मुहान क्षेत्रमा चुनढुंगा उत्खनन, पानी संकटको संकेत

हिमालय टाइम्स
Read Time = 6 mins

विवेक खड्का/हिटा
दाङ । दाङको तुलसीपुरमा दीर्घकालीन रूपमा खानेपानीको चरम संकट हुने संकेत देखिएको छ । खानेपानीको मुहान क्षेत्रमा चुनढुंगा उत्खननको प्रक्रिया अघि बढेपछि दीर्घकालीन रूपमा खानेपानीको क्षेत्रमा असर पर्ने देखिएको हो । तुलसीपुर-५ ठेगाना रहेको सुनगाभा माइनिङ प्रालिले तुलसीपुर क्षेत्रमा आउने खानेपानीको मुहान क्षेत्रमा चुनढुंगा उत्खनन प्रक्रिया अघि बढाएको छ । पटक-पटक रोकिँदै आएको उत्खनन प्रक्रिया यसपटक अन्तिम चरणमा पुगेको खानी विभागले जनाएको छ । तर उत्खनन प्रक्रियालाई रोक्नका लागि स्थानीय सरकारले चासो दिएको छैन ।

नवनिर्वाचित जनप्रतिनिधिले उत्खनन रोक्नका लागि प्रयास गर्ने बताए पनि प्रालिले भित्र-भित्रै प्रक्रिया अघि बढाइरहेको छ । तुलसीपुर–३ र ४ मा रहेको खानेपानीको स्रोतलाई संकटमा पार्ने गरी चुनढुंगा उत्खननको प्रक्रिया अघि बढेको हो । उत्खनन गर्ने भनिएको क्षेत्रमा तुलसीपुर खानेपानी उपभोक्ता सरसरसफाइ संस्थाका सातवटा मुहान रहेका छन् । राम्री, चिसापानी, धैरेनी, बाक्रे, छरछरे र पहरेलगायत ठाउँको पानीका मुहानलाई प्रत्यक्ष प्रभाव पार्ने गरी चुनढुंगा उत्खनन प्रक्रिया अघि बढेको छ । कम्पनीले खानेपानीको मुहान क्षेत्रमा चुन ढुंगा उत्खननको प्रक्रिया अघि बढाएपछि सरोकारवालाले खानेपानीको दीर्घकालीन संकट चुलिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीले उक्त कार्य तत्काल रोक्नुपर्ने बताउनुभयो । ‘दिनदिनै खानेपानीको माग बढ्दै गएको अवस्थामा भएका स्रोतलाई संकटमा पार्ने गरी चुनढुंगा उत्खनन हुनुहुँदैन’ उहाँले भन्नुभयो, ‘तुलसीपुर क्षेत्रमा खानेपानी आइरहेको मुहानमाथिबाट चुनढुंगा उत्खनन हुनबाट रोक्न सबैको सहयोग आवश्यक छ ।’

खानेपानी संस्थाले अहिले विभिन्न सरोकारवाला निकायसँग खानेपानी क्षेत्रमा चुनढुंगा उत्खनन प्रक्रियालाई अघि बढ्नबाट रोक्नका लागि धाइरहेको जनाएको छ । ‘तुलसीपुर-३ मा रहेको चुनढुंगा उत्खनन भयो भने तुलसीपुरको भविष्य नै संकटमा पर्ने निश्चित छ’ अध्यक्ष भण्डारीले भन्नुभयो, ‘चुनढुंगा उत्खननको असर अन्य ठाउँमा देखेकै छौँ ।’ तुलसीपुर क्षेत्रमा पानीको अभाव चुलिँदै गएको अवस्थामा मुहानलाई संकटमा पार्ने गरी चुनढुंगा उत्खनन हुन नसक्ने उहाँको भनाइ छ । खानेपानी संस्थामा आफूहरू निर्वाचित भएर आएपछि चासोका साथ हेरेको र प्रक्रिया अघि बढ्न नदिनका लागि विभिन्न ठाउँमा पहल गरिरहेको अध्यक्ष भण्डारीले बताउनुभयो । ‘उत्खनन गर्ने कम्पनी मात्रै पत्ता लागेको छ, व्यक्ति पत्ता लागेको छैन’ उहाँले भन्नुभयो, ‘अब अहिले पनि उत्खननका लागि अघि बढिरहेको अवस्थामा यसलाई रोक्न स्थानीय र स्थानीय सरकार अझ बढी लाग्नुपर्ने छ ।’

उत्खनन प्रक्रिया रोक्न मागसहित खानेपानी संस्थाले खानी तथा भूगर्भ विभाग, स्थानीय सरकार तुलसीपुर उमहानगरपालिका, वडा कार्यालय ३ र ४ लाई गतवर्षको माघ १४ मै पत्राचार गरिसकेको जनाएको छ । गतवर्ष नै माघ १४ गते सर्वदलीय बैठकले खानेपानीको मुहान क्षेत्रमा चुनढुंगा उत्खनन रोक्नुपर्ने निर्णय गरेको छ । सर्वदलीय बैठकको निर्णयसहित वन तथा वातावरण मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, खानी तथा भूगर्भ विभाग, खानेपानी तथा ढल निकास विभागमा डेलिगेसन पुगेको कोषाध्यक्ष भोलाप्रसाद थापाले जानकारी दिनुभयो । यस्तै, जिल्ला प्रशासन कार्यालय दाङ, डिभिजन वन कार्यालय दाङ, सब-डिभिजन वन कार्यालय तुलसीपुर पनि उत्खननको प्रक्रिया रोक्न मागसहित गत असार १० गते पत्राचार गरिसकेको कोषाध्यक्ष थापाले बताउनुभयो ।

उहाँले चुनढुंगाले पानीको सञ्चित गर्ने भएकाले पानीको स्रोतलाई बचाउन उत्खनन रोक्नुको विकल्प नभएको बताउनुभयो । यस्तै, वडा नम्बर ४ को भगवती सामुदायिक वन उपभोक्ता समूह, वडा नम्बर ३ र ४ को कार्यालयलाई उत्खननको प्रक्रिया अघि नबढाउन मागसहित पत्राचार गरिसकेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?