नेपालको लगातार दोस्रो जित

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ । दोस्रो अभ्यास खेलमा नेपालले ओन्टोरियो क्रिकेट क्लबलाई ५५ रनले पराजित गरेको हो । यसअघि ओन्टोरियोसँग नै भएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले ६९ रनको जित हात पारेको थियो ।

जितका लागि २१० रनको विशाल विजयी लक्ष्य पछ्याएको ओन्टोरियोले १९ दशमलब तीन ओभरमा सबै विकेट गुमाएर १५४ रन बनाएको थियो । ओन्टोरियोका लागि वरुण सहदेवले ३३ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ५० रन जोड्नुभयो । यस्तै जेड पदमोर २५ बलमा दुई चौका र दुई छक्कासहित ३७ रनमा आउट हुनुभएको थियो ।

दोस्रो विकेटका लागि सहदेव र पदमोरले ६९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाउनुभएको थियो । एक समय आठ दशमलब एक ओभरमा ७२-२ को अवस्थामा रहेको ओन्टोलियोको त्यसपछिका पाँच खेलाडीलाई नेपालले रनआउट पारेको थियो ।

नेपालका सोमपाल कामीले तीन दशमलब तीन ओभरमा २७ रन खर्चेर दुई विकेट लिनुभयो । यस्तै करण केसी, आदिल अन्सारी र किशोर महतोले एक-एक विकेट हात पार्नुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०९ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले ३१ बलमा पाँच चौका र पाँच छक्कासहित सर्वाधिक ७१ रन बनाउनुभयो । उपकप्तानसमेत रहनुभएका रोहित अविजित रहनुभएको थियो ।

यस्तै मध्यक्रमका भरपर्दा ब्याटर दीपेन्द्रसिंह ऐरीले २७ बलमा छ चौका र दुई छक्कासहित ५४ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । नेपालको सुरुवात भने राम्रो थिएन । पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र पवन सर्राफले दुई दशमलब पाँच ओभरमा १६ रनमात्रै जोड्न सक्नुभएको थियो । कुशल दुई रनमै आउट हुनुभयो ।

देव खनालले १३ बलमा दुई चौका र एक छक्कासहित २० रन जोड्नुभयो । यस्तै अर्का ओपनर पवन सर्राफले ३४ बलमा पाँच चौकासहित ३७ रन थप्नुभयो । तेस्रो विकेटका लागि दीपेन्द्र र पवनले ४० रनको साझेदारी गर्नुभएको थियो । चौथो विकेटका लागि दीपेन्द्र र रोहितले ५४ रनको साझेदारी गर्नुभएको थियो । आदिल अन्सारी १० बलमा १० रन जोड्दै नटआउट रहनुभयो ।

ओन्टोरियोका रेमान्ड, वरुण, किनान र हसनले एक-एक विकेट लिनुभयो । एकदिवसीय अभ्यास खेलमा भने नेपालले ओन्टोरियो क्रिकेट क्लबलाई ६९ रनले हराएको थियो ।

नेपालले अब क्यानडासँग अर्को एक एकदिवसीय खेलपछि टोली स्कटल्यान्ड जानेछ । जहाँ नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।

स्कटल्यान्डमा नेपालले असार २७ गते पहिलो र असार २९ गते दोस्रो खेल नामिबियासँग खेल्नेछ । असार ३२ गते पुनः नेपालले नामिबिया र साउन १ गते स्कटल्यान्डसँग दोस्रो खेल खेल्दै शृंखलाको अन्त्य गर्नेछ । नेपाल १६ खेलमा सातमा जित, आठमा हार र एक खेल टाइका साथ १५ अंक जोड्दै पाँचौँ स्थानमा छ ।

नेपाली टोलीमा बायाँ हाते युवा स्पिनर बसिर अहमदलाई पहिलोपटक औपचारिकरूपमा समेटिएको छ । वैशाखमा जिम्बाबे ‘ए’ सँग भएको टी-२० र एकदिवसीय अभ्यास खेल बसिरले नेपालबाट खेलिसक्नुभएको छ । तर, जिम्बाबे ‘ए’ सँगको खेलमात्रै भएको हुनाले उहाँ पहिलोपटक औपचारिकरूपमा नेपाली टोलीमा पर्नुभएको हो ।

घोषणा टोलीमा युवा अलराउन्डर पवन सर्राफले पुनरागमन गर्नुभएको छ । यसअघि टोलीमा रहनुभएका स्पिनर सागर ढकाल, सुशान भारी र ओपनर सुनिल धमला भने टोलीबाट बाहिरिनुभएको छ ।

नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी (विकेटकिपर) रहनुभएको छ ।

नेपाललाई आगामी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सिधै खेल्न र ओडिआई मान्यतालाई कायम राख्न बाँकी खेलको नतिजा आफ्नो पक्षमा पार्नु जरुरी छ । नेपाल १६ खेलमा सातमा जित, आठमा हार र एक खेल टाइका साथ १५ अंक जोड्दै पाँचौँ स्थानमा छ ।

नेपाललाई सिधै विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । त्यसबाहेक प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट छ टोलीको खेलमा पुनः शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंकतालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?