बाढीले चचरीको पुल भत्काइदिएपछि आवतजावतमा समस्या

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

सप्तरी । तीन वर्षअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित कुनौलीलाई जोड्ने एकमात्र अस्थायी पुल (चचरी) बाढीले भत्काएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ । सो पुल अझै बन्न नसक्दा सीमावर्ती भारतीय बजार कुनौलीमा किनमेल गर्न  जान स्थानीयवासीलाई समस्या भएको हो ।

अहिले सर्वसाधारण खोला तरेर जोखिमपूर्ण आवतजावत गर्न बाध्य भएका छन् । स्थानीय र सीमावर्ती भारतीय बजारका बासिन्दाहरू मिलेर सहज आवतजावत गर्नका लागि उक्त खोलामा बाँस तेस्र्याएर अस्थायी पुल निर्माण गरिएको थियो ।

सो पुल  तीन वर्षअगाडि आएको भिषण बाढीले बगाएर लगेपछि अहिले मानिसलाई बाढी आएका बेला कुनौली बजार जान पनि समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीस्थित राजविराज भन्सार कार्यालयअगाडि रहेको खाडोखोलामा बाँसको फड्के बनाएर पुनः आवागमनको व्यवस्था मिलाउने प्रयास गरिए पनि केही दिनअगाडि लगातर परेको वर्षाले गर्दा पुल बनाउन नसकिएको स्थानीय सुरेश यादवले बताउनुभयो ।

तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्ष शतिशकुमार सिंहले आफ्नो कार्यकालमा नै उक्त स्थानमा नेपाल–भारत मैत्री पुल बनाउने अथक प्रयास गरे पनि भारतीय सुरक्षाकर्मीले माथिको आदेश चाहियो भन्दै अवरोध पुर्याएपछि काम अघि बढ्न नसकेको गुनासो गर्नुभयो । दसगजा क्षेत्रमा रहेको उक्त खोलाबाट वर्षायाममा महुली, जिता, खाँडो, त्रियुगा, भलुवाहीलगायतका नदी र खोलाको पानी बग्ने गरेको र पुल नहुँदा दुवै देशका नागरिकले सास्ती खेप्नु परिरहेको स्थानीय रामचन्द्र झाले बताउनुभयो ।

सुक्खायाममा जसोतसो आवागमन हुने गरेको भए पनि वर्षायाममा जोखिम मोलेर स्थानीयहरू आवतजावत गर्न बाध्य छन् । नेपालको दक्षिणी सीमामा पर्ने कुनौली बजारमा त्यस भेगका जनताले किनमेल, शिक्षा, उपचार, तीर्थयात्रालगायतका विभिन्न कामका सिलसिलामा आवतजावत गर्न यही बाटो प्रयोग गर्ने गरेका छन् । तर, पुल नहुँदा वर्षायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको राजविराज नगरपालिका–३ का विन्दु चौधरीले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘हामी राजविराजबाट किनमेल गर्न कुनौली बजार विगत २५ वर्षदेखि जाने गरेका छौँ तर अहिले उक्त बजार जानका लागि खोलामा पुल नहुँदा वर्षाको समयमा नदी तर्न झन् समस्या हुने गरेको छ ।’

विवाह, व्रतबन्ध, भोजभतेरका लागि कुनौली बजारबाट नै सरसामानहरू ल्याउन यहाँका मानिसहरू जाने भएकाले पक्की पुल नभएका कारण उक्त बजारमा पहिलाको तुलनामा अहिले मानिसहरूको भिडभाडमा कमी आएको व्यापारीहरू बताउँछन् । कुनौली बजारमा पसल सञ्चालन गरेका रमन दासले  विगत तीन वर्षदेखि व्यापारमा केही ह्रास आएको बताउनुभयो ।

यो बजारमा अधिकांश नेपालीहरू नै किनमेल गर्नका लागि आउने गरेका हुनाले अहिले खोलामा पुल नबनेका कारण यहाँका व्यापारीहरू निराश देखिएको उहाँको भनाइ छ ।  भारतीय बजारमा किनमेल गर्दा सामानहरूमा केही सस्तो पाउने भएकाले अधिकांश मानिसहरू त्यहीँ जान रुचाएका हुनाले नदी पार गर्न कुनै किसिमको सुविधा नभएका कारण पानीमै तरेर जानुपर्ने बाध्यता देखिएको छ ।

लामो समयदेखि कुनौली जोड्ने बजार जानका लागि पुल नभएको विषयमा केन्द्रस्तरबाटै कूटनीतिज्ञ पहल गरी समस्याको समाधान खोजिनुपर्ने तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाको भनाइ छ । यहाँ पक्की पुल बनेपछि सप्तरीसहित अन्य जिल्लाका मानिसहरूलाई कुनौली बजारमा सरसामान किनमेल गर्न सजिलो हुने देखिएको छ  ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?