहित गर्ने लक्ष्य रहेको जिल्ला कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

स्थानीय खाद्य मेलाले स्थानीय बालीको संरक्षणमा राहत मिलेको यहाँका किसानहरु बताउँछन् । पछिल्लो समय रैथाने बालीहरु लोप हुन लागेकोले यसको उत्पादन बृद्धि र किसानलाई महत्व बुझाउन मेलाको काम भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई जुम्ला निमित्त कार्यालय प्रमुख गंगा कुमारी पोखरेलले जानकारी दिनुभयो ।

कृषि व्यवसायको सम्मान र प्रोत्साहन गर्नु अहिलेको आवश्यकता रहेको जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यले बताउनुभयो । जिल्लाका किसानले अर्गानिक खेती उत्पादन बढाउन नगरपालिकाले किसानमैत्री कार्यक्रम ल्याएको चन्दननाथ नगरपालिका नगर प्रमुख राजुसिहं कठायतले बताउनुभयो ।

सो मेलामा तरकारीबाली, खाद्यान्नबाली, फलफुलबाली लगायतका आठ विधामा प्रथम, दोस्रो र तेस्रो हुने किसानलाई पुरस्कार प्रदान गरिएको थियोे । बालिको शुद्धता, बालिको रोग किरा, बालीको परिपक्वता र कलरका आधारमा मुल्यांकन गरिएको थियो । स्याउ, ओखर, मुला, काँक्रा, चिनो, कागुनो, भटमास, फर्सि, टमाटर, गाँजर, मास, मसुरो, जौँ, गेरास, भाँगो, तोरी, मार्सी, लगायतका अन्य अर्गानिक कृषी उत्पादनबारे मेलामा किसानले प्रदर्शनी गरेका थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?