कोहलपुरमा अत्याधुनिक बसपार्क सञ्चालन

हिमालय टाइम्स
Read Time = 3 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेको कोहलपुरमा रहेको लामो दूरीको बसपार्क सञ्चालनमा आउने भएको छ । उद्घाटनको झण्डै ४० दिनपछि बसपार्क सञ्चालनमा आएको हो । उक्त बसपार्क गत असार २४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले उद्घाटन गर्नुभएको थियो । उद्घाटनलगत्तै सञ्चालनमा आउने बताइए पनि झण्डै डेढ महिनापछि मात्र बसपार्क सञ्चालनको तयारी गरिएको हो । बसपार्कको समग्र व्यवस्थापन जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रालिले पाएको छ ।

शुक्रबार लामो दूरीको नयाँ बसपार्कबाट बस सञ्चालन गर्दै सेवा सुरु गरिएको वागेश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले बताउनुभयो । कम्पनीले बसपार्क व्यवस्थापनका लागि वार्षिक ७१ लाख ७७ हजार सात सय ७७ रुपैयाँ नगरपालिकालाई तिर्नेछ भने बसपार्क व्यवस्थापनका लागि प्रवेश, टिकट काउण्टर, सौचालय मर्मत सम्भार, ब्लक र पार्किङको सम्पूर्ण व्यवस्थापन कम्पनीले नै गर्नेछ । बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैंले लगानी गरेको छ ।

नगर विकास कोषलाई वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्ने गरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको थियो । बसपार्कमा बस पार्किङ, टिकट काउण्टर, सपिङ कम्प्लेक्स, तीनवटा प्लेटफर्म र बसपार्कभित्रै व्यावसायिक सटरसँगै स्तनपान कक्ष, धुम्रपान कक्ष, सुरक्षा कक्ष तथा विद्युतीय चार्जिङ स्टेसनको व्यवस्था छ । ३० करोड ६२ लाख सात हजार सात सय एक रुपैयाँमा लामो दूरीको बसपार्क निर्माण भएको हो । जसमध्ये नगर विकास कोषबाट ऋण १८ करोड ३७ लाख २४ हजार छ सय २१ रुपैयाँ र नगरपालिकाबाट १२ करोड २४ लाख ८३ हजार ८० रुपैयाँ रहेको छ । बसपार्कभित्र व्यापारिक प्रयोजनका लागि ५९ सटर निर्माण गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?